सिलिचोङ गाउँपालिकाद्वारा भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन

आइतबार, २२ भदौ, २०८२
डिजिटल संस्करण

पूर्वी पहाडी जिल्ला संखुवासभाको अरुणपारिको गाउँपालिका भनेर चिनिने दुर्गम सिलिचोङ गाउँपालिकाले भत्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरेको छ ।

पालिकाभन्दा बाहिर रहेका पालिकावासीहरूका लागि सहज सेवासुविधा उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको हो । सदरमुकाम खाँदबारी, चन्दनपुर, इटहरी र काठमाडौंमा घुम्ती शिविर सञ्चालन गरिएको हाे ।  

जिल्लाभित्र र जिल्लाबाहिर पालिकावासीहरू बढी बसोबास गर्ने ठाउँहरूमा घुम्ती शिविरको आयोजना गरी सेवा प्रदान गरेको कुलुङले बताए । गाउँपालिकाले गत भदौ ६ र ७ गते काठमाडौं, ९ र १० गते इटहरीमा र १२ गते खाँदबारी र आइतबार चन्दनपुरमा घुम्ती शिविर सञ्चालन गरेको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिए ।काठमाडौंमा ५७ जना, इटहरीमा ५० जना र खाँदबारीमा ३४ जना गरी करिब दुई सयजनालाई सेवा प्रदान गरेको अध्यक्ष मेवाहाङको भनाइ छ ।

काठमाडौं उपत्यका तथा आसपास बसोबास गरेकाहरूलाई लक्षित गरी काठमाडौंमा र तराईका विभिन्न जिल्लामा बसोबास गर्नेहरूलाई लक्षित गरी इटहरीमा शिविर केन्द्र तोकिएको र विभिन्न कारणले आफ्नो पालिका आइपुग्न नसकेकाहरूलाई सेवा पुर्याउने उद्देश्यले सदरमुकाम खाँदबारी र चन्दनपुरमा शिविरको आयोजना गरिएको गाउँपालिकाको भनाइ छ । 

यस वर्ष सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण गर्दा व्यक्ति स्वयंको उपस्थितिमा बायोमेट्रिक गर्नुपर्ने भएकाले पनि अशक्तहरूलाई पालिका आउन समस्या छ । सामाजिक सुरक्षा भत्ता नवीकरण र नयाँ दर्ता गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य र बायोमेट्रिक गर्नुपर्ने भए पनि समस्यामा घुम्ती शिविर सञ्चालन गरिएको सिलिचोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीण राईले बताए । ज्येष्ठ नागरिक, असक्त, असहाय र विपन्नहरूलाई सहज सेवा प्रदान गर्न शिविरले सहयोग पुगेको राईले बताए । 

खाँदबारीमा भत्ता नवीकरणलगायतको काम भएपछि सिलिचोङ– १ का लक्षीमाया विश्वकर्मा खुसी भइन् । उनले बर्खाको समयमा सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कु आवातजावात गर्नसमेत समस्या भइरहेको समयमा खाँदबारीमा नै पालिकाले घुम्ती शिविरको आयोजना गरेपछि सहज भएको बताइन् । ‘छोराबुहारीसँग खाँदबारीमा बस्छु, असक्त पनि छु, पालिका आउजाउ गर्न खर्च पनि लाग्छ, पालिकाले यहीँ सेवा–सुविधा दिएकोमा स्थानीय सरकारलाई धन्यवाद दिन्छु,’ विश्वकर्माले भनिन् । 

उक्त घुम्ती शिविरबाट सामाजिक सुरक्षा, राष्ट्रिय परिचयपत्र, मालपोत र नागरिकतालगायत एकीकृत सेवाहरू दिइएको पालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न सरकारले नयाँ आर्थिक वर्ष ०८२/८३ को भदौ मसान्तसम्म म्याद तोकेको छ । सिलिचोङ गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने एक हजार ३६० जना रहेका छन् ।

सुझावित समाचार