साबिक विजेता लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार पाँचौँ जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको मर्सीसाइड डर्बीमा लिभरपुलले एभर्टनलाई २–१ ले हरायो । लिभरपुलको जितमा रायन ग्राभनबर्क र ह्युगो एकिटिकेले समान एक गोल गरेका थिए । यस नतिजासँगै प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलको पाँच खेलमा १५ अंक पुगेको छ । एभर्टनको पाँच खेलमा सात अंक छ ।
यसअघि लिभरपुलले सिजनको पहिलो खेलमा बर्नामाउथलाई ४–२ ले हराउँदै सानदार सुरुवात गरेको थियो । रोमाञ्चक बनेको दोस्रो खेलमा बलियो न्युक्यासललाई ३–२ ले हराउँदा आर्सनलविरुद्ध पनि १–० कै जित निकाल्यो । चौथो खेलमा पनि जित निकाल्ने क्रममा लिभरपुलले बर्नलीमाथि १–० को जित निकालेको हो । अब, लिभरपुलले बुधबार एफए कपमा साउथह्याम्पटमको चुनौती पछ्याउनेछ ।
पहिलो हाफमै दुई गोल
सहरी प्रतिद्वन्द्वीविरुद्ध लिभरपुलले पहिलो हाफमै दुई गोल गरेको थियो । दोस्रो हाफमा एभर्टनले एक गोल फर्कायो । तर, अर्काे खेल फर्काउन नसक्दा तीन अंक गुमाएको हो । खेलको दसौँ मिनेटमा लिभरपुलले ग्रभनबर्कको गोलमा अग्रता लियो । स्ट्राइकर मोहमद सलाहको पासलाई पहिलो टचमै उनले गोल गरे । २९औँ मिनेटमा एकिटिकेले लिभरपुलको २–० को अग्रता दिलाए । ग्राभनबर्कको पासलाई उनले सदुपयोग गरेका हुन् । उनले गोलकिपर जोर्डन पिकफोर्डलाई बिट गरेका थिए । खेलको ५८औँ मिनेटमा इड्रिसा गेयेले अग्रता २–१ मा झारेका थिए । तर, बाँकी समय गोलका अवसर बनाएपछि एभर्टनले अंक खोस्न सकेन ।