नेपालमा विकसित घटनाक्रमबारे छिमेकी चीनले प्रतिक्रिया जनाएको छ । घटनाको तेस्रो दिन चीनले धारणा राख्दै शान्ति र स्थिरतामा जोड दिएको छ । यसअघि सोमबार अमेरिकासहित पश्चिमा मुलुक र मंगलबार भारतले नेपालमा विकसित घटनाक्रबारे चासो व्यक्त गरेका थिए ।
‘चीन र नेपाल एक–अर्काका परम्परागत मित्र र छिमेकी हुन् । हामी आशा गर्छौँ कि नेपालका विभिन्न पक्षहरूले आन्तरिक समस्यालाई उचित ढंगले सम्बोधन गरी छिट्टै मुलुकमा शान्ति र स्थायित्व कायम गर्नेछन्,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ । यद्यपि, चीनले घटना र त्यसक्रममा भएको जनधन क्षतिबारे बोलेको छैन ।
भारतले मंगलबार विज्ञप्ति जारी गरी संयम अपनाउन र शान्तिपूर्ण तरिकाले संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिएको थियो । ‘नेपालको नजिकको मित्र र छिमेकीका रूपमा भारत सबै पक्षले संयम अपनाई समस्याहरूलाई शान्तिपूर्ण तरिकाले र संवादमार्फत समाधान गर्नुपर्ने विश्वास गर्दछ,’ भारतीय विदेश मन्त्रालयको भनाइ थियो ।
सोमबारै अमेरिका, बेलायत, अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, दक्षिण कोरिया नर्वे, जर्मनी र स्विट्जरल्यान्डले चासो राखेका थिए । ‘हाम्रा सरकारहरूका तर्फबाट हामी शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति दृढ समर्थन पुन: व्यक्त गर्दछौँ,’ उनीहरूको विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौँ ।’