पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङ प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ हो । यहाँबाटै विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा हेर्न पाइन्छ । प्रसिद्ध धार्मिक स्थल पाथीभरा देवीको मन्दिर पनि यही जिल्लामा पर्छ । यति महत्वपूर्ण पर्यटकीय र धार्मिक गन्तव्य रहेको ताप्लेजुङ पुग्ने सजिलो माध्यम भनेको सुकेटार विमानस्थल हो । तर, यो विमानस्थल वर्षौदेखि ‘चले पनि नचलेको जस्तै छ ।’
०३३ सालमा निर्माण गरिएको सुकेटार विमानस्थलबाट केही समय नियमित उडान भए पनि पछिल्ला वर्षहरूमा यसको सेवा अवरुद्धजस्तै भएको छ । जहिले मौसम नखुलेको भनेर जहाज आउँदैन, कहिले जहाज नपाएर सेवा रोकिन्छ ।
पछिल्लो समय नेपाल वायु सेवा निगमका जहाज बिग्रिएपछि मर्मतका लागि पठाइयो र त्यसयता सुकेटारमा नियमित उडान भएको छैन । जेठको १५ देखि साउन, भदौ तथा असोजको पहिलो साता सम्म महिना त वर्षातकै कारण जहाज अवतरण गर्न सक्दैन । जब मौसम सफा हुन्छ, तब चाहिँ जहाज नै हुँदैन ।
स्थानीय बासिन्दाले दुःख मात्र पाउने गरेका छन्, जहाज आउछ भनेर विमानस्थल सम्म पुग्यो अनि आउदैन । दुर्गम गाउँबाट बिरामी बोक्दै विमानस्थलसम्म आइपुग्दा पनि जहाज नउडेपछि उनीहरू सडकमार्गको आश्रय लिन बाध्य हुन्छन्। तर, ताप्लेजुङ देखि धरान वा काठमाडौँ पुग्न घण्टौँको जोखिमपूर्ण यात्रा गर्नु पर्छ । केही बिरामीले गन्तव्यमै पुग्न नपाई बाटोमै ज्यान गुमाएका घटना समेत छन् ।
पर्यटकहरूका लागि पनि सुकेटारमा उडान नहुँदा ठूलो समस्या भएको छ । कञ्चनजंघा आधार शिविर ट्रेकमा जान चाहने आन्तरिक र विदेशी पर्यटकहरूलाई पटक–पटक यात्रा स्थगन गर्नुपरेको छ । पाथीभरा दर्शन गर्न आउने भक्तजनहरू पनि जहाज नउड्दा असहज बनेका छन् । यसले ताप्लेजुङको पर्यटन व्यवसायलाई नराम्रो असर पारेको छ । जहाज हुँदा मौसम खराब हुने समस्या त पहिलेभन्दा अझ बढ्दै गएको छ ।
सरकारको ध्यान हिमाली जिल्लामा न्यूनतम हवाई सेवा पु¥याउनेतर्फ पुग्न नसक्दा ताप्लेजुङका जनताले वर्षौ देखि सास्ती भोगिरहेका छन् । राजधानी नजिकैको जीवन र यहाँको जन जीवनबीचको दूरी अझै घट्न सकेको छैन । हरेक वर्ष आशा पलाउँछ, सेवा नियमित होला भनेर, तर केही समयपछि फेरि बन्द हुने नियति सुकेटार विमानस्थलले व्यहोर्दै आएको छ ।
विमानस्थल छ, तर सेवा छैन । कञ्चनजंघा र पाथीभरा हेरेर बाँचिरहेका स्थानीय बासिन्दाको पीडा, यहाँको भूगोलले सडक विस्तारलाई सहज बनाउँदैन र हवाई सेवा स्थिर नहुँदा ताप्लेजुङका जनताले विकासको स्वाद चाख्न कुर्नुपर्ने देखिन्छ ।
सुकेटारमा दुई महिनादेखि हवाई सेवा बन्द
पर्यटकीय सिजना शुरु भएपनि ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान बन्द रहेको छ । दुई महिना देखि हवाई उडान ठप्प भएको हो । गत साउन ५ गतेदेखि ताप्लेजुङमा मौसम प्रतिकूल भएकाले हवाई उडान प्रभावित हुँदै आइरहेको छ ।
नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कार्कीले मौसममा आएको खराविका कारण उडान बन्द गर्नु परेको बताए । उनले हाल साताको शुक्रबार उडान तालिका रहे पनि मौसमका कारण उडान सफल हुन नसकेको बताए ।
काठमाडौँबाट ताप्लेजुङका लागि जहाजले उडान भरे पनि मौसमका कारण अवतरण हुन सक्ने सम्भावना नभएपछि बिचबाटै फर्काइएको इन्चार्ज कार्कीको भनाइ छ ।
दुई महिनाको अवधिमा तीन पटक जहाज बिचबाटै पुनः काठमाडौँ नै फर्किएको छ । काठमाडौँबाट उडान हुनुपूर्व मौसम सफा नै हुने गर्छ । तर, आइपुग्ने समयमा मौसम प्रभावित हुने भएकाले बिचबाटै जहाज फर्काउन बाध्य हुनुपरेको छ । हप्ताको एक पटक शुव्रmबार काठमाण्डौंको तालिका रहेकापनि सो पनि उडान नहुँदा यात्रुहरु मारमा परेका छन् ।