अछामका तीन स्थानीय तहमा कानुनी घुम्ती शिविर सुरु

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण
अछामका तीन स्थानीय तहमा कानुनी घुम्ती शिविर सुरु

कमलबजारमा आयोजित घुम्ती शिविरमा सहभागी सेवाग्राहीहरू

अछाममा महिला र सीमान्तकृत समुदायको न्यायमा पहुँच विस्तार गर्न कानुनी घुम्ती शिविर सुरु गरिएको छ । दुई नगरपालिका र एक गाउँपालिकाका १९ वडामा यो शिविर सञ्चालन गर्न लागिएको हो ।

पहिलो शिविर कमलबजार नगरपालिकामा सुरु भइसकेको छ । यो नगरका वडा नम्बर ३, ४, ५, ६, ७, ८ र ९ मा शिविर सञ्चालन गरिनेछ । यस्तै, मंगलसेन नगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ तथा ढकारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ मा शिविर सञ्चालन गरेर पिछडिएका समुदायको न्यायमा पहुँच विस्तार गर्ने लक्ष्य रहेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का अछाम सम्पर्क व्यक्ति तपेन्द्र ठकुल्लाले जानकारी दिए ।

उनका अनुसार १६ जुलाई २०२५ देखि नोभेम्बरसम्ममा तीनवटै पालिकाका १९ वटै वडाका महिला र सीमान्तकृत समुदायका लागि शिविर सञ्चालन गरेर उनीहरूको न्यायमा पहुँच विस्तार गरिनेछ। परीक्षणका रूपमा कमलबजारमा आयोजना गरिएको पहिलो शिविरमा मानसिक समस्या भएकाहरू, नागरिकताविहीनहरू, बहुविवाह र अपांगतासम्बन्धी २३ जनाले सेवा लिएका छन्। उनीहरूलाई जिल्ला बार इकाइ अछामका अध्यक्ष तथा अधिवक्ता खड्गबहादुर खड्काले कानुनी सल्लाह दिएका थिए । उनका अनुसार १० जना मानसिक समस्या भएकाहरू, तीनजना नागरिकताविहीन, आठजना बहुविवाह र दुई अपांगता भएका सेवाग्राहीलाई उनीहरूका समस्या सुनेर त्यसअनुसारको कानुनी उपचारका उपायबारे परामर्श गरिएको छ । समस्या ल्याएर आउने २३ जनामध्ये करिब ९० प्रतिशत महिला रहेको अधिवक्ता खड्काले बताए । 

निःशुल्क रूपमा सञ्चालन भइरहेको यो शिविरमा विपन्न परिवारका व्यक्तिका लागि बाटो खर्च र खानपिनको समेत व्यवस्था मिलाइएकाे छ । गरिबीकै कारण कानुनी पहुँचबाट कोही पनि वञ्चित हुनु नपरोस् भनेर घुम्ती सेवा आयोजना गरिएको हो। शिविरसम्म आउन नसक्नेहरूका लागि टोलफ्री नम्बरमार्फत गुनासो सुन्ने व्यवस्था मिलाइनुका साथै घरदैलोसम्मै भेट्न जाने प्रबन्ध मिलाइएको महिला र सीमान्तकृत समूहको न्यायमा पहुँच परियोजनाका सम्पर्क व्यक्ति ठकुल्लाले बताए । उनका अनुसार त्यसका लागी मंगलसेन, कमलबजार र ढकारीमा सम्बन्धित स्थानीय तहहरूमा टोलफ्री नम्बरसमेत सञ्चालनमा ल्याइएको छ।  

सुझावित समाचार