एच–१बी भिसामा एक लाख डलर शुल्क लगाउने भन्दै ट्रम्प प्रशासनबाट अचानक भएको निर्णयले शुक्रबार दिनभर कामदार, कम्पनी र विदेशी सरकारमा आतंक सिर्जना गर्यो । विदेशमा रहेका भिसाधारक वासिङटनको पछिल्लो आप्रवासन कदम कार्यान्वयन आउनुअघि (आइतबार मध्यराति) नै अमेरिका फर्किने हतार देखिए । ढिलो गरी शनिबार मात्र ह्वाइट हाउसले पहिले नै एच–१बी भिसा धारकहरू नयाँ नियमबाट प्रभावित नहुने बताउदाँसम्म धेरैमा अन्योल थियो । अमेरिकाका सहयोगी देशहरूले चिन्ता व्यक्त गरे । बिदामा देश फर्किएका एच–१बी धारक आइतबार नयाँ नियमहरू लागू हुनुभन्दा अघि अमेरिका हतारमा फर्किनका लागि बिदा, व्यापारिक यात्रा र परिवारिक भेटघाट छोट्याएका थिए ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एच–१बी भिसामा कामदार ल्याउने कम्पनीले प्रतिकामदार एक लाख डलर शुल्क तिर्नुपर्ने आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकामा ठुला प्राविधिक कम्पनीले उच्च सीपयुक्त कामका लागि यस भिसाबाट ठुलो संख्यामा कामदार ल्याउने गरेका छन् । यद्यपि, ट्रम्पले हस्ताक्षर गरेको आदेशमा शुल्क नयाँ आवेदकमा लागू हुने हो कि सबैमा लागू हुने हो भन्ने बारेमा उल्लेख थिएन । यस अस्पष्टताले एच–१बी भिसाधारकमा ठुलो अन्योल र चिन्ता उत्पन्न गर्यो, जसको तरंग बेंगलुरुदेखि लन्डनसम्म देखियो ।
भारतको केन्द्र सरकार त यस कदमले ‘परिवार अलगथलग हुँदा मानवीय परिणाम,’ देखिने सम्भावना रहेको भन्दै ‘यसको पूर्ण प्रभाव’ अध्ययन गर्ने अवस्थामा पुगेको थियो । तनावपूर्ण २४ घण्टाको अवधिमा अमेरिकाबाहिर रहेका एच–१बी भिसाधारकमा अब अमेरिका प्रवेशमै रोकिने डर व्याप्त देखिन्थ्यो । प्रविधि कम्पनी र बैंकले आफ्ना कर्मचारीलाई तल्काल देश नछोड्न ज्ञापनपत्र पठाएको देखियो । विदेशमा रहेका भिसाधारकहरू हतारहतार परिवारसँग बिदा भएर झोला प्याक गर्न हतारिए । एकाएका जहाजको टिकट खरिद बढ्यो । उनीहरू यो निकायम लागू हुने समयसीमाअघि नै अमेरिका प्रवेश गर्ने हतारोमा देखिन्थो ।
एच–१बी भिसा पाउनेमा सबैभन्दा ठुलो हिस्सा भारतीयको छ । सरकारी तथ्यांकअनुसार गत वर्ष ‘एच–१बी’ भिसा पाउनेहरूमा ७१ प्रतिशत भारतीय थिए । दोस्रो धेरै पाउनेमा ११.७% चिनियाँ छन् ।
‘एनबिसी न्युज’ले प्रमाणित गरेको एक भिडियो फुटेजमा ट्रम्पको घोषणापछि सान फ्रान्सिस्कोबाट दुबई जाने उडानमा अन्योल र हल्लाखल्लाको स्थिति देखिन्छ । क्याप्टेनले जहाजभित्र अचानक ‘अभूतपूर्व’ परिस्थिति सिर्जना भएको र ‘धेरै यात्रुले यात्रा रोकेर बिमानबाट ओरालिदिन आग्रह गरेको’ भनेको सुनिन्छ । आफ्नो इन्स्टाग्राममा सो भिडियो पोस्ट गरेको एक यात्रुका अनुसार जहाजमा सवार धेरै मानिसले ओर्लिएका थिए र ‘तीन घण्टाभन्दा लामो ढिलो भएपछि मात्र विमान उडेको’ बताए ।
शनिबार मात्र प्रशासनका अधिकारीहरूले एक लाख डलर एकपटकको मात्र शुल्क भएको र यो नयाँ कामदारमा मात्र लागू हुने स्पष्टीकरण दिए । पहिले नै भिसा लिएकाहरू यसबाट प्रभावित नहुने भन्दै विदेशमा रहेकाहरू नडराउन भने । ‘पछिल्लो घोषणा यसअघि नै भिसा लिएकाहरू कसैमा लागू हुँदैन,’ ह्वाइट हाउसको द्रुत प्रतिक्रिया दिने एक्स एकाउन्टमा भनिएको थियो । तर, अमेरिकाका वाणिज्यमन्त्री हावर्ड लुटनिकले भने शुक्रबार एच–१बी भिसामा श्रमिक ल्याउने कम्पनीहरूले प्रतिवर्ष एक लाख डलर तिर्नुपर्ने बताएका थिए । तर, ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लेभिटले शनिबार एक्समा एक पोस्ट गर्दै यो वार्षिक शुल्क नभएर केवल एकपटकको शुल्क र प्रत्येक आवेदनमा लागू हुने बताइन् ।
तर, अन्योलले छाप छोडिसकेको थियो । उत्तरी क्यारोलिनाको एक निर्माण कम्पनीमा इन्जिनियरको रूपमा काम गर्ने रोहन सिंहले भारत भ्रमण गर्ने आफ्नो पूर्वनिर्धारित योजना रद्द गरे । ‘एच–१बी भिसा धारकहरूमाझ त्रास छ । अझै केही होला कि भन्ने त्रास छ,’ सिंहले रोयटर्स समाचार एजेन्सीलाई भने । विदेशमा रहेका कैयौँ एच–१बि भिसाधारीहरूले हतारहतार अमेरिका फर्कँदाका अनुभव चिनियाँ सामाजिक सञ्जाल एप ‘रेडनोट’मा साझा गरेका रोयर्टसले जनाएको छ ।
एच–१बी भिसा पाउनेमा सबैभन्दा ठुलो हिस्सा भारतीयको छ । सरकारी तथ्यांक अनुसार गत वर्ष ‘एच–१बी’ भिसा पाउनेहरूमा ७१ प्रतिशत हिस्सा भारतीयको मात्र थियो । दोस्रो धेरै पाउनेमा ११.७% चिनियाँ थिए । ४ सेप्टेम्बरमा जर्जियास्थित हुन्डे ब्याट्री प्लान्टमा अध्यागमन अधिकारीहरूको छापाबाट प्रभावित दक्षिण कोरियालीहरू एच–१बी भिसा धेरै पाउनेहरूमा पर्छन् ।
‘सरकारले लाखौं मानिसहरूको जीवनलाई असर गर्ने नयाँ नीति घोषणा गर्दा प्रशासनले यसबारेमा सटिक रूपमा जानकारी प्रभावित गर्नुपर्छ,’ अमेरिकन इम्मिग्रेसन काउन्सिलका वरिष्ठ फेलो आरोन रेचलिन–मेलनिकले एक्समा भने । ट्रम्पले ‘अमेरिकी कामदारहरूलाई पहिलो प्राथमिता दिने वाचा गरेका थिए । र, यो यही उदेश्यले कम्पनीहरूलाई प्रणालीलाई झुक्याएर ज्याला घटाउनबाट निरुत्साहित गर्न यो कदम चालिएको हो,’ ह्वाइट हाउसकी प्रवक्ता टेलर रोजर्सले सिएनबिसीलाई बताइन्,‘ तथापि नयाँ व्यवस्थाले अमेरिकी व्यवसायहरूलाई हाम्रो महान देशमा साच्चै अति–दक्ष कामदारहरू ल्याउन रोकेको छैन, खाली प्रणालीको दुरुपयोग मात्र रोकेको छ ।’
घोषणालाई अमेरिकी राजनीतिमा आप्रवासनलाई कठोर बनाउनुपर्ने पक्षधरको जितको रूपमा व्याख्या गरिएको छ । तर विदेशबाट योग्य कामदारहरू ल्याइरहेका प्राविधि कम्पनी भने यस निर्णयबाट असन्तुष्ट रहेको बताइन्छ । अमेजन, मेटा, गुगल, एप्पल र वालमार्ट ‘एच–१बी कार्यक्रम’अन्तर्गतको भिसाको सबैभन्दा ठुला प्रयोगकर्ता हुन् । सन् १९९० मा तत्कालीन राष्ट्रपति जर्ज एचडब्लु बुसले हस्ताक्षर गरेर कानुनी रूप दिएको यस भिसाका लागि यसअघि प्रतिआवेदन दुई हजार डलरदेखि पाँच हजार डलरसम्म लाग्ने गथ्र्यो ।
ट्रम्पले भने शुक्रबार घोषणामा हस्ताक्षर गरेपछि प्राविधिक कम्पनी यस परिवर्तनबाट खुसी हुने प्रतिक्रिया दिएका थिए । ‘मलाई लाग्छ कि उनीहरू धेरै खुसी हुनेछन् । सबैजना खुसी हुनेछन्,’ ट्रम्पले भनेका थिए ।
एनबिसी न्युजबाट