रामेछाप कारागारमा गोली चल्यो, तीन कैदीबन्दीको मृत्यु, १५ घाइते

बिहिबार, २६ भदौ, २०८२
डिजिटल संस्करण

जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दी कारागारको गेट तोडेर भाग्न खोज्दा नेपाली सेनाले गोली चलाएको छ। गोली लागेर तीन कैदीबन्दीको मृत्यु भएको छ भने १५ जना  कैदीबन्दी घाइते भएका छन् । 

बिहीबार बिहान कारागारभित्र रहेका सबै कैदीबन्दीले गेट तोडेर सामूहिक रूपमा बाहिर निस्कन खोजेपछि सेनाले कैदीबन्दीहरूलाई रोक्ने प्रयास गरेको थियो । तर, कैदीहरू भाग्न मूलगेटको ताला तोडेर बाहिर निस्केपछि सेनाले बाध्य भएर गोली चलाएको हो। गोली लागेर तीन कैदीबन्दीको मृत्यु भएको छ भने १५ कैदीबन्दीको हाल रामेछाप अस्पतालमा उपचार भइरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । 

कारागार कार्यालयमा अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले चारैतर्फ घेरा हाली सुरक्षा दिइरहेको छ । कारागारको अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए। 

रामेछाप नगरपालिका– ८ रामेछाप बजारमा कारागार कार्यालय रहेको छ । कारागारमा ५० जनाको क्षमता भए तापनि अहिले विभिन्न अपराधमा तीन सयजना कैदीबन्दी सो कारागारमा कैदजीवन व्यतित गर्दै आएका छन् । 
 

सुझावित समाचार