सेनालाई दुई अमेरिकी जहाज उपहार, थप दुई वेल हेलिकोप्टर दिने

शुक्रबार, २० भदौ, २०८२
डिजिटल संस्करण

अमेरिकाले नेपाली सेनालाई तीन करोड ७० लाख अमेरिकी डलर (करिब सवा पाँच अर्ब रुपैयाँ)बराबरको विदेशी सैन्य वित्तपोषण (एफएमएफ) अनुदानमार्फत दुईवटा नयाँ एम–२८ स्काई ट्रक जहाज उपहार दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आयोजित एक समारोहमा अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानसेनापति अशोकराज सिग्देललाई जहाज हस्तान्तरण गरेका हुन् । अमेरिकी सेनाले नेपाली सेनालाई थप दुईवटा वेल हेलिकोप्टर पनि दिने भएको छ । 

हस्तान्तरण गरिएका दुईमध्ये एउटा स्काई ट्रक एयर एम्बुलेन्स हो । दुई सैनिक जहाज सैनिक प्रयोजनलगायत विपत् व्यवस्थापन र आपत्कालीन उद्धारका लागि प्रयोग हुने सैनिक प्रवक्ता सहायक रथी राजेन्द्र बस्नेतले जानकारी दिए ।

परराष्ट्रमन्त्री आरजु राणा देउवा, रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति अशोकराज सिग्देल, अमेरिकी विदेश मन्त्रालयको सुरक्षा सहायतासम्बन्धी प्रमुख उपनिर्देशक मेरी ए आर्चर र विमान निर्माता कम्पनी पिजेडएल मिएलेकका प्रतिनिधि सहभागी थिए । 

नेपालमा अब स्काई ट्रक विमानको संख्या पाँच पुगेको छ । यसअघि पनि अमेरिकाले सन् २०१९ मा दुईवटा जहाज दिएको थियो । एउटा जहाज नेपालले आफैँ खरिद गरेको थियो । यी विमान सुरक्षा र विपत् प्रतिकार्यको सुदृढीकरणका लागि नेपाली सेनाले प्रयोग गर्नेछ । 

परराष्ट्रमन्त्री राणाले सेनाको मध्य एयरबेसमा आयोजित कार्यक्रममा अमेरिकी सहयोगका विमानहरू सेनाको विपत् प्रतिकार्य क्षमता वृद्धिका लागि मात्र नभई नेपाल र अमेरिकाबिचको चिरस्थायी मित्रता र सहयोगको प्रतीकका रूपमा पनि महत्वपूर्ण रहेको बताइन् । ‘अमेरिका नेपालको एक स्थायी विकास साझेदार र भरपर्दो मित्र रहिआएको छ, जसले हामीलाई शासन सञ्चालन, मानवीय सहायता, विपत् प्रतिकार्य, शान्ति स्थापना र क्षमता निर्माणमा सहयोग गर्दै आएको छ,’ उनले भनिन् ।

अमेरिकी राजदूत थम्प्सनले यो सहयोगले दुई देशबीच बृहत्तर सुरक्षा सहकार्यको केवल एउटा सानो हिस्सालाई प्रतिनिधित्व गर्ने बताए । ‘यी विमानहरू यन्त्र मात्र होइनन्, यी त जीवनरेखा हुन् । यिनले देशको कुनै पनि कुनाको आपत्कालीन अवस्थामा अझ छिटो र प्रभावकारी रूपमा प्रतिक्रिया जनाउन नेपाललाई मद्दत गर्नेछन्,’ उनले भने । दुई सेनाबिच प्रशिक्षण, आदानप्रदान, उपकरण हस्तान्तरण र योजना निर्माणलगायत हुँदै आएको पनि उनले बताए । नेपाललाई अझ उत्थानशील, सक्षम र सुरक्षित बनाउन अमेरिकी सहयोग जारी रहने राजदूत थम्प्सनले बताए । नेपाली सेनाका लागि थप दुईवटा वेल हेलिकोप्टर पनि दिन लागिएको राजदूतले जानकारी दिए ।

लकहिड मार्टिन नामक कम्पनीको पोलिस सहायक कम्पनी पिजेडएल मिएलेकद्वारा निर्मित यी विमान नेपालको चुनौतीपूर्ण भौगोलिक अवस्थाका निम्ति विशेष रूपमा उपयुक्त रहेको बताइएको छ । ‘सर्ट टेकअफ एन्ड ल्यान्डिङ क्षमताका कारण यी विमानलाई दुर्गम र विषम धावनमार्गमा सञ्चालन गर्न सकिन्छ । आज प्रदान गरिएका विमानमध्ये एउटा एअर एम्बुलेन्स हो, जुन बिरामी तथा घाइतेको उद्धार र स्ट्रेचरमार्फत गरिने ओसारपसारका निम्ति सुसज्जित छ,’ अमेरिकी दूतावासले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘यी विमानले नेपाली सेनाको विपत् प्रतिकार्य, घाइते उद्धार र मानवीय सहायता कार्यसम्बन्धी क्षमता सुदृढ गरी मानव जीवन जोगाउन देशभर सहयोग पुर्याउनेछन् ।’ 
 

सुझावित समाचार