ताप्लेजुङमा एमाले नेतामाथिको आक्रमणप्रति सांसद भट्टराईको विरोध, दोषीलाई कारबाहीको माग

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

ताप्लेजुङमा नेकपा (एमाले) का जिल्ला सदस्य तथा आठराई त्रिवेणी गाउँपालिका– २, फूलबारीका वडाध्यक्ष टेकेन्द्र सेन्दाङमाथि भएको सांघातिक आक्रमणप्रति एमाले केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले कडा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभा सदस्य भट्टराईले आक्रमणमा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कानुनी दायरामा ल्याउन गृहमन्त्री रमेश लेखकलाई पत्रमार्फत माग गरेका हुन् । उनले गुन्डागर्दी र अराजक गतिविधि कुनै हालतमा सह्य नहुने चेतावनी दिँदै, यस्तो किसिमको आपराधिक प्रवृत्ति नियन्त्रण गर्न गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

सांसद भट्टराईले आक्रमणमा घाइते भएका वडाध्यक्ष सेन्दाङको तत्काल र प्रभावकारी उपचारको माग गर्दै आवश्यक स्वास्थ्य व्यवस्थाको सुनिश्चितता गर्न सरकारलाई आग्रह गरेका छन् । साथै उनले नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई पनि घटनाबारे जानकारी गराएका छन् । 

एता, एमाले ताप्लेजुङले घटनाको भर्त्सना गर्दै आइतबार जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेको छ ।  सो अवसरमा एमाले ताप्लेजुङले सेन्दाङमाथिको आक्रमणलाई योजनाबद्ध आपराधिक कार्यको संज्ञा दिएको छ । पार्टीका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमूले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई तुरुन्त पक्राउ गरी कारबाही नगरिए शान्ति सुव्यवस्था कायम राख्न र बढ्दो अराजकताविरुद्ध पार्टी प्रतिकारमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएका छन् । 

एमाले ताप्लेजुङअन्तर्गत रहेका विभिन्न पालिकास्तरीय कमिटीहरूले समेत वडाध्यक्ष सेन्दाङमाथिको आक्रमणको घोर निन्दा गरेका छन् । फुङलिङ नगर कमिटी, फक्ताङलुङ गाउँपालिका, पाथीभरा याङवरक गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मैवाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका, सिरिजंघा र सिदिङ्वा गाउँपालिकाका कमिटीहरूले दोषी पहिचान गरी कारबाहीको माग गर्दै संयुक्त रूपमा आक्रोश व्यक्त गरेका छन् ।

त्यस्तै, अखिल नेपाल महिला संघ अध्यक्ष रनमाया गुरुङ र राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष मानिक तुम्बाहाम्फेसहितका जनवर्गीय संगठनहरूले समेत घटनाको भर्त्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । ती संगठनहरूले अराजक गतिविधिविरुद्ध कुनै पनि तहमा कठोर कदम चाल्न तयार रहेको जनाएका छन् ।

एमाले ताप्लेजुङको भनाइअनुसार, जिल्ला कमिटीको बैठक सकेर घर फर्कन लाग्दा तोक्मेडाँडा क्षेत्रमा सेन्दाङ र एमाले जिल्ला सदस्य मनकुमार तेङबुङमाथि पाँचदेखि सातजनाको समूहले पूर्वनियोजित तरिकाले आक्रमण गरेकाे थियाे ।
यो घटनामा गम्भीर घाइते भएका सेन्दाङको प्रारम्भिक उपचार ताप्लेजुङ जिल्ला अस्पतालमा भएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि झापास्थित बी एन्ड सी अस्पतालमा रिफर गरिएको बताइएको छ ।
 

See More On

सुझावित समाचार