बागमतीका ९६ हजारभन्दा बढी गाई–भैँसीलाई लगाइयो लम्पी स्किनविरुद्ध खोप

बुधबार, १८ भदौ, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशमा लम्पी स्किन रोग नियन्त्रणका लागि सञ्चालन गरिएको सप्ताहव्यापी खोप अभियानअन्तर्गत हालसम्म ९६ हजार ३४७ वटा गाई तथा भैँसीलाई खोप लगाइएको छ । गाई-भैँसीमा छालामा गाँठा वा फोका देखिनु, उच्च ज्वरो आउनु, दुध उत्पादनमा गिरावट आउनु, शरीर सुन्निनु र जनावर अशक्त देखिनेजस्ता लक्षण देखिने यो रोग पछिल्लो समय चितवनमा तीव्र रूपमा फैलिएको छ । यसको जोखिम न्यूनीकरणका लागि अभियान ललितपुरबाट सुरु गरी क्रमशः अन्य १३ जिल्लामा विस्तार गरिएको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलका अनुसार सिन्धुलीमा १० हजार ३२८, रामेछापमा चार हजार ४३७, काठमाडौंमा चार हजार ३५०, ललितपुरमा तीन हजार ६०६, भक्तपुरमा एक हजार ५४३, धादिङमा ६ हजार ५१ गाई-भैँसीमा खोप लगाइएको छ । यस्तै, काभ्रेपलाञ्चोकमा सात हजार ६९८, नुवाकोटमा सात हजार ७२४, रसुवामा तीन हजार ६३४, दोलखामा नाै हजार ९८२, सिन्धुपाल्चोकमा ६ हजार २८४, चितवनमा ६ हजार १५ र मकवानपुरमा सबैभन्दा बढी २४ हजार ६९५ गाई–भैँसीलाई खोप लगाइएको छ ।

मन्त्रालयकाे तथ्यांकअनुसार बागमती प्रदेशमा ६ लाख ९४ हजार २१७ गाई र पाँच लाख ४९ हजार १८२ भैँसी छन् । ती पशुहरूले वार्षिक चार लाख ८१ हजार ७७१ टन दुध उत्पादन गर्ने गर्छन् । चितवनमा मात्रै ९२ हजार २५६ गाई र ७२ हजार दुई सय भैँसी रहेको मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष ०८०/८१ मा प्रदेशभर लम्पी स्किन रोगका कारण ११ हजार २१८ गाई–भैँसीको मृत्यु भएको थियो । त्यस्तै, ३७ हजार ८९ संक्रमित भएका थिए भने दुई लाख ५६ हजार ७५९ पशु प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित भएका थिए । यसअघि नै दुई लाख ४५ हजार २२२ गाई–भैँसीलाई खोप लगाइसकिएको र अभियान अझै जारी रहेको मन्त्री पौडेलले बताए ।

सुझावित समाचार