नेपाल प्रहरीले हाल देशका विभिन्न राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध रहेको जानकारी गराएको छ। बिहान ९ बजेसम्मको तथ्यांकअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडकहरू अवरुद्ध भएका छन्।
संखुवासभामा अविरल वर्षाका कारण मकालु गाउँपालिका- ३ एकुवा, र भोजपुर गाउँपालिका- वरुण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।
यता रसुवामा पहिरोका कारण नेपाल र चीन नाका जोड्ने पुल, गोसाइँकुण्ड गाउँपालिका- २ सडक खण्ड अवरुद्ध भएको छ। सिन्धुपाल्चोक जिल्लामा पहिरोका कारण भोटेकोशी गाउँपालिका- २, कोदारी मा सडक अवरुद्ध भएको छ।
त्यस्तै, चितवनको इच्छाकामना- ५, तुइनखोलामा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध छ।
यता बागलुङमा पहिरोका कारण कालीखोला सडकखण्ड एकतर्फी सुधार गरिरहेको छ। नवलपरासी पूर्वमा पहिरोका कारण विन्ध्यावासिनी- २, विश्वकर्मा मन्दिर सडकखण्ड पनि एकतर्फी सुधार गरेर सञ्चालनमा ल्याएको छ ।
रुकुम पूर्वमा पहिरोका कारण भूमे- ८, कोइडाबगर सडकखण्ड एकतर्फी भएको छ भने जाजरकोटमा पहिरोका कारण नलगाड- ११, भिरकुना सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
यी सडक खण्डहरू प्रयोग गर्दा विशेष सावधानी अपनाउन र सम्भव भएसम्म वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।