आम्दानीको मुख्य स्रोत बन्यो सिलाइकटाइ सिप

जुनाले सिलाइकटाईबाट आम्दानी गर्न थालेपछि श्रीमानलाई लोकसेवा पढाउन थालिन्

बिहिबार, १२ भदौ, २०८२
डिजिटल संस्करण

तिला गाउँपालिका– ८, पुरु गाउँकी २४ वर्षीया जुना रावत गाउँघरमा बसोबास गर्ने सामान्य महिला हुन् । सिलाइकटाइ सिप सिक्नुभन्दा पहिला गाउँघरमा मेलापात गर्दै दिन बिताउने गर्दथिन् । अहिले उनको सिलाइकटाइ सिप आम्दानीको मुख्य स्रोत बनेको छ ।  उनले तीन महिनाको सिलाइकटाइ तालिम र ४५ दिने एडभान्स सिलाइकटाइ तालिम लिएकी हुन्। त्यो दुई किसिमको तालिमले उनलाई सिलाइकटाइ कार्यमा व्यावसायिक बनायो । अहिले गाउँमै सिलाइकटाइको पसल थापेर बसेकी छिन् । उनले सानै उमेरमा विवाह गरेर उच्च शिक्षासम्म पढ्न पाइनन् । सानै उमेरमा विवाह भएपछि बालबच्चा जन्मिए । घरमा पढ्ने–लेख्ने वातावरण भएन । उनका पाँच वर्षमुनिका दुई बच्चा छन्।

घरपरिवार भइसकेपछि उनले आयआर्जनको स्रोत खोजी गर्न थालेकी थिइन् । त्यही वेला वर्ल्डभिजन र किर्डाक नेपाल जुम्लाले तीनमहिने आधारभूत सिलाइकटाइको तालिम सञ्चालन गर्ने तयारी गरेको थियो । त्यो तालिममा उनी समावेश भइन् । तीन महिनाको सिलाइकटाइ तालिम सफलतापूर्वक सम्पन्न गरिन् । त्यसपछि उनी पुनः ४५ दिने सिलाइकटाइको एडभान्स तालिममा छनाेट भइन् । त्यो तालिमबाट उनी महिलाले लगाउने विभिन्न प्रकारका कुर्था, सुरुवाल, चोलो, पेटिकोट, बच्चाहरूका कपडा पूर्ण रूपमा सिलाउन सक्ने भइन् । 

सिलाइकटाइको सिप सिकेपछि उनले गाउँमै पसल सञ्चालन गर्ने योजना बनाइन् । तर, उनीसँग सिलाइकटाइको मेसिन भने थिएन । आफूसँग मेसिन नभए पनि भाडामा मेसिन ल्याएर पसल सञ्चालन गरिन् । डेढ वर्षसम्म उनले भाडाकै मेसिन प्रयोग गरेर भए पनि पसल सञ्चालन गरिन् । गाउँका छिमेकीले नियमित उनकै पसलमा कपडा सिलाउन ल्याउन थाले। पसल पनि राम्रो चल्न थाल्यो । आम्दानी पनि राम्रै हुन थाल्यो । 

सिलाइकटाइको पसल राम्रो चलेर मासिक १५–२० हजार आम्दानी हुन थालेपछि वर्ल्डभिजन र किर्डाक नेपालले उनलाई सिलाइकटाइको मेसिन पनि दिए । उनले मेसिन प्राप्त गरेपछि अहिले भाडाको मेसिन प्रयोग गर्नुपरेको छैन । उनका सासूससुरा, देवरसहित आठजनाको घरपरिवार रहेको छ । 

घरको आम्दानीको स्रोत राम्रो भएपछि उनका (जुना) श्रीमान् तीर्थबहादुर बस्नेत सुर्खेतमा लोकसेवा आयोग तयारी गर्दै आएका छन् । खरिदार, नायव सुब्बाको परीक्षा दिनका लागि लोकसेवा आयोगको तयारी गरेका हुन् । 

सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगमा वर्षमा धेरै महिला तथा पुरुषले व्यावसायिक रूपमा सिप सिक्नका लागि तालिम लिने गर्दछन् । जुनाजस्ता व्यक्तिले सिप सिकेर व्यावसायिक बन्ने भने कमै देखिने गरेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख मन्दिरनाथ योगी बताउँछन् । उनले भने, ‘हाम्रो कार्यालयले पनि धेरैलाई यस्ता व्यावसायिक रूपमा उद्यमी बनाउने तालिम दियौँ । तर, औँलामा गन्न सकिने थोरै व्यक्ति मात्रै व्यावसायिक बनेको देखिन्छ ।’
  

सुझावित समाचार