कावासोतीमा बस दुर्घटना हुँदा १३ जना घाइते

शुक्रबार, ३१ साउन, २०८२
डिजिटल संस्करण

नवलपुरको कावासोती– ८, खरकट्टा पूर्वपश्चिम राजमार्गमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार डण्डाबाट नारायणगढतर्फ छुटेको ना.४ ख ७७७६ नम्बरको बस आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा १३ जना घाइते भएका हुन्। 

घाइतेहरूमध्ये केहीको चितवनतर्फ र केहीलाई मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको नवलपुर प्रहरीले जनाएको छ। घाइतेहरू मध्यम र सामान्य रहेको जनाएको छ । घाइतेहरूलाई उद्धार गरी अस्पतालतर्फ पठाइएको कारण घाइतेहरूको पूरा विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। 

घाइतेहरूमध्ये देवचुली नगरपालिका– १४, प्रगतिनगरनिवासी ६५ वर्षीया महिला विष्णु विक र चितवनको भरतपुर महानगरपालिका– २१ निवासी ७० वर्षीय पुरुष दीपबहादुर भट्टराईको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। त्यसैगरी, सातजनाको कावासोतीमा रहेको नवलपुर अस्पतालमा उपचार भइरहेको छ। 

नवलपुर अस्पतालमा कावासोती– ८ निवासी १४ वर्षीय उत्कृष्ट पोख्रेल, कावासोती ८ कै ६३ वर्षीय राजकुमार सिग्देल, बाराको कैलाली उपमहानगरपालिका– १९ निवासी १७ वर्षीय सलमान खान, चितवनको भरतपुर महानगरपालिका– ५ निवासी १२ वर्षीया बालिका सदीक्षा वाग्ले, नवलपुरको हुप्सेकोट– ४ निवासी २४ वर्षीया श्वेता आले, हुप्सेकोट– ४ कै २२ वर्षीया जमुना रेश्मी र ३७ वर्षीया नरमाया आलेको उपचार भइरहेको छ।
 

सुझावित समाचार