जेन–जी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठजोड, दोस्राे भू–राजनीति : वर्षमान

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पहिलो र दोस्राे ठुलो दल कांग्रेस–एमाले मिलेर सरकार बनाएपछि जेन–जी आन्दोलनको पृष्ठभूमि तयार भएको बताएका छन् । 

दुई ठुला दल सम्मिलित केपी ओली नेतृत्वको सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कामलाई कम तथा बिचौलिया र स्वार्थ समूहको सेवालाई बढी प्राथमिकतामा राखेका कारण जन्मिएको असन्तोष जेन–जी विद्रोहमार्फत विस्फोट भएको उनको विश्लेषण छ । 

प्रमुख प्रतिपक्षी हैसियतमा आफूहरूले पटकपटक बिचौलिया वर्गको सेवा छाडेर जनताको सेवामा लाग्न दबाब तथा ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरिँदाको खराब परिणाम कांग्रेस–एमालेले मात्र नभई सिंगो मुलुकले भोग्नुपरेको उनको भनाइ थियो । उनले मुलुकको धरोहरका रूपमा रहेका राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालय आन्दोलनका क्रममा खरानी पारिएको भन्दै त्यसको नैतिक जिम्मेवारी कुशासनका मतियारहरुले लिनुपर्ने तर्क गरे । जेन–जी आन्दोलनको पहिलो र निर्णायक कारण मुलुकको आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक कारण भएको चर्चा गर्दै उनले सहायक कारणका रूपमा भू–राजनीति पनि रहेको उल्लेख गरे । ‘भ्रष्टाचार, अनियमितता, कुशासन र बिचौलिया वर्गको स्वार्थमा नलागेर मुलुक र जनताको स्वार्थमा केन्द्रित हुन प्रमुख प्रतिपक्षका हैसियतमा  हामीले संसदभित्र र बाहिरबाट एक वर्षसम्म पटकपटक सरकारको ध्यानाकर्षण गरायौँ, दबाब दियौँ,’ पार्टीसम्बद्ध जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसँगको भर्चुअल अन्तर्क्रियाका क्रममा पुनले भने, ‘तर, सत्तामा बसेका कांग्रेस र एमालेले सुनेनन् । दुईतिहाइको शक्ति पूरै स्वार्थ समूहको सेवामा समर्पित भयो । हामीले निकट विगतका बंगलादेश, श्रीलंकाजस्ता मुलुकमा जस्तो खराब अवस्था आउन सक्नेबारे भनेकै हौँ । हाम्रो जिम्मेवारीपूर्ण खबरदारीलाई अन्देखा गरियो र अर्कै अर्थमा प्रचार गर्ने काम पनि भयो । त्यही पृष्ठभूमिमा बढेको असन्तोष जेन–जी आन्दोलनको रुपमा प्रकट भयो ।’ 

जेन–जी आन्दोलनको मौका छोपेर प्रतिगामी र प्रतिक्रियावादी शक्तिले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरूका निवास तथा पार्टी कार्यालयमा  आगजनी र लुटपाट गरेको र उनीहरूले नै माओवादी र अरू दल उस्तै भन्ने स्थापित गराउने कोसिस गरिरहेको भन्दै आपत्ति जनाए । 

पुनले अमेरिका, रुस, चीन र भारतजस्ता शक्तिराष्ट्रबिच विद्यमान शक्ति संघर्षको बाछिटा पनि नेपालका परेको उल्लेख गरे । 

अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भू–राजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा पुनले जोड दिए । 

जेन–जी आन्दोलनले पार्टीहरूका विद्यमान नेतृत्व, संरचना तथा राज्यका निकायहरूमा आमूल रूपान्तरण जरुरी रहेको रहेको जबर्जस्त सन्देश दिएको उनको भनाइ छ। 
 

सुझावित समाचार