राइड सेयरिङको विरोध गर्दै आएका पोखराका ट्याक्सी व्यवसायीले अहिले आफ्नै लगानीमा ट्याक्सी सेवालाई समयसापेक्ष एवं प्रविधिमैत्री बनाउने भन्दै ‘मुभइन’ एप सञ्चालनमा ल्याएका छन् । आइटी इन्जिनियर रविन तिवारीको नेतृत्वमा अन्य प्राविधिकसँगै ६० जनाको टोलीले एक वर्ष लगाएर स्वदेशी सिप र लगानीमा तयार गरेको एपको पोखरेली ट्याक्सी सेवा प्रालि, मुभइन प्रालि, स्किल इनोभेसनसँगै विभिन्न व्यवसायीको लगानीमा सोमबारदेखि सुरुवात गरिएको हो ।
मुभइन प्रालिका सिइओ प्रमेश पराजुलीका अनुसार नेपालीले आफ्नै सिप र लगानीमा बनाएको यो नेपालमै पहिलो एप रहेको बताए । एपमा सार्वजनिक सवारीहरू मात्र जोडिने बताउँदै हाल ट्याक्सी सेवा मात्र एपमार्फत सञ्चालन हुन पाउने बताए । राइड सेयरिङको जस्तो निजी कार र मोटरसाइकल भने हाललाई नजोडिएको उनले बताए । गण्डकी प्रदेश सरकारले राइड सेयरिङका लागि कस्तो नीति बनाउँछ, सोहीअनुसार थप अन्य सवारी जोड्दै जाने पराजुलीको भनाइ छ ।
पोखरेली ट्याक्सी सेवा प्रालिको समेत लगानी रहेको एपमा हाल समितिमा आबद्ध एक हजारभन्दा बढी ट्याक्सी आबद्ध भइसकेको उनले बताए । हाललाई प्रयोग निःशुल्क गरिएको एपलाई पोखरामा सफल भएपछि बिस्तारै देशभर लैजाने गरी तयारी गरिएको उनले बताए । हाललाई निःशुल्क गरिए पनि पछि केही शुल्क लिने र हाल प्रयोगमा रहेका अन्य एपको भन्दा कम मूल्यमा सेवा लिन सक्ने उनले बताए ।
पराजुलीका अनुसार हाल पोखरामा दुई हजार ट्याक्सी रहेको र तीमध्ये करिब एक हजार आठ सय सञ्चालनमा रहेको बताए । सिजनमा दैनिक तीनदेखि चार हजार र अफसिजनमा एक हजार पाँच सयसम्म एक ट्याक्सीले कमाइ गर्ने गरेको उनले बताए ।शुभारम्भ कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले निजीलाई हटाएर राइड सेयरिङको नियम कार्यान्वयन गर्नुपर्ने बताए । व्यवसायीहरू अव समयसापेक्ष एंव प्रविधिमैत्री हुनुपर्नेमा जोड दिँदै नेपालीले आफ्नै लगानीमा तयार गरेको यो एपलाई देशभर लैजान आवश्यक रहेको र यसका लागि महासंघले सहयोग गर्ने बताए ।
महासंघका ट्याक्सी हेर्ने उपाध्यक्ष प्रकाशमणि तिवारीले एप सञ्चालनमा आएसँगै आजैदेखि अब चोक–चोकमा ‘हाउ मच’ भन्दै भाडा बार्गेनिङ गर्ने चलनको अन्त्य हुने बताए ।