आइएलटीको अक्सनमा आश्विन महँगो खेलाडी

बुधबार, ८ असोज, २०८२
डिजिटल संस्करण

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी रविचन्द्रन आश्विन आइएलटी टी–२० सिरिजको अक्सनमा महँगा खेलाडीका रूपमा सूचीकृत भएका छन् । गत वर्ष मात्र उनले विश्वकै महँगो तथा चर्चित फ्रेन्चाइज इन्डियन प्रिमियर लिग (आइपिएल)बाट सन्न्यास लिएका थिए । आइपिएलबाट सन्न्यास लिएपछि उनी पहिलोपटक अन्य टी–२० सिरिजमा आबद्ध हुन खोजेका हुन् । 

दुबईमा १ अक्टोबरमा हुने आइएलटीको अक्सनमा आश्विनले आफ्नो मूल्य एक लाख २० हजार अमेरिकी डलर राखेका छन् । अक्सनमा आश्विनलाई कुनै पनि सहभागी टोलीले अनुबन्ध गरे उनी आइपिएलबाहेक अन्य फ्रेन्चाइज लिग खेल्ने पहिलो भारतीय खेलाडी बन्नेछन् । आइएलटीले मंगलबार लिगका लागि आठ सय खेलाडीले अक्सनमा नाम दर्ता गराएको जनाएको छ । भारतबाट थप २४ खेलाडीले पनि नाम समावेश गरेका छन् । सबै खेलाडीको सूची प्राप्त भएपछि अक्सन हुनेछ । ६ टोली सहभागी हुने चौथो संस्करणको आइएलटी टी–२० लिग सन् २०२६ को २ डिसेम्बरदेखि ४ जनवरीसम्म चल्ने छ । आश्विनले आफू अनुबन्ध भए पूरै सिजन खेल्ने जनाएका छन् । ‘जीवनमा पहिलोपटक आइपिएलपछि अन्य लिगमा आबद्ध हुने प्रयास गरिरहेको छु,’ उनले भने, ‘यो लिगमा पूरै समय बिताउनेछु ।’ 
२१ खेलाडीसम्म किन्न पाउने

आयोजकले ६ फ्रेन्चाइज टोलीलाई आइएलटीमा थोरैमा १९ तथा धेरैमा २१ खेलाडीसम्म अनुबन्ध गर्न पाउने जनाएको छ । अक्सनबाट १९ जन खेलाडी टोलीले किन्न सक्नेछन् । त्यसपछि फ्रेन्चाइज टोलीले थप चारजना खेलाडी वाइल्ड कार्डबाट भित्र्याउन सक्छन् । आइएलटीमा युएईका चार, कुवेत र साउदी अरेबियाबाट समान एकजना खेलाडी अनिवार्य रूपमा भिœयाउनुपर्ने नियम बनाइएको छ । यसैगरी, एसोसिएट राष्ट्रका दुई खेलाडी पनि अनिवार्य रूपमा अनुबन्ध गर्नुपर्ने आयोजकले जनाएको छ । सहभागी टोलीले अक्सनमा धेरैमा आठ लाख अमेरिकन डलर खर्च गर्न छुट दिइएको छ । एक खेलाडीले अक्सनमा आफूलाई धेरैमा एक लाख ५० हजार अमेरिकी डलरसम्म मूल्य राख्न पाउनेछ । सोही नियमअनुसार आश्विनले आफ्नो मूल्य तोकेका हुन् । 

चार क्लबको चासो
आश्विनले आइपिएलपछि विश्वका अन्य चर्चित लिगमा आबद्ध भएर प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् । युएईको आइएलटीपछि उनले अस्ट्रेलियाको बिगबासमा आबद्ध हुन सक्ने जनाएका छन् । आइपिएलपछि बिगबास दोस्रो महँगो टी–२० फ्रेन्चाइज लिग हो । यसमा आबद्ध सिड्नी थन्डर, होवार्ट हुरिक्यान्स, सिड्नी सिक्सेज तथा एडिलेड स्ट्राइकले आश्विन अनुबन्ध गर्न प्रक्रिया सुरु गरेको भारतीय एजेन्सीले जनाएको छ । यी चारमध्ये सिड्नी थन्डर र सिड्नी सिक्सेजले उनलाई महँगो रकम खर्चन तयार छन् । अहिलेसम्म भारतको राष्ट्रिय टोलीमा आबद्ध भएका क्रिकेटरले बिगबास खेलेका छैनन् । तर, अन्य फ्रेन्चाइज लिगमा भने सीमित भारतीय क्रिकेटरले प्रतिस्पर्धा गरेका छन् । 

सन् २०२३ मा दक्षिण अफ्रिकाको एसए टी–२० लिगमा दिनेश कार्तिकले प्रतिस्पर्धा गरेका थिए । सन् २०२४ को जनवरीमा अम्वाती राइडुले क्यारेबियन लिग खेले । उनी सेन्ट किट्समा आबद्ध भएका थिए । कुनै समय आइपिएलकै स्टार खेलाडीमा रहेका रोविन उथप्पा तथा युसुफ पठानले दुबई क्यापिटल्सबाट आइएल टी–२० लिग खेलेका थिए । सन् २०२३ मा सुरेश रेनाले अबुधाबीबाट प्रतिस्पर्धा गरे । रेनाले टी–१० लिग खेलेका हुन् । 

सुझावित समाचार