फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर ओस्मान डेम्बेलेले पहिलोपटक बालोन डिअर उपाधि जितेका छन् । गत वर्ष पिएजीलाई ट्रेबेल उपाधि दिलाउने क्रममा डेम्बेलेले उत्कृष्ट प्रदर्शन गरेका थिए । २८ वर्षीय फ्रेन्च स्ट्राइकर डेम्बेलेले २०२४/२५ को सिजनमा पिएसजीबाट ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए । उनको प्रभावशाली प्रदर्शनमा पिएसजीले युरोपियन च्याम्पियन्स लिग, फ्रेन्च लिग वान र फ्रेन्च कपको उपाधि जितेको थियो । साथै, उनी २१ गोलका साथ लिग वानमा संयुक्त शीर्ष गोलकर्ता बनेका थिए । गत वर्ष डेम्बेले फ्रेन्च शीर्ष डिभिजन र च्याम्पियन्स लिग प्लेयर अफ दी इयर पनि घोषित भएका थिए ।
डेम्बेलेले बालोन डिअर उपाधि जित्दा बार्सिलोनाका १८ वर्षीय लामिन यामाल दोस्रो स्थानमा रहे । यद्यपि, यामालले कोपा ट्रफीका रूपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् । यसपटकको बालोन डिअर अवार्डमा शीर्ष १० मध्ये पाँच खेलाडी पिएसजीका थिए । पिएजीका भिटिन्हा (तेस्रो), अचराफ हाकिमी (छैटौँ), जियानलुइगी डोनारुम्मा (नवौँ) र नुनो मेन्डेस (दसाैँ) स्थानमा रहे । लिभरपुलका मोहम्मद सलाह चौथो र चेल्सीका इंग्ल्यान्डका कोल पाल्मर आठौँ स्थानमा रहेका छन् । गत सिजन पिएसजीलाई तीन प्रमुख उपाधि दिलाएका लुइस एनरिक वर्षको उत्कृष्ट प्रशिक्षक बनेका छन् ।
सन् २०१७ मा डेम्बेलेलाई स्पेनिस क्लब बार्सिलोनाले बोरुसिया डर्टमन्डबाट अनुबन्ध गरेको थियो । पिएसजीले उनलाई २०२३ मा ४३.५ मिलियनमा पाउन्ड अनुबन्ध गरेको थियो । उनले फ्रान्सको राष्ट्रिय टोलीबाट २०२४–२५ को जितमा सात खेलमा दुई अन्तर्राष्ट्रिय गोल गरेका थिए । बालोन डिअर अवार्ड जित्ने डेम्बेले समग्रमा छैटौँ फ्रेन्च खेलाडी हुन् । फ्रान्सका लागि अन्तिमपटक करिम बेन्जेमाले सन् २०२२ मा यो अवार्ड हात पारेका थिए ।
आर्सनलका स्ट्राइकर भिक्टर ग्योकेरेसले २०२४–२५ मा युरोपेली फुटबलमा क्लब र देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीलाई दिइने गेर्ड मुलर ट्रफी जितेका छन् । उनले गत वर्ष पोर्चुगिज क्लब स्पोर्टिङका लागि ५२ खेलमा ५४ गोल र स्विडेनका लागि ६ नेसन्स लिग खेलमा नौ गोल गरेका थिए । इटालियन गोलरक्षक डोनारुम्माले उत्कृष्ट गोलरक्षकको उपाधि हात पारे । २६ वर्षीय डोनारुस्माले पिएसजीका लागि ४७ खेलमा १७ क्लिनसिट राखे । यसै सिजन उनी म्यानचेस्टर सिटीमा २६ मिलियन पाउन्डमा आबद्ध भएका थिए ।
बोनमतीले गरिन ह्याट्रिक
बार्सिलोनाकी स्टार आइताना बोनमतीले लगातार तेस्रोपटक महिला बालोन डिअर जितेकी छिन् । यसपटक बोनमतीलाई इंग्ल्यान्डकी गोलरक्षक हान्ना ह्याम्पटनले चुनौति दिएकी थिइन् । बोनमतीले उपाधिमाथि ह्याट्रिक गर्न सहज नभएको बताइन् । ‘तेस्रोपटक यहाँ उभिँदा अझै विश्वास लागिरहेको छैन । म बार्सिलोनाप्रति सधैँ ऋणी छु,’ उनले भनिन् । गत सिजनमा बार्सिलोनाको महिला टोलीले ट्रेबल उपाधि जितेको थियो । युरोपियन च्याम्पियन्स लिगमा बार्सिलोना उपविजेता बनेको थियो । महिला फुटबलमा लगातार पाँचाँ वर्ष बार्सिलोनाकै खेलाडीले बालोन डिअर जितेका छन् ।
एनरिक बने वर्षको उत्कृष्ट प्रशिक्षक
पिएसजीलाई ट्रेबल उपाधि दिलाएका प्रशिक्षक एनरिक वर्षको उत्कृष्ट प्रशिक्षक बने । एनसिकले अवार्ड जित्न बार्सिलोनाका हान्सी फ्लिक, लिभरपुलका आर्ने स्लट, चेल्सीका एन्जो मारेस्का र नेपोलीका अन्टोनियो कन्टेलाई पछि पारे । एन्रिकले पहिलोपटक पिएसजीलाई च्याम्पियन्स लिग दिलाएका थिए । पिएसजीले फ्रेन्च लिग १, फ्रेन्च कप र फ्रेन्च सुपर कपसमेत हात पारेको थियो । यो उपलब्धि हासिल गर्ने पिएसजी पहिलो फ्रेन्च क्लब हो ।