नौ वर्षदेखि आफूले पाउने भत्ताको रकम ज्येष्ठ नागरिकलाई वितरण गर्दै वडाध्यक्ष कुँवर

मंगलबार, ७ असोज, २०८२
डिजिटल संस्करण
नौ वर्षदेखि आफूले पाउने भत्ताको रकम ज्येष्ठ नागरिकलाई वितरण गर्दै वडाध्यक्ष कुँवर

ज्येष्ठ नागरिकलाई भत्ता रकम वितरण गर्दै वडाध्यक्ष आसेफ कुँवर

भीमदत्त नगरपालिकाका एक वडाध्यक्षले आफूले पाउने भत्ताको रकम ज्येष्ठ र बेसहारा नागरिकलाई वितरण गर्दै आएका छन् । भीमदत्त नगरपालिका– १ का वडाध्यक्ष आसेफ कुँवरले नौ वर्षदेखि निरन्तर भत्ताको रकम ज्येष्ठ नागरिकलाई वितरण गर्दै आएका हुन् । हरेक आर्थिक वर्षको पहिलो चौमासिक दसैँ–तिहारअघि वितरण गर्दै आएका वडाध्यक्ष कुँवरले सोमबार भत्ता वितरण गरेका छन् । पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका कुँवरले ०७४ देखि ०८२ सम्म निरन्तर भत्ता वितरण गरेका हुन् । 

‘मैले चुनावका वेला जनतासँग गरेको वाचाअनुरूप राज्यबाट पाउने भत्ता रकम हरेक वर्ष ७० वर्षमाथिका ज्येष्ठ नागरिक र अति अशक्तलाई दामासाही हिसाबले वितरण गर्दै आएको छु,’ उनले भने, ‘मैले हरेक महिना पाउने २२ हजार ४७० रुपैयाँ पूरै ज्येष्ठ, अशक्त र असहाय नागरिकलाई दसैँअघि वितरण गर्दै आएको छुु ।’ कुँवरले नौ वर्षमा झन्डै २५ लाखभन्दा बढी भत्ताबापत पाएको रकम वितरण गरिसकेका छन् । हरेक वर्ष एक सय ५० देखि एक सय ७० जना वडावासीले कुँवरबाट रकम पाउने गर्छन् ।

स्थानीय लक्ष्मीदेवी विश्वकर्माले राज्यले दिएको सेवा–सुविधा पनि जनप्रतिनिधिले जनतालाई वितरण गरेको कार्यबाट खुसी व्यक्त गरिन् । दलितको अधिकारका लागि लड्नेहरूले केही नगरे पनि वडाध्यक्षले दसैँ खर्च दिएको उनको भनाइ छ ।

सुझावित समाचार