शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएका छन्। समयमै परीक्षाफल प्रकाशित नगर्ने विश्वविद्यालयको अनुदान रोक्का गर्ने व्यवस्था मिलाउन पनि मन्त्रालयका सचिवसहितका अधिकारीहरूलाई उनले निर्देशन दिएका छन्।
‘केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि एक वर्षसम्म लगाउँदा रहेछन्। विद्यार्थीहरुको लागि त्यो अपुरणिय क्षति हो। त्यसैले विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने। समयमामै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गरिदिने। राष्ट्रिय परीक्षा बोर्डले १२ क्लासको ५ लाख विद्यार्थीको परीक्षाफल ३ महिना भित्रै निकाल्दा रहेछन्,’ आफूले मंगलबार मन्त्रालयमा तुरुन्त अगाडि बढाउन निर्देशन दिएको तीनवटा साना साना कदम भन्दै उनले उल्लेख गरेका छन्।
मन्त्री पुनले सामुदायिक माध्यमिक विद्यालयमा एक एकजना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्न पनि निर्देशन दिएका छन्। ‘नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी कम्प्युटर शिक्षाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नु पर्ने,’ उनले भनेका छन्।
मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाताभित्र सुन्दर बँगैचासहित फुटपाथ बनाएर बिश्वविद्यालयलाई आकर्षक बनाउन भनेका छन्। ‘ठुलो क्षेत्रफलमा रहेको झाडी फाँडेर (ठुला रुखहरु नकाट्ने) सफा गरी सुन्दर बँगैचासहित फुटपाथ बनाएर विश्वविद्यालयलाई आकर्षक बनाउने,’ उनले भनेका छन्।