बागलुङमा एक अर्ब ३३ करोड रकम फ्रिज

शनिबार, २१ भदौ, २०८२
डिजिटल संस्करण
  • संघ, प्रदेश र स्थानीय तहले विनियोजन गरेको १२ अर्ब ४७ करोडमध्ये ११ अर्ब १४ करोड खर्च भएको जिल्ला समन्वय समितिद्वारा जानकारी

बागलुङमा गत आर्थिक वर्ष ०८१/०८२ मा एक अर्ब ३३ करोडभन्दा बढी रकम फ्रिज भएको छ । संघ, प्रदेश र स्थानीय तहबाट विनियोजन भएको बजेट रकम एक अर्ब ३३ करोड ८० लाख ४२ हजार ६९ रुपैयाँ ११ पैसा रकम खर्च हुन नसकेको जिल्ला समन्वय समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । 

तीन तहले बागलुङमा १२ अर्ब ४७ करोड ८५ लाख ८१ हजार तीन सय ८५ रुपैयाँ विनियोजन गरेका थिए । त्यसमध्ये ११ अर्ब १४ करोड ५३ लाख नौ हजार तीन सय १६ रुपैयाँ मात्र खर्च भएको समितिले जनाएको छ ।

संघीय बजेटबाट चालूतर्फ आठ अर्ब २३ करोड ५५ लाख ९९ हजार ४५ रुपैयाँ विनियोजन भएको थियो । जसमध्ये सात अर्ब ५८ करोड ५३ लाख ७७ हजार नौ सय ४७ रुपैयाँ ४९ पैसा मात्र खर्च भएको छ । चालूतर्फ कुल विनियोजन भएको ९२ प्रतिशत मात्र खर्च भएर कुल ६५ करोड दुई लाख २१ हजार ९७ रुपैयाँ ५१ पैसा फिर्ता भएको जिल्ला समन्वय समिति, बागलुङका प्रमुख अमरबहादुर थापाले जानकारी दिए । 

संघीय बजेटबाट पुँजीगततर्फ दुई अर्ब पाँच करोड पाँच लाख २७ हजार तीन सय ४० रुपैयाँ विनियोजन भएकोमा एक अर्ब ६९ करोड ३९ लाख ४९ हजार एक सय ४१ रुपैयाँ खर्च भएको छ । यसमा कुल रकमको ८३ प्रतिशत रकम खर्च भएर ३५ करोड ६५ लाख ७८ हजार एक सय ९८ रुपैयाँ रकम फिर्ता भएको छ । 

यसरी संघीय बजेटबाट प्राप्त कुल १० अर्ब २८ करोड ६१ लाख २६ हजार तीन सय ८५ मध्ये नौ अर्ब २७ करोड ९३ लाख २७ हजार ८८ रुपैयाँ खर्च भएको छ । संघीय सरकारबाट निकासा भएको बजेटमा एक अर्ब ६७ लाख ९९ हजार दुई सय ९६ रुपैयाँ रकम फिर्ता भएको हो । त्यसैगरी, प्रदेशबाट दुई अर्ब १९ करोड २४ लाख ५५ हजार विनियोजन भएकामा एक अर्ब ८६ करो १२ लाख दुई सय २७ रुपैयाँ खर्च भएको छ ।

स्थानीय तहको खर्च प्रगति 
गत आवमा सबैभन्दा ठुलो स्थानीय तह बागलुङ नगरपालिकाले ९४ प्रतिशत भौतिक प्रगति र ७७ प्रतिशत योजना तथा कार्यक्रमको वित्तीय प्रगति गरेको छ । जैमिनी नगरपालिकाले ९३ प्रतिशत भौतिक प्रगति तथा पुँजीगतमा ६३.१२ प्रतिशत र चालूतर्फ ८९.८८ प्रतिशत वित्तीय प्रगति गरेको जिल्ला समन्वय समिति बागलुङका समन्वय अधिकारी कृष्णराज गौतमले जानकारी दिए । 

गत आवमा गलकोट नगरपालिकाले ८३ प्रतिशत, काठेखोला गाउँपालिकाले ८९.२७ प्रतिशत, बरेङ गाउँपालिकाले ९४.३९ प्रतिशत भौतिक प्रगति गरेका छन् ।  

राष्ट्रिय गौरवका आयोजनाको प्रगति 
जिल्लामा राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालित कालीगण्डकी कारिडोर सडक योजनाले ७९.८६ प्रतिशत भौतिक प्रगति, पुँजीगततर्फ ९३.५७ प्रतिशत र चालूतर्फ ९८.४४ प्रतिशत प्रगति हासिल गरेको जिल्ला समन्वय समितिले जनाएको छ । त्यस्तै, सालझन्डी ढोरपाटन सडक आयोजनाको भौतिक प्रगति शतप्रतिशत छ भने चालूतर्फ ८४.९ प्रतिशत र पुँजीगततर्फ ९९ प्रतिशत प्रगति गरेको छ । 

See More On

सुझावित समाचार