रोनाल्डोले बनाए नयाँ रेकर्ड

भिन्दाभिन्दै चार क्लबबाट सय गोल गर्ने रोनाल्डो विश्वकै पहिलो खेलाडी

सोमबार, ९ भदौ, २०८२
डिजिटल संस्करण

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा अर्को कीर्तिमान बनाएका छन् । रोनाल्डो विभिन्न चार क्लबबाट सय गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन् । साउदी प्रो लिग अल नासरमा आबद्ध रोनाल्डोले शनिबार राति साउदी अरेबियाको सुपर कपको फाइनलको पहिलो हाफमा एक गोल गरेका थिए । यो गोलसँगै अल नासरबाट उनले सबैखाले प्रतियोगितामा गरी सय गोल गरे । सुपर कपको फाइनलमा अल नासर र अल अहलीबिच निर्धारित समय २–२ को बराबरी भएको थियो ।

जसमा रोनाल्डोले पहिलो हाफमा गोल गरेका थिए । अल नासर टाइब्रेकरमा ५–३ ले पराजित भयो । अल नासर सुपर कपको उपाधिविमुख बन्यो । सन् २०२२ मा रोनाल्डोले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेर अल नासरसँग सम्झौता गरेका थिए । 

फुटबल करिअरमा उनी पहिलोपटक युरोपियन लिगबाहिर आबद्ध भएका थिए । दुई दशक लामो फुटबल करिअरमा रोनाल्डोले म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्ट्सजस्ता विश्वप्रसिद्ध क्लबबाट प्रतिस्पर्धा गरेका छन् । यसक्रममा उनले म्यानचेस्टरबाट १४५ र युभेन्टसबाट १०१ गोल गरेका छन् । म्याड्रिडमा आठ वर्ष बिताएका रोनाल्डोले सर्वाधिक ४५० गोल गरेका थिए । 

रोनाल्डोले तीन फरक क्लबका लागि सय गोल गर्ने ब्राजिलका स्टार खेलाडी रोमारियो र नेमारलाई पछि पारेका छन् । 
रोनाल्डो राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन् । पोर्चुगलका लागि १३८ गोल गरेका रोनाल्डोको नाममा राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने अर्को विश्व कीर्तिमान छ । उनले अल नासरबाट ११३ खेलमा सय गोल संख्या पुर्याएका हुन् । 

म्याड्रिडबाट १६ उपाधि 
रोनाल्डोको करिअरमा सबैभन्दा सफल क्लब रियल म्याड्रिड हो । स्पेनिस क्लब म्याड्रिडमा कीर्तिमानी रकममा अनुबन्ध भएका रोनाल्डोले आठ वर्षभित्र १६ उपाधि जितेका थिए । यसक्रममा उनी म्याड्रिडकै सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । उनले म्याड्रिडबाट चारपटक युरोपियन च्याम्पियन्स लिग जितेका थिए । म्याड्रिडबाट उनले च्याम्पियन्स लिगमा सर्वाधिक गोल संख्या पनि राखेका छन् । अहिले रोनाल्डो फुटबल इतिहासमा हजार गोल गर्ने अभियानमा छन् । 

सुझावित समाचार