मलको आपूर्ति चुस्त बनाउने योजना तीन दिनभित्र ल्याउन निर्देशन

बुधबार, २८ साउन, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले रासायनिक मलको आपूर्तिलाई चुस्त बनाउने ठोस योजना तीन दिनभित्र ल्याउन विभागीय मन्त्रीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ‘रासायनिक मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना तीन दिनभित्र ल्याउन’ निर्देशन दिएका हुन् ।

रासायनिक मल आवश्यक मात्रामा मौज्दात रहँदा पनि मल अभाव भएको गुनासो आइरहेको भन्दै प्रधानमन्त्रीले मंगलबार सिंहदरबारमा विभागीय मन्त्री, सचिव र कर्मचारीलाई बोलाएर ‘कृषि मल व्यवस्थापन र उत्पादनवृद्धि’बारे छलफल गरेका थिए । छलफपछि प्रधानमन्त्रीले तीनबुँदे निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले ‘रासायनिक मलको आपूर्ति व्यवस्था चुस्तदुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन’, ‘कम्पोस्ट र अर्गानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन’ र ‘माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्ने अध्ययनको खाका ल्याउन’ निर्देशन दिएका हुन् । 

सुझावित समाचार