फिफा र युनेस्कोको सहकार्यमा सञ्चालित फुटबल फर स्कूल्स कार्यक्रम मकवानपुरमा पनि शुभारम्भ भएको छ। हेटौँडा–६ स्थित गौरीटार रंगशालामा आयोजित एक कार्यक्रमकाबीच शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले फुटबल फर स्कुलको शुभारम्भ गरेका हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भएको कार्यक्रममा अध्यक्ष पंकज विक्रम नेम्वाङले यो कार्यक्रम नेपालका ७७ जिल्लाका १ हजार ७२ विद्यालयमा लागू हुने जानकारी दिए । उनका अनुसार देशभर ३२ हजार ६ सय ४० फुटबल वितरण गरिनेछ भने मकवानपुर जिल्लामा २२ विद्यालयमा कार्यक्रम सञ्चालन हुनेछ ।
फिफाले विश्वभर ४ देखि १४ वर्ष उमेर समूहका ७० करोड बालबालिकालाई फुटबलमार्फत पहुँचमा ल्याउने लक्ष्य लिएको अध्यक्ष नेम्वाङले बताए । नेपालमा मात्र ६ लाख विद्यार्थीलाई यस अभियानमार्फत फुटबलसँग जोडिने उनको भनाइ छ । ‘यो कार्यक्रम केवल खेलकुदमा मात्र सीमित छैन, बालबालिकाको समग्र विकासका लागि वृहत् पहल हो,’ अध्यक्ष नेम्वाङले भने ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले खेलकुदलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । उनले गौरीटार रंगशालालाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न सक्ने स्तरमा निर्माण गर्नेगरी काम भइरहेको दावी गरे । फुटबल अब स्वास्थ्य, शिक्षा र राष्ट्रिय गौरवसँग जोडिएको भन्दै उनले विद्यार्थीलाई फुटबलसँग जोड्ने एन्फाको प्रयासलाई प्रशंसनीय कार्य भएको बताए ।
यस्तै प्रदेशका युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले खेलाडीको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन एन्फाको योगदान उल्लेखनीय रहेको बताइन् । उनले सरकारले खेलकुद क्षेत्रमा अझै धेरै गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै प्रदेश सरकार पनि खेल क्षेत्रको प्रवर्धनको लागि तयार रहेको स्पष्ट पारिन् । बागमतीलाई स्पोट्र्स हबको रुपमा विकास गर्न आफु र प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो ।
यसैबीच, गत असोजमा पहिरोमा परी ज्यान गुमाएका १४ वर्षमुनिका खेलाडीहरूको स्मृतिमा यु–१४ विद्यालयस्तरीय मकवानपुर जिल्ला क्वालिफाइ फुटबल प्रतियोगिता पनि सुरु भएको छ । अनुपम घलान, साईमन योन्जन, दिवस बानिया, आदित्य बलम्पाकी, प्रिन्स आचार्य र बिकल रेग्मीको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता भदौ २८ गतेसम्म चल्ने एन्फा मकवानपुरका अध्यक्ष टिकारामा लामाले जानकारी दिए ।