पोखराका विद्यार्थीलाई कोरियाको युङजिन विश्वविद्यालयमा छात्रवृत्ति

वार्षिक १० देखि १५ जनाले छात्रवृत्ति पाउने

बुधबार, २८ साउन, २०८२
डिजिटल संस्करण

पोखरा महानगरपालिकाभित्र बसोबास गर्ने विद्यार्थीले दक्षिण कोरियास्थित युङजिन विश्वविद्यालयमा प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्तिको अवसर पाउने भएका छन् ।

यसका लागि पोखरा महानगरपालिकाका र कोरियाको युङजिन विश्वविद्यालयबिच बुधबार पोखरामा छात्रवृत्ति आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा पोखरा महानगरका मेयर धनराज आचार्य र युङजिनकातर्फबाट प्राध्यापक चोइ जेइयोङले हस्ताक्षर गरेका थिए ।

हस्ताक्षरसँगै प्राविधिक शिक्षा अध्ययनका लागि पोखरेलीले अवसर पाउने भएका हुन् । पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको सिद्धान्तमा आधारित रहेर समझदारी गरिएको मेयर आर्चायले जानकारी दिए । समझदारीपछि भएको प्रारम्भिक छलफलमा पोखराका १०–१५ जनालाई विश्वविद्यालयमा हरेक वर्ष छात्रवृत्ति पाउने गरि कुरा भएको मेयर आर्चायले बताए । सूचना प्रविधिको पढाई हुने सो विश्वविद्यालमा स्नातकोत्तर तह, एमफिल र पिएचडिका लागि पोखरेलीले अध्ययनको अवसर पाउने भएका हुन् । 

समझदारीअनुसार शैक्षिक विकासका सन्दर्भमा पोखरा महानगरपालिका क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै प्राज्ञिक, साँस्कृतिक र प्राविधिक सहयोगमार्फत दुई देशबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पारस्परिक विकासमा जोड दिइने आर्चायले बताए ।

महानगरपालिका र युङजिनबिच अनुकूल शैक्षिक कार्यक्रमहरू, भ्रमण, भर्चुअल शिक्षा, शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई समर्थन गर्न मानव संसाधन तथा सूचना आदानप्रदान, सहरी विकास, पर्यटन र दिगो अभ्यासलगायत पारस्परिक हितका क्षेत्रमा संयुक्त अनुसन्धान र नवप्रवर्तन परियोजनाहरूमा सहकार्य गरिने छ । समझदारीले पोखराबाट वैदेशिक अध्ययनका लागि कोरिया जाने विद्यार्थीहरूलाई उनीहरूको अध्ययन, सामाजिक सुरक्षा र न्यूनतम रोजगारीमा विश्वविद्यालयले आवश्यक सहजीकरण गर्ने सँगै विद्यार्थीको अन्तर्राष्ट्रिय छात्रवृत्तिमा पहुँच स्थापित गर्ने उनले बताए । 

युङजिन विश्वविद्यालयका प्राध्यापक चोइ जेइयोङले विशेषगरी प्राविधिक शिक्षा, मानव संसाधन र पारस्परिक लाभका विषयहरूमा पोखरासँग सहकार्य गरी नजिकबाट काम गर्न चाहेको बताए । सहकार्यले दुबै पक्षलाई सहयोग पुग्ने उनको दाबी छ ।
 

सुझावित समाचार