सिटी दोस्रो खेलमै पराजित

आइतबार, ८ भदौ, २०८२
डिजिटल संस्करण

उपाधि फर्काउने योजनासहित नयाँ सिजनलाई मैदानमा उत्रिएको म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको दोस्रो खेलमै पराजित भएको छ । कमजोर रक्षापंक्तिका कारण सिटी शनिबार घरेलु मैदान इत्तिहादमै टोटनहमसँग २–० ले पराजित भयो । इत्तिहाद रंगशालामा चर्चित स्ट्राइकर एर्लिङ हल्यान्ड पनि चल्न सकेनन् ।

टोटनहमलाई जित दिलाउन ब्रेनन जनसन र जोआओ पाल्हिन्हाले गोल गरे । दुवै गोल पहिलो हाफमा भएका थिए । योसँगै नयाँ प्रशिक्षक थोमस फ्रांकले सानदार सुरुवात गरेका छन् । लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको टोटनहम शीर्ष स्थानमा उक्लिएको छ । टोटनहमले भने बर्नलीलाई ३–० ले हराएको हो । 

पहिलो हार व्यहोरेको सिटी समान खेलबाट तीन अंकका साथ पाँचौँ स्थानमा छ । पहिलो खेलमा पेप ग्वार्डिओलाको सिटीले उल्भ्सलाई ४–० ले हराएको थियो । पछिल्लो सिजन प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको थियो । त्यसअघि सन् २०२३/०२४ को उपाधि सिटीले उचालेको हो । 

टोटनहमले खेलको ३५औँ मिनेटमा जोनसनको गोलमार्फत अग्रता लिएको थियो । उनले रिचार्लिसनको पासलाई सदुपयोग गरे । पहिलोे हाफको इन्जुरी समयमा पाल्हिन्हाले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा थप गोल निस्कन सकेन ।

सुझावित समाचार