- देशको भविष्यलाई लिएर अभिजात वर्गबिचको बेमेलले रुसी एकतालाई कमजोर पार्न सक्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चिन्ता
रुसको आर्थिक अवस्था जर्जर हुँदै जाँदा र युक्रेनी प्रतिरक्षा कायमै रहँदा मस्कोका सम्भ्रान्त गुट अनिश्चित भविष्यमा आफ्नो स्थान बनाउन तत्पर छन् । उनीहरूको लक्ष्य दुईतर्फी छ– युद्धको समयमा प्राप्त नाफा र विशेषाधिकारको रक्षा गर्नु र यसको बढ्दो मानवीय तथा वित्तीय लागतको दोष अन्यत्र मोड्नु ।
देशको भविष्यलाई लिएर अभिजात वर्गको बेमेल र चिन्ताले रुसी शासनको एकतालाई कमजोर पार्न सक्नेमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन समस्यामा छन् । यस प्रवृत्तिको प्रतिरोध गर्न क्रेमलिनले राष्ट्रिय सुरक्षाको झण्डामुनि सम्पत्ति पुनर्वितरणका लागि अभूतपूर्व कानुनी संयन्त्र प्रस्तुत गरेको छ । संयन्त्रमा न्यूनतम अविश्वासदेखि कम सक्षम, तर पुटिनको स्पष्ट रूपमा समर्थन गर्ने व्यक्तिको संलग्नता छ । यसले अभिजात वर्गलाई रुसी शैलीको कैदीको द्विविधामा पार्छ, जसमा सबैभन्दा सुरक्षित रणनीति भनेको द्वन्द्वबाट बच्न मौन प्रतिद्वन्द्वीलाई कमजोर पार्दै अतिरञ्जित बफादारी प्रदर्शन गर्नु हो ।
संयुक्त राज्य अमेरिकाको दृष्टिकोणबाट चुनौती भनेको यी गतिशीलता रुस–युक्रेन युद्ध अन्त्य गर्न बाधा नबनोस् भन्ने कुरा सुनिश्चित गर्नु हो । त्यसो गर्न अमेरिकी नीतिले रुसी सरकार र औद्योगिक नेतृत्वलाई युद्धको लागत र अन्तत: समाधानबारे निरन्तर चिन्तित बनाउनुपर्छ । नीति–निर्माताले आक्रमणका लागि जवाफदेहिता सामूहिक वा अन्धाधुन्धभन्दा पनि लक्षित हुनेछ भन्ने संकेत दिनुपर्छ । युद्धका शिल्पकारले प्रतिबन्धको सामना गरिरहनुपर्छ भने युद्ध प्रयासलाई सार्वजनिक रूपमा समर्थन नगर्ने अभिजात वर्गलाई थप क्षमाशील व्यवहारको अपेक्षा गर्न प्रेरित गर्नुपर्छ ।
पुटिनले २०२२ मा पूर्णस्तरीय आक्रमण सुरु गरेर युक्रेनलाई आफ्नो दशकौँ लामो शासनको मुकुट बनाउन खोजे । तर, अब प्रणालीले उनलाई उक्त कार्यको परिणामबाट जोगाउनुपर्छ । रुसी शासक वर्गभित्र यो खुला रहस्य हो कि युद्धले अचम्मलाग्दो मूल्य चुकाउनु परेको छ । यद्यपि, रुसी सरकारले अब हताहतको तथ्यांक खुलासा गर्दैन । बिबिसी र मिडियाजोनाको स्वतन्त्र अनुमानअनुसार युद्धका कारण जुलाईको अन्त्यसम्ममा कम्तीमा एक लाख ६५ हजार रुसी सैैनिक मारिएका थिए । खुफिया प्लेटफर्म ओरिक्सले युक्रेनी ड्रोन आक्रमण र पश्चिमी प्रतिबन्धबाट अर्बौंको क्षतिसँगै २२ हजारभन्दा बढी रुसी सैन्य सवारी साधन र उपकरणको क्षतिको दस्ताबेजीकरण गरेको छ ।
रुसको क्षतिको मात्राका लागि अन्तत: कसैले न कसैले राजनीतिक जिम्मेवारी वहन गर्नुपर्नेछ । लोकतान्त्रिक प्रणालीमा रुसका सर्वोच्च कमान्डर पुटिन र युक्रेन नीतिका प्रमुख वास्तुकार स्पष्ट हुनुपर्छ । तर, रुसमा यो प्रणाली उनलाई बचाउनका लागि डिजाइन गरिएको हो ।
दोषारोपणका संकेत पहिल्यै नै देखिन थालेका छन् । सन् २०२४ मा उच्चपदस्थ रुसी अधिकारीविरुद्ध लगभग १२२ वटा आपराधिक मुद्दा लगाइएको थियो । भ्रष्टाचारको आशंकामा जनवरीदेखि मध्य जुलाईको अवधिमा लगभग सयजनालाई पक्राउ गरिएको थियो । रक्षा मन्त्रालयका दर्जनौँ अधिकारी र सैन्य अधिकारी पनि पक्राउ गरिएको छ वा बर्खास्त गरिएको छ । तैपनि, पक्राउ परेका अधिकारी भाग्यमानी छन् । किनकि, उनीहरू युद्धबाट बच्न असफल भए ।
सन् २०२२ देखि रणनीतिक क्षेत्रसँग सम्बन्धित कम्तीमा २७ जना वरिष्ठ व्यावसायिक कार्यकारीको अस्पष्ट अवस्थामा मृत्यु भएको छ । हालसालै यातायातमन्त्री रोमन स्टारोभोइटको जुलाईमा आत्महत्या गरेर मृत्यु भएको रिपोर्ट गरिएको छ । तर, उनको मृत्यु रहस्यमय छ । केहीले यो कुस्र्क क्षेत्रमा भएको हिनामिना अनुसन्धानसँग सम्बन्धित हुन सक्ने शंका गर्छन् । स्टारोभोइट यातायात मन्त्रालयमा सामेल हुनअघि गभर्नर थिए । त्यसको केही समयपछि अर्का यातायात अधिकारी आन्द्रेई कोर्निचुकको अचानक हृदयाघातबाट मृत्यु भयो ।
सैन्य–औद्योगिक व्यवसायी, रक्षा क्षेत्रसँग सम्बन्धित नागरिक, व्यापारिक नेता, प्रमुख उत्पादन स्थल होस्ट गर्ने क्षेत्रीय गभर्नर र पश्चिमी सम्पत्तिको नियन्त्रण कब्जा गर्ने अभिजात वर्ग सबैले युद्धकालीन पुनर्वितरणबाट लाभ उठाएका छन् । धेरैले राज्या समर्थित युद्ध ऋणमा पहुँच सुरक्षित गरेका छन्, जबकि बृहत् अर्थतन्त्रले १८ देखि २१ प्रतिशतको ब्याजदर सामना गरिरहेको छ । अर्कोतर्फ पूर्वाधार परियोजनामा ढिलाइ भएको छ, अधिमान्य कर व्यवस्था फिर्ता लिइएका छन, र आवास निर्माणमा गिरावट आएको छ ।
सरकारप्रति बफादारी नहुनेलाई दण्डित गर्न सम्पत्तिको पुनर्वितरण पनि गरिएको छ । तथापि, यसबारे शंका पनि उठेको छ । सन् २०२२ देखि क्रेमलिनले रुसको जिडिपीको लगभग दुई प्रतिशतबराबरको सम्पत्ति राष्ट्रियकरण गरेको छ । त्यो भनेको करिब ४४९ अर्ब डलर हो । वकिलहरूले अब व्यापारिक नेतालाई दोहोरो नागरिकता त्याग्न, तथाकथित ‘मित्रहीन’ देशसँगको आर्थिक सम्बन्ध तोड्न र ‘राज्यउन्मुख साझेदार’लाई उनीहरूको स्वामित्व संरचनामा सहभागी हुन आमन्त्रित गरेका छन् । चेल्याबिन्स्क क्षेत्रको संसद्का उपसभामुख र पुटिनको संयुक्त रुस पार्टीका सदस्य कोन्स्टेन्टिन स्ट्रुकोभको मुद्दाले अर्को स्पष्ट संकेत पठाएको छ । अभियोजकले उनलाई रुसी र स्विस दोहोरो नागरिकता भएकी उनकी छोरी एलेक्जेन्ड्रा स्ट्रुकोभलाई सम्पत्ति हस्तान्तरण गरेको र विदेशमा पुँजी सारेको आरोप लगाए । केवल नौ दिनभित्र एक रुसी अदालतले उनको व्यवसायको पूर्ण राष्ट्रियकरणको आदेश दियो ।
यद्यपि, यो सोभियत शैलीको अधिग्रहणमा फर्कने कुरा होइन । रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभले स्पष्ट पारेका छन् कि स्ट्रुकोभको पहिलेको सम्पत्ति औपचारिक पुनर्बिक्रीमार्फत नयाँ मालिकलाई हस्तान्तरण गरिनेछ । रुसी अर्थतन्त्रले वृद्धिको नयाँ चालक फेला पार्न संघर्ष गरिरहेका वेला रणनीतिक सम्पत्ति बढी बफादार र राजनीतिक रूपमा विश्वसनीय मानिनेलाई पुन: विनियोजन गरिएको छ । रुसी सैनिकले अग्रपंक्तिमा संघर्ष गर्दा छानिएका टाइकुनहरूले यस पुनर्वितरणबाट लाभ उठाउन, क्रेमलिनसँग आफूलाई पंक्तिबद्ध गर्न र युद्धका प्रारम्भिक विजेताको रूपमा उदाउने स्थितिमा छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्न पुटिनलाई दिएको समयसीमाका बाबजुद युद्ध समाप्त हुन अझै केही समय लाग्न सक्छ । तैपनि, युद्धविरामको कुनै पनि सम्भावनले यी सबै प्रवृत्तिलाई तीव्र पार्ने सम्भावना छ । युद्धसँग सम्बन्धित नाफालाई सुदृढ पार्ने र सुरक्षित गर्ने प्रयाससँगै दोषारोपणको खेल निश्चित रूपमा चर्किनेछ । एकपटक पुटिनले युद्ध अन्त्य गर्नुपर्छ भन्ने निर्णय गरेपछि युद्धकालीन पक्षपातीबाट प्राप्त सम्पत्ति चाँडै दायित्व बन्न सक्छ्, जुन अन्य अभिजात वर्गका सदस्यले संकुचित अर्थतन्त्रअन्तर्गत पुन: प्राप्त गर्न चाहन्छन् ।
यसलाई मनन गर्दै वासिंटनले आर्थिक दबाबलाई कायम राखेर र रुसको पक्षमा हतारमा गरिएको शान्ति सम्झौतालाई बेवास्ता गरेर रुसी सम्भ्रान्त वर्गमा चिन्ता बढाउन सक्छ । वार्ताको आदर्श दृष्टिकोणले रुसी सम्भ्रान्त वर्गमा यो विश्वासलाई बलियो बनाउनेछ कि युद्ध अजिब छ । अमेरिकाले अव्यावहारिक सर्त स्वीकार नगरी सम्झौताका लागि कूटनीतिक तयारीको संकेत गरिरहनुपर्छ, जसले गर्दा रुसी सम्भ्रान्त वर्ग युद्धको बढ्दो लागतबारे दुईपटक सोच्न बाध्य हुनेछ ।
अमेरिकाले यो पनि संकेत गर्नुपर्छ कि युद्ध जतिसुकै वेला समाप्त भए पनि उसले आफ्ना आर्किटेक्टलाई प्रतिबन्ध लगाउन जारी राख्नेछ र युद्ध प्रयासबाट चुपचाप टाढा रहेका अभिजात वर्गलाई आममाफी दिनेछ । युद्धको राजनीतिक र व्यक्तिगत लागतबाट अलग्गिएका पुटिनले अन्तर्राष्ट्रिय दबाबका कारण कहिल्यै पद छोड्ने सम्भावना छैन । तर, रुसी अभिजात वर्ग पश्चिमसँग रुसको सम्बन्धको भविष्यको बारेमा बढी व्यावहारिक छन् ।
यो दृष्टिकोणले सम्भ्रान्त वर्गले ठुलो मात्रामा देश छोड्नेछैन । तर, यसले तल्लो तहका सरकारी अधिकारी र व्यवसाय प्रबन्धकलाई आफ्नो पद सुरक्षित गर्न र उनीहरूले बढ्दो रूपमा जित्न नसकिने युद्धबाट चुपचाप अलग हुन प्रोत्साहन गर्नेछन् ।
– फरेन अफेयरबाट