जलविद्युत् बिमा ‘पुल’बाट गर्ने तयारी

‘सामूहिक बिमा कोष’ सञ्चालनका लागि अध्ययन गर्न समिति गठन गरिँदै

बिहिबार, २९ साउन, २०८२
डिजिटल संस्करण

प्रिमियममा तोकिएको न्यूनतम दर (मिनिमम ट्यारिफ रेट)लाई निरन्तरता दिने विषयमा सहमति जुट्न नसकेपछि जलविद्युत् बिमालाई ‘सामूहिक बिमाकोष’ अर्थात् पुलमार्फत सञ्चालन गर्ने तयारी गरिएको छ । प्रिमियममा तोकिएको न्यूनतम दर हटाएर पुलमार्फत जलविद्युत् बिमा सञ्चालन गर्ने निष्कर्षमा नेपाल बिमा प्राधिकरण र बिमा कम्पनीहरू पुगेका छन् । यसमा जलविद्युत् प्रवर्द्धकहरूले समेत अनौपचारिक रूपमा सहमति जनाएका छन् ।

६ असोज ०७८ मा तत्कालीन बिमा समिति (हालको प्राधिकरण)ले जलविद्युत् परियोजनाको बिमा गर्दा लाग्ने शुल्कमा न्यूनतम दर तोकेको थियो । अहिले सम्पत्ति बिमाअन्तर्गत जलविद्युत् बिमाको न्यूनतम शुल्क प्रतिहजार दुई रुपैयाँ रहेको छ । यसअनुसार २० करोड रुपैयाँको बिमांकमा बिमा गर्दा चार लाख रुपैयाँ शुल्क लाग्छ । यो रेट महँगो भएको जलविद्युत् प्रवर्द्धकको गुनासो छ ।

जलविद्युत् प्रवर्द्धकहरूले न्यूनतम दरको चर्को आलोचना गर्दै हटाउन दबाब दिँदै आएका छन् । तर, बिमा कम्पनी भने न्यूनतम दर नहटाउने पक्षमा छन् । प्राधिकरणले साउन ०८० मा सहमतिका लागि नेपाल बिमक संघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को समेत सहभागितामा संयुक्त समिति बनाएको थियो । समितिले साउन ०८१ मा न्यूनतम दर हटाउने सहमति गरेर प्राधिकरणलाई जानकारी गराएको थियो । तर, कार्यान्वयन नभएपछि अहिले पुन: विवाद बल्झिएको छ ।

गत २२ साउनमा प्राधिकरणले निर्जीवन बिमा कम्पनी र इप्पानका प्रतिनिधि राखेर छलफल गरायो । उक्त छलफल पनि विनानिष्कर्ष टुंगियो । प्राधिकरणले न्यूनतम दर कायमै राखेर कुनै नयाँ उपयुक्त मोडेलमा जलविद्युत् बिमा सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । जलविद्युत् क्षेत्रको छुट्टै बिमालेख निर्माण गर्नेलगायत प्रस्ताव पनि थियो । त्यसलाई इप्पान प्रतिनिधिले अस्वीकार गरे । इप्पानले विज्ञप्ति नै जारी गरेर प्राधिकरणको प्रस्ताव अस्वीकार गरेको भन्दै न्यूनतम दर खारेज गर्नुपर्ने माग गर्यो । जलविद्युत् परियोजनामा जोखिम बढी रहेको अवस्थामा बिमा कम्पनीहरू पनि न्यूनतम दर नहटाउने पक्षमा छन् ।

बिमक र प्रवर्द्धकहरूले आ–आफ्ना अडान नछाडेपछि जलविद्युत् बिमालाई पुलमार्फत सञ्चालन गर्ने निचोडमा कम्पनीहरू पुगेका छन् । नेपाल बिमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इनस्योरेन्सका निवर्तमान अध्यक्ष चंकी क्षेत्रीले जलविद्युत् बिमालाई अब पुलमार्फत सञ्चालन गरिने बताए । यसले छिट्टै औपचारिकता पाउने उनको भनाइ छ । ‘जलविद्युत् क्षेत्र मुलुकको समृद्धिको बलियो आधार भए पनि जोखिम धेरै भएका कारण बिमाशुल्क दर पनि उच्च हुने नै भयो । तर, अहिले न्यूनतम दरमा जलविद्युत् प्रवर्द्धकहरूले असहमति जनाइरहनुभएको छ,’ उनले भने, ‘अहिलेकै अवस्थामा न्यूनतम दर हटाउँदा झन् समस्या हुन्छ । तसर्थ, अब जलविद्युत् बिमालाई पुलमार्फत सञ्चालन गर्ने तयारी गरेका छौँ,’ अहिले भारतमा समेत जलविद्युत् बिमालाई पुलबाट सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए । नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले पनि जलविद्युत् बिमाबारे अध्ययन गर्न समिति गठन गर्न लागेको बताए । ‘सबै पक्षको हितमा हुने गरी जलविद्युत् बिमालाई दीर्घकालीन रूपमा सञ्चालन गर्न उपयुक्त मोडेल निकाल्न खोजेका छौँ,’ उनले भने, ‘अब छिट्टै अध्ययन समिति गठन हुनेछ । अध्ययनले जे देखाउँछ, प्राधिकरणले सोहीअनुसारको उचित निर्णय लिनेछ ।’

अस्वस्थ प्रतिस्पर्धाले न्यूनतम दर
नेपालको निर्जीवन बिमा बजारमा अधिकांश प्रडक्टमा न्यूनतम दर तोकिएको छ । अहिले ‘मेडिकल इन्स्योरेन्स’सहित नगण्य प्रडक्टमा मात्रै न्यूनतम दर तोकिएको छैन । यसअघि जलविद्युत् बिमामा पनि न्यूनतम दर तोकिएको थिएन ।

यता निर्जीवन बिमा कम्पनीको संख्या पनि २० पुग्यो । जलविद्युत् बिमाको व्यवसाय हात पार्न निर्जीवन बिमा कम्पनीहरूबिच अस्वस्थ प्रतिस्पर्धा भयो । बिमा कम्पनीहरूले निकै सस्तो मूल्यमा जलविद्युत् परियोजनाको बिमा गरे । तर, जलवायु परिवर्तनलगायतका कारण जलविद्युत् परियोजनामा जोखिम बढ्दै गयो । बर्सेनि जलविद्युत् आयोजनाबाट दाबी पर्न थाल्यो । विदेशी पुनर्बिमा कम्पनीले जलविद्युत्को पुनर्बिमा पनि लिन छाडे । त्यसपछि असार ०७८ मा जलविद्युत्मा न्यूनतम दर तोकियो ।

सामूहिक बिमा कोष (पुल) के हो ?
पुल मोडेलमा बिमा कम्पनीहरूले सामूहिक रूपमा जलविद्युत्को बिमा गर्नेछन् । यसमा कम्पनीहरूलाई तोकिएको अनुपातमा व्यवसाय तथा दायित्व बाँडिन्छ । त्यसैले पुल मोडेलमा व्यवसाय तान्नकै लागि अस्वस्थ प्रतिस्पर्धा नहुने विश्वास गरिएको छ । स्वस्थ बजारमा जोखिममा आधारित शुल्क लिन सकिने सगरमाथा अध्यक्ष क्षेत्री बताउँछन् । ‘जलविद्युत् क्षेत्रमा जोखिम पनि छ । र, अवसर पनि छ । यस क्षेत्रमा भएको जोखिम न्यूनीकरण गर्ने बिमाले नै हो । यसलाई प्रभावकारी र दीर्घकालीन रूपमा अघि बढाउन आवश्यक छ,’ उनले भने, ‘पुल भएपछि कोषमा रकम जम्मा भएर पनि बसेको हुन्छ । त्यसपछि निकट भविष्यमा शुल्क घट्न पनि सक्छ ।’ यस्तो व्यवस्था गरिए विदेशी पुनर्बिमा कम्पनीहरूले पनि नेपालमा कारोबार गर्न सहज मान्ने उनको भनाइ छ ।

सुझावित समाचार