बागमती सरकारले धुलो दुध कारखाना स्थापना गरेको दुई वर्षमा पनि बनेन सञ्चालन मोडालिटी

मंगलबार, १७ भदौ, २०८२
डिजिटल संस्करण
  • प्रदेश सरकारले ४७ करोड लागतमा स्थापना गरेको कारखानाको परीक्षणकालमै डिडिसीले ३९९ मेट्रिकटन धुलो दुध उत्पादन गर्‍यो

बागमती प्रदेश सरकारको करिब ४७ करोड लागतमा दुई वर्षअघि स्थापना गरेको धुलो दुध कारखाना सञ्चालनको मोडालिटी अझै बन्न सकेको छैन । प्रदेश दुग्ध विकास बोर्डले सञ्चालनको कार्ययोजना तथा मोडालिटी तय गर्न नसक्दा करिब डेढ वर्षयता कारखाना परीक्षणका रूपमा मात्रै सञ्चालन हुँदै आएको छ ।

०७७ मा निर्माण सुरु भई ०८० मंसिरबाट परीक्षण उत्पादन गरेको उद्योग कार्यविधि नबन्दा आधिकारिक रूपमा सञ्चालन हुन नसकेको हो । प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले उद्योग सञ्चालनको कार्यविधि तयार गर्न सकेको छैन ।

विगत डेढ वर्षदेखि दुग्ध विकास संस्थान (डिडिसी)ले परीक्षणका रूपमा कारखाना सञ्चालन गर्दै आएको छ । यद्यपि, डिडिसीलाई कारखाना सञ्चालन गर्न दिने विषयमा मन्त्रालय र बोर्डले कुनै औपचारिक निर्णय गरेका छैनन् । सामान्य लिखित सहमतिका भरमा काम भइरहेको कर्मचारीहरू बताउँछन् । कारखाना सञ्चालनका लागि कार्यविधि निर्माणको काम अन्तिम तयारीमा पुगेको प्रदेश दुग्ध विकास बोर्ड, हेटौँडाका निर्देशक डा. रामप्रकाश श्रेष्ठको भनाइ छ । हाल कारखाना डिडिसीले परीक्षण सञ्चालन गरिरहेको भए पनि कारखानामा केही संरचना थप गरेर प्रतिस्पर्धाका आधारमा विभिन्न संघ–संस्थालाई भाडामा दिने प्रदेश दुग्ध विकास बोर्ड, हेटौँडाका निर्देशक डा. रामप्रकाश श्रेष्ठले बताए ।

‘कारखाना सञ्चालन गर्न कसलाई दिने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । प्रतिस्पर्धात्मक आधारमा कारखाना भाडामा दिने हाम्रो तयारी हो,’ उनले भने, ‘झन्डै आधा अर्ब लगानीमा बनेको यो कारखानाको सञ्चालन कार्यविधि नबन्दा सबैतिर आलोचना भएको छ । कारखाना चलाउन चाहने संस्थालाई लिजमा दिनका लागि गत वर्ष अध्ययन भइसकेको छ, अब ढिला हुँदैन । कार्यविधि अन्तिम चरणमा पुगेको छ ।’

नयाँ मन्त्रीका प्राथमिकतामा पर्ला ?
प्रदेश सरकारको लगानी रहेको कारखाना निर्माण सुरु भएको पाँच वर्ष हुन लाग्दासमेत कारखाना सञ्चालनको मोडालिटीसमेत बनाउन नसकेको भन्दै आलोचना भइरहेको छ । तर, हालै सरकार परिवर्तनपछि मन्त्रालयको जिम्मेवारीमा पाएका बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री मधुसुदन पौडेलले धुलो दुध कारखाना आफ्नो प्राथमिकतामा रहेको बताए ।

‘मन्त्रालयको जिम्मेवारी सम्हालेको महिनादिनमै यो कारखाना सबैभन्दा ठुलो चुनौतीका रूपमा देखेँ । परीक्षणका लागि डिडिसीले चलाइरहेको छ, तर अब यसलाई औपचारिक मोडालिटी बनाएर सञ्चालन गर्ने तयारी छ,’ उनले भने, ‘डिडिसीलाई दिने कि अन्य संस्थालाई भन्ने विषयमा छलफल भइरहेको छ ।’

तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले १६ पुस ०७७ मा शिलान्यास गरेको कारखाना निर्माण सम्पन्न भएपछि परीक्षण उत्पादनका लागि डेढ वर्षअघि दुग्ध विकास संस्थान (डिडिसी)लाई जिम्मा दिइएको थियो । डेढ वर्षदेखि परीक्षण उत्पादन गर्दै आएको कारखानाले परीक्षणकालमै तीन सय ९९ मेट्रिकटन धुलो दुध उत्पादन गरेको छ । डिडिसी, हेटौँडाका निमित्त आयोजना प्रमुख अञ्जन अधिकारीले हालसम्म ४४ लाख लिटर दुध प्रशोधन गरी तीन सय ९९ मेट्रिकटन धुलो दुध र दुई सय मेट्रिकटन बटर उत्पादन गरेको जानकारी दिए । 

‘हालसम्म ११ लाख लिटर दुध सहकारी तथा निजी संस्थाबाट संकलन गरिएको छ भने ३३ लाख लिटर दुध संस्थानकै संकलनबाट प्रशोधन गरिएको हो । उत्पादन सफल भएको छ, प्राविधिक रूपमा कुनै ठुलो समस्या देखिएको छैन,’ उनले भने । आयोजना प्रमुख अधिकारीका अनुसार परीक्षणकालमै कारखाना राम्रोसँग चलेको छ, तर भण्डारण र प्याकेजिङ कक्ष, जेनेरेटरजस्ता संरचना थप्नुपर्ने आवश्यकता छ ।

बोर्डका उपाध्यक्ष हरिप्रसाद पौडेल भन्छन्– कारखाना नचल्दै किसानलाई फाइदा
किसानलाई ‘मिल्क होलिडे’मा दुध खेर जान नदिने उद्देश्यले कारखाना बनाइएको हो । धुलो दुध कारखाना जति कम चल्यो, किसानका लागि त्यति नै फाइदा हुन्छ । सरकारले झन्डै आधा अर्ब लगानी गरेर निर्माण गरेको कारखाना चलेन भनेर चिन्ता गर्नु उचित हुँदैन । धुलो दुध कारखाना जति कम चल्यो, त्यो किसानका लागि राम्रो हो । किनकि, यसले किसानको दुध सहजै बजार पुगेको छ भन्ने अर्थ हुन्छ । कारखाना बढी चल्नु भनेको बजारमा समस्या छ भन्ने संकेत हो ।

See More On

सुझावित समाचार