स्यानीखालको पुस्ताैनी सपना पूरा, अब घरघरमा खानेपानीकाे धारा

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

सल्यानको शारदा नगरपालिका– १३, स्यानीखालकी विष्णी बुढा ७० वर्षकी भइन्। जीवनको अधिकांश वर्ष उनले भालेको डाकोसँगै डोकोमा गाग्री बोकेर पँधेरा धाइन्। पिठ्युँमा गाग्रीले कहिल्यै छाडेन। तर, ७० वर्षको उमेरपछि उनको पिठ्युँले डोको र गाग्रीबाट मुक्ति पाएको छ।

पाँच सयभन्दा बढी घरधुरी रहेको स्यानीखालमा अहिले लिफ्ट प्रणालीमार्फत घरघरमा पानी पुगेपछि स्थानीयको मुहार फेरिएको हो। जीवनको लामो कालखण्ड खानेपानीका लागि संघर्षमै बिताएकी बुढाले घरमै पानी आएपछि जीवनकै सुखद अनुभूति गरेको सुनाइन्। 

स्थानीय तुल्सी रोकालाई पनि वर्षौँसम्म कुवा, खोल्सा, पँधेरो चहारेर पानी बोकेका दिन अझै ताजै छन्। अब भने समय फेरिएको छ। शारदा नदीबाट लिफ्ट प्रणालीमार्फत घरघरमा धारासहित खानेपानी पुगेपछि गाउँलेले पहिलेका सबै दुःखबाट मुक्ति पाएको रोकाको भनाइ छ।

स्यानीखालका पाँच गाउँका पाँच सय घरधुरीका नागरिक लामो समय पानीका लागि चरम संकट भोग्न बाध्य थिए। पानीको चरम संकट भएपछि यस क्षेत्रलाई नगरपालिकाले केही वर्ष पहिले सुक्खा क्षेत्र घोषणा गरेको थियो। श्री शारदा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था शारदा नगरपालिका– १३ मार्फत वडाका स्यानीखाल, चलाउनेपानी, लेकटाकुरा, बागमारे, अत्तरकाँडा, साँझखर्क र जोगीचौरमा लिफ्ट प्रणालीमार्फत खानेपानी योजना सञ्चालनमा आएको छ।

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानको करिब सात करोड रुपैयाँ बजेटमा शारदा नदीको मोख्लामा मुहानबाट लिफ्ट प्रणालीमार्फत खानेपानी योजना निर्माण गरिएको हो। मुहानदेखि ५५० मिटर उचाइबाट दुई हजार तीन सय मिटर पाइपलाइनमार्फत गाउँमा पानी पुर्याइएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर अनुप श्रेष्ठले बताए।

सुझावित समाचार