वीरगन्जमा हैजा संक्रमण थप फैलिँदै : ७८ जनामा पुष्टि, नौजना आइसियूमा

सोमबार, ९ भदौ, २०८२
डिजिटल संस्करण

वीरगन्जमा हैजाको संक्रमण झनै बढिरहेको छ । आइतबार थप ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । शनिबार रातिसम्म ४२ संक्रमित रहेकामा ७८ पुगेका स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए ।हैजा संक्रमण पुष्टि भएका सबै वीरगन्ज महानगरपालिका– ३, ८, ११, १२, १३, १४ र १६ नम्बर वडाका हुन् । ठाकुरका अनुसार हैजा संक्रमण पुष्टि भएका ७८ सहित १३४ जना उपचाररत छन् । तीमध्ये नौजनाको आइसियूमा उपचार भइरहेको छ । 

ठाकुरका अनुसार नारायणी अस्पतालमा २६, तराई हस्पिटलमा २५, नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नौ, भवानी अस्पतालमा तीन तथा वीरगन्ज हेल्थकेयर हस्पिटल, अलि अर्थो ट्रमा सेन्टर, नारायणी सेन्ट्रल अस्पताल र मंगलम डाइग्नोसिस सेन्टरमा दुई–दुईजना उपचाररत छन् । ‘झाडापखाला, पेट दुखेका बिरामी थपिने क्रम जारी छ,’ उनले भने । 

वीरगन्जमा हैजा र झाडापखालाका बिरामीको संख्या बढ्दो छ । ठाकुरका अनुसार नाला र ढलको दूषित पानीबाट हैजाको संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ । यकिन कारण पत्ता लगाउन ११ स्थानको खानेपानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ । हैजाका बिरामी भेटिएका टोलबाट संकलन गरिएको खानेपानीको नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको हो ।

प्रभावित क्षेत्रका घरहरूमा आपूर्ति भइरहेको नेपाल खानेपानी संस्थान र डिप बोरिङको धाराबाट पानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत ठाकुरले बताए । काठमाडौंको प्रयोगशालाबाट त्यसको रिपोर्ट सोमबार आउने सम्भावना रहेको उनले बताए ।

त्यस्तै, वीरगन्ज महानगरपालिकाले नालाहरूमा रहेका खानेपानी संस्थान र डिप बोरिङका पाइप नालाबाट झिकेर त्यसको व्यवस्थापनको काम पनि थालेको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले बताए । सबैभन्दा बढी प्रभावित क्षेत्र वडा नम्बर १२ मा आइतबार पाइप झिकिएको र सोमबारदेखि अन्य वडामा पनि त्यसलाई निरन्तरता दिइने उनले बताए । यसका अतिरिक्त प्रभावित क्षेत्रहरूमा जनचेतना फैलाउन महानगरले २६ वटा टोली गठन गरेर परिचालन गरिएको छ ।

समुदायस्तरमा हैजा फैलिएपछि मधेश प्रदेश सरकारले औषधि र स्वास्थ्य सामग्री नारायणी अस्पतालमा पठाएको छ । झाडापखाला र हैजाका बिरामीको उपचारमा आवश्यक पर्ने १७ प्रकारका औषधि र सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत नारायणी अस्पताललाई प्रदान गरिएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले बताए । महामारी रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पर्साले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको उनले बताए ।

सुझावित समाचार