इतिहासमा २४ भदौ

केपी ओलीका साढे पाँच घण्टा

आइतबार, ५ असोज, २०८२
डिजिटल संस्करण

२३ भदौको जेन–जी आन्दोलनमा केपी ओली नेतृत्वको सरकारको बर्बर दमनमा १९ निहत्था युवा मारिएपछि आक्रोशित प्रदर्शनकारीले २४ भदौमा सार्वजनिक सम्पत्ति मात्रै होइन, नेताका घर नै ध्वस्त बनाएपछि उनीहरूको सुरक्षामै चुनौती निम्तियो । त्यस दिन शीर्ष नेताहरू कहाँ के गर्दै थिए, सेनाले कसरी उद्धार गर्‍यो ? प्रमुख भौतिक संरचना कसरी ध्वस्त भए ? नयाँ पत्रिकाकर्मी शुरोजंग पाण्डे र टेकराज थामीले तयार गरेको रिपोर्ट :

केपी ओलीका साढे पाँच घण्टा

बिहान ९:०० बजे : पार्टीको कोर टिमसँग बैठक

२३ भदौमा १९ युवाको ज्यान गएपछि २४ भदौको बिहानैदेखि आन्दोलन चर्कियो । तर, सकेसम्म आन्दोलन मत्थर पार्ने रणनीति तय गर्न प्रधानमन्त्री केपी ओलीले ९ बजे पार्टी उपाध्यक्षसमेत रहेका अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र राजनीतिक सल्लाहकार विष्णु रिमालसँग छलफल गरे । पौडेलले आन्दोलन नियन्त्रणबाहिर जाँदै गरेको संकेत गर्दै विभिन्न विकल्पबाट सोच्नुपर्ने सुझाव राख्न थालेका थिए । तर, पोखरेल, ज्ञवाली र रिमालले प्रतिवाद गरे । प्रधानमन्त्री ओलीले पनि सुनेको नसुनेझैं गरे । 

बिहान ९:४५ बजे : देउवासँग टेलिफोन संवाद 

एमाले नेताहरू बालुवाटारमा छँदै ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले फोन गरेका थिए । बुढानीलकण्ठ निवास प्रदर्शनकारीले घेरेकाले थप सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । तर, त्यतिवेलासम्म पनि ओलीले जटिल परिस्थितिलाई नजरअन्दाज गरिरहेका थिए । 

बिहान १०:०० बजे : सुरक्षा प्रमुखहरूको सुझावमा पनि ओलीको बेवास्ता

देउवाको फोनपछि ओलीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरे । छलफलमा ओलीले भनेका थिए, ‘शेरबहादुरजीले फोन गर्नुभएको थियो, बाहिर (निवासबाहिर) मान्छे भेला भएर प्रदर्शन गरिरहेका रहेछन्, त्यहाँ सुरक्षाकर्मी पठाइदिनुपर्‍यो  ।’ मुख्यसचिव एकनारायण अर्याल र चार सुरक्षा प्रमुख त्यसअघि नै गृह मन्त्रालयमा बैठक बसेर प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार पुगेका थिए । उनीहरूले पनि परिस्थिति असामान्य बन्दै गएकाले राजनीतिक निकासका लागि सुझाव दिए । तर, ओली उल्टै झोक्किए । ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरू परिभाषित जिम्मेवारी पूरा गर्नुस्, राष्ट्रलाई निकास दिने मेरो अभिभारा म पूरा गर्छु । त्यसो गर्‍यो भने स्थिति ठिक हुन्छ ।’ राजीनामा दिएर निकास दिन प्रधानसेनापतिले आग्रह गरेपछि ओली थप आक्रोशित बनेका थिए । उनीहरूबिचको संवाद नै असहज बनेको थियो । पछि अर्थमन्त्री पौडेल र ओलीका राजनीतिक सल्लाहकार रिमाललगायतले पनि सिग्देलसँग अलग्लै छलफल गरेका थिए ।

मध्यान्ह १२:०० बजे : सर्वदलीय बैठक आह्वान 

दिउँसोसम्म अपूरणीय क्षति मात्रै भएको थिएन, समय पनि धेरै घर्किसकेको थियो । ओलीले भने बल्ल छलफलका लागि सर्वदलीय बैठक आह्वान गरे । मानवीय र भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै वार्ता र छलफलका माध्यमबाट आन्दोलनका माग सम्बोधनबारे छलफल गर्न साँझ ६ बजे बैठक बोलाएका थिए । तर, यो बैठक नै हुन पाएन, ओली बहिर्गमन भए ।

दिउँसो ०१:०० बजे : ओलीको राजीनामा ड्राफ्ट तयार

प्रधानसेनापतिसहितका सुरक्षा प्रमुखहरूले निकास दिन पटक–पटक आग्रह गर्दा पनि ओलीले बेवास्ता गरिरहे । जब प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार, मन्त्रीनिवासदेखि शीर्ष नेतासहितका निवासमा आगजनी र तोडफोड गरेको तथा आन्दोलन नियन्त्रणबाहिर गएको प्रत्यक्ष थाहा पाए । अनि बल्ल दिउँसो १ बजे राजीनामा दिन तयार भए । त्यो पनि अर्थमन्त्री पौडेल र प्रधानसेनापति सिग्देलले बल्लतल्ल मनाउनुपर्‍यो । सिग्देलले त राजीनामा नदिने हो भने झन् विध्वंस हुने र सेनाले पनि सुरक्षा दिन नसक्ने स्थिति आउन सक्ने चेतावनी नै दिए । त्यसपछि पौडेलले ओलीलाई ‘कन्भिन्स’ गराए । मुख्यसचिव अर्याललगायतले राजीनामाको ड्राफ्ट तयार पारेका थिए । 

दिउँसो ०२:०० बजे : अनि बल्ल गरे ओलीले राजीनामापत्रमा हस्ताक्षर

यतिवेलासम्म पनि ओली राजीनामापत्रमा हस्ताक्षर नगर्ने मनस्थितिमै थिए । तर, आन्दोलनकारीले बालुवाटारसमेत घेर्न थालिसकेका थिए । उनी राजीनामा नदिएरै बालुवाटारबाट सुरक्षित स्थानतिर जाने तयारीमा थिए । तर, सेनाले राजीनामा नदिई उनलाई रेस्क्यु गर्न मानेन । अनि बल्ल २ बजेतिर ओलीले राजीनामापत्रमा हस्ताक्षर गरे । राजीनामापत्र सेनामार्फत राष्ट्रपतिलाई बुझाए । लगत्तै उनको राजीनामा स्वीकृत भएपछि मुख्यसचिव र प्रधानसेनापतिसहितका सुरक्षा प्रमुखहरू हेलिकोप्टरबाट सैनिक मुख्यालय गए । 

दिउँसो ०२:३० बजे : सैनिक हेलिकोप्टरबाट ओलीलाई जोगाएर लगियो शिवपुरितिर 

राजीनामालगत्तै ओली, उनकी पत्नी राधिका शाक्य र राजनीतिक सल्लाहकार विष्णु रिमाललाई सेनाले हेलिकोप्टरमा शिवपुरीस्थित स्टाफ कलेजको ब्यारेकमा पुर्‍यायो । बालुवाटारमै रहेका उपप्रधानमन्त्री पौडेल, महासचिव पोखरेल र उपमहासचिव ज्ञवालीलाई भने माथिको आदेश भन्दै त्यहीँ छाडिदियो । उनीहरू प्रहरीको सहयोगमा प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षित भएका थिए । 

शेरबहादुर देउवा : प्रदर्शनकारीले निवास नघेर्दासम्म ढुक्कै थिए
बिहान ०९:०० बजे : कर्फ्यु कारण केन्द्रीय कार्यसम्पादन बैठक स्थगित

जेन–जी आन्दोलनबाट भएको क्षतिको समीक्षा गर्न बिहान ९ बजे कांग्रेस सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक राखेका थिए । उनका स्वकीय सचिव भानु देउवाका अनुसार कर्फ्युका कारण बैठक बस्न सकेन, स्थगित गरियो । 

बिहान ०९:३० बजे : निवास घेराउ, प्रधानमन्त्रीसँग गुहार

अघिल्लो राति अबेरसम्म प्रधानमन्त्री ओलीसँग संवादमा रहेका देउवाले पनि परिस्थिति असामान्य बन्ने सोचेकै थिएनन् । गृहमन्त्री रमेश लेखकले राजीनामा दिन खोज्दा पनि सम्झाएर रोक्न खोजेका थिए । ओलीमाथि राजीनामाको दबाब बढ्दा पनि मौन थिए, ढुक्क थिए । तर, बिहान ९ बजेपछि प्रदर्शनकारीले चारैतिरबाट निवास घेरा हालेपछि मात्रै उनी झस्किए । ओलीलाई फोन गरेर थप सुरक्षाकर्मी पठाइदिन गुहारे । 

बिहान ११:०० बजे : प्रदर्शनकारीबाट आक्रमण, सेनाले पुर्‍यायो सैनिक अस्पताल

बाहिर नाराबाजी गरेका केही प्रदर्शनकारी निवासभित्रै छिरे । देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई आक्रमण गरे । लछारपछार गर्दै कुटपिट गरे, धारिला हतियार प्रयोग गरे । सुरक्षामा खटिएको सेना, सशस्त्र प्रहरी र जनपदको टोलीले बाहिर चौरमा ल्याउँदा पनि आक्रमण जारी थियो । लामो प्रयासपछि सेनाले प्रदर्शनकारीबाट छुटाएर देउवादम्पतीलाई सैनिक अस्पताल पुर्‍यायो । 

प्रचण्ड र माधवलाई सिंहदरबारबाटै रेस्क्यु

प्रमुख प्रतिपक्षी दल माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिहान ८ बजे विपक्षी दलहरूको संयुक्त बैठकका लागि सिंहदरबार आइपुगेका थिए । माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकले अघिल्लो दिनको आन्दोलनको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो । प्रचण्डले बैठकबाटै देउवालाई फोन गरेर सरकार फेल भइसकेकाले तत्काल राजीनामा दिन भनेका थिए । त्यतिवेलासम्म बाहिर नेताका घरहरूमा आगजनी र तोडफोड व्यापक भइसकेको थियो । सिंहदरबारलगायत सार्वजनिक निकायमा पनि प्रदर्शनकारीले आक्रमणको तयारी गरिसकेको सूचना पाएपछि उनीहरू सतर्क भए । 

माधव नेपाललाई उद्धृत गर्दै एकीकृत समाजवादीका एक नेताका अनुसार दुवैलाई सेनाले बैठक बसेकै स्थानबाट उद्धार गरेको थियो । तर, नेपाललाई सिंहदरबारभित्रै रहेको गणमा राखियो । प्रचण्डलाई सुरुमा आर्मी हेडक्वार्टर पुर्‍याएको थियो । पछि उनलाई शीतलनिवासनजिक कतै सुरक्षित स्थानमा राखिएको नेता नेपालको ब्रिफिङ थियो । २६ भदौमा राष्ट्रपतिले गरेको ‘म्याराथन’ छलफलमा प्रचण्ड र नेपाल दुवै सहभागी थिए ।

अनि जलाउन थाले सरकारी भवन

पहिलो प्रहार तीनकुने प्रहरी वृत्त (बिहान ११ बजे) 
सरकारले २३ भदौमा बानेश्वरमा १९ युवाको नरसंहार गरेपछि जेन–जी प्रदर्शनकारीको निसानामा थियो संसद् भवन । २४ भदौको बिहानैदेखि उनीहरू बानेश्वरतर्फ अगाडि बढ्दै थिए । तीनकुने सडकमा जम्मा हुन थाले । १० बजेसम्म सडक उनीहरूको कब्जामा आइसकेको थियो । बानेश्वरतर्फ अगाडि बढ्न खोज्दा प्रहरी पुलमा रोक्ने प्रयासमा थियो । उत्तेजित भिड तीनकुनेस्थित प्रहरी वृत्ततर्फ अघि बढ्यो । वृत्तलाई घेरा हाल्यो । कार्यालयको गेट तोड्यो, कोही काँडेतार पन्छाएर पर्खाल नाघेरै कार्यालयमा छिरे । टेबुल, कुर्सी र कागजात बाहिर निकालेर आगो लगाए । पार्किङ गरिएका गाडी र मोटरसाइकलमा पनि आगो झोसे । प्रदर्शनकारीलाई संसद् भवनतर्फ जान नदिन तैनाथ प्रहरी आफ्नै कार्यालय जोगाउन असमर्थ बन्यो । 

कार्यालय ध्वस्त पारेपछि प्रदर्शनकारीले प्रहरीको बर्दी उतारेर अर्धनग्न अवस्थामा सडकमा मार्च गर्न लगाए । ज्यान जोगाउन केही सुरक्षाकर्मी बागमती नदीमा हामफाले । अझै पनि ढुंगा हान्दै खोलैखोला लगार्न छाडेनन् । विजयीभावमा उनीहरू फेरि बानेश्वर सडकमा उत्रिए, त्यतिवेलासम्म सडक पूर्ण रूपमा आन्दोलनकारीको नियन्त्रणमा थियो । 

दन्किन थाल्यो संसद् भवन (१:३० बजे) 
तीनकुनेबाट बानेश्वरतिर अगाडि बढेको भिड विनाकुनै अवरोध संसद् भवनको दक्षिण गेटमा गएर रोकियो । गेट बन्द थियो । सडकमा नभए पनि संसद् भवन सुरक्षाका लागि भित्र सुरक्षाकर्मी थिए । सुरक्षाकर्मीले भिड रोक्न तागत लगाए । केहीबेर घम्साघम्सी चल्यो, तर भिडसामु सुरक्षाकर्मीको जोड चलेन । गेट ढलाएर प्रदर्शनकारी संसद् भवनपरिसरमा प्रवेश गरे । प्रदर्शनकारीले भवनभित्र छिरेर टेबुल, कुर्सी, कागजातलगायत जम्मा गरे । बोतलमा बोकेको पेट्रोल छर्किएर आगो लगाए । दिउँसो १:३० बजेदेखि आगो दन्किन थाल्यो । २:०० बज्दासम्म धुवाँको मुस्लोले संसद् भवनको आकाश भरिसकेको थियो । 

सिंहदरबार पनि जोगिएन (अपराह्न २:३० बजे)
संसद् भवन जलाएपछि प्रदर्शनकारी थप उग्र बने । अब सिंहदरबार पनि जलाउने भन्दै अगाडि बढ्यो । २:०० बजेसम्म चारैतिरबाट सिंहदरबार घेरिसकेका थिए । तर, भित्र छिर्न सुरक्षाकर्मीको अवरोध थियो । हातमा पेट्रोलका बोतल बोकेका प्रदर्शनकारीले आगो सल्काउँदै सुरक्षाकर्मीतिर फाल्न थाले, जवाफमा अश्रुग्यास पाए । त्यतिवेलासम्म सिंहदरबार पश्चिम गेटसामुन्ने रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय आगजनीपछि ध्वस्त भइसकेको थियो । 

त्यही समूह पश्चिम गेटमा जम्मा भयो । सँगै ल्याइएको टायर गेटमै राखेर पेट्रोल छर्किएर आगो लगायो । धुवाँको मुस्लोले आकाश ढाक्यो । त्यही वेला अर्को समूह गेट नाघेर भित्र छिर्‍यो । गेटमा दन्किएको आगो लगेर कोठा–कोठामा झोस्न थाल्यो । हेर्दाहेर्दै गेट पनि तोडे । सबै भिड सिंहदरबार छिरेपछि सुरक्षाकर्मीले रोक्न सकेन । पूर्वी, दक्षिण र पश्चिम गेटबाट ओइरिएका प्रदर्शनकारीले सिंहदरबारलाई पूर्ण रूपमा नियन्त्रणमा लियो । 

उनीहरू गृह मन्त्रालय पनि प्रवेश गरे । सोफा, टेबुल, कुर्सी र कागजातमा आगो लगाए । पश्चिमतर्फबाट छिरेका प्रदर्शनकारी भने प्रधानमन्त्री कार्यालयभित्र प्रवेश गरे । कोठाकोठाका फर्निचरमा आगो झोस्दै अघि बढे । उनीहरूको आक्रोश सिंहदरबारभित्र पार्किङ गरिएका गाडी र मोटरसाइकलमाथि पनि पोखियो । ४:०० बजेसम्म प्रधानमन्त्री कार्यालय, संसद् सचिवालय, गृह, शिक्षा, कानुन, भूमि, भौतिकलगायत मन्त्रालय खरानी भइसकेका थिए । 

सिंहदरबारबाट निस्किएर सर्वोच्च अदालतमा प्रहार (४:३०)
सिंहदरबारबाट निस्किएका युवाले सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालय पनि छाडेनन् । यतिवेलासम्म त रोक्ने सुरक्षाकर्मी पनि थिएनन् । बन्द गेट तोडेर सजिलै सर्वोच्च परिसरमा छिरे । पार्किङमा रहेका गाडी र मोटरसाइकलमा आगो लगाए । उही शैलीमा कोठाकोठा छिर्दै सबैतिर पेट्रोल छर्किँदै आगो लगाए । महान्यायाधिवक्ताको कार्यालयमा पनि त्यसै गरे । यही भिडले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत र सडक विभागमा पनि आगो लगायो । सबै खरानीमा परिणत भयो । 

शीतलनिवास जलिरह्यो, सेना हेरिरह्यो (३:३० बजे)
महाराजगन्जस्थित प्रहरी वृत्त खरानी बनाएका आक्रोशित युवा शीतलनिवासस्थित राष्ट्रपतिनिवास आक्रमणमा होमिए । सेनाको परमाधिपतिसमेत रहेका राष्ट्रपतिको कार्यालयसमा हतियारसहितका सैनिक नै तैनाथ थिए । तर, उनीहरूलाई गोली चलाउने आदेश थिएन । प्रदर्शनकारीको ठुलो भिड उनीहरूले रोक्न सकेनन् । प्रदर्शनकारीले भित्रै छिरेर आगो लगाए । २५ भदौको बिहानसम्म पनि आगो दन्किरहेको थियो । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा पनि जलाए एउटा भवन (१:३० बजे)
अघिल्लो दिन १९ युवा मारिएपछि प्रदर्शनकारी प्रधानमन्त्री केपी ओलीसँग बढी आक्रोशित थियो । अझ उनले राजीनामा दिन आनाकानी गरेपछि युवा थप उत्तेजित थिए । बिहान ११:०० बजेबाट उनीहरू बालुवाटारस्थित ३ नम्बर गेटमा जम्मा हुन थालिसकेका थिए । उनीहरूलाई रोक्न सुरक्षाकर्मी तैनाथ थिए । तर, १:३० तिर भिड गेट तोडेर अगाडि बढ्यो । ३ नम्बर गेटसँगै रहेको भवनमा आगो लगायो । प्रदर्शनकारी प्रधानमन्त्रीको निवासतर्फ अघि बढ्न बल गर्दैै थिए । त्यही वेला २:०० बजे ओलीले राजीनामा दिए । सेनाले हेलिकोप्टरमा राखेर बालुवाटारबाट शिवपुरीतिर लगेपछि युवाको आक्रोश मत्थर भयो । प्रधानमन्त्रीनिवास जल्नबाट बच्यो ।

See More On

सुझावित समाचार