आज विश्वासको मत लिँदै बागमतीका मुख्यमन्त्री बानियाँ : तीनजनालाई मन्त्री नबनाए मत नदिने लामा पक्षको चेतावनी

मंगलबार, २८ साउन, २०८२
डिजिटल संस्करण

बागमतीका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार थाती राखेर मंगलबार विश्वासको मत लिँदै छन् । विश्वासको मत प्रयोजनका लागि मंगलबार अपराह्न ४ बजे प्रदेश सभा बैठक बोलाइएको छ ।

आफ्नै पार्टीको सरकार ढालेर २० साउनमा मुख्यमन्त्री बनेका बानियाँले आन्तरिक समीकरण मिलाउन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । तर, विश्वासको मतपश्चात् मन्त्रिपरिषद्ले पूर्णता पाउने कांग्रेस बागमती संसदीय दलका प्रवक्ता सुरजचन्द्र लामिछानेले बताए । ‘पार्टीभित्र केही असन्तुष्टि हुन सक्छ, तर मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने, राजीनामा दिने भन्ने कुरा भ्रम मात्रै हुन् । यसमा कुनै सत्यता छैन,’ लामिछानेले भने, ‘पार्टी नेतृत्वसँग नै पहिले विश्वासको मत लिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने भनेर सल्लाह भएको छ । सोहीअनुसार नै हुन्छ ।’ 

उनले एमाले र कांग्रेसका सबै सांसदले मुख्यमन्त्री बानियाँको विश्वासको पक्षमा मतदान गर्ने दाबी गरे । बानियाँलाई विश्वासको मत दिन कांग्रेस र एमालेले ह्विप जारी गरिसकेका छन् । कांग्रेसका प्रदेश सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँ आफ्नै दलका ३७ र सत्तासाझेदार एमालेका २७ गरी ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । ११० सदस्यीय बागमती प्रदेश सभामा विश्वासको मत पाउन ५६ मत आवश्यक छ ।

मन्त्रिपरिषद्लाई पूर्णता नदिई विश्वासको मत लिन थालेपछि कांग्रेस सांसद बहादुरसिंह लामा समूह असन्तुष्ट छ । निवर्तमान मुख्यमन्त्री लामाले आइतबार मात्र सभापति शेरबहादुर देउवालाई भेटेर गुनासो पोखेका थिए । आफूले नियुक्त गरे पनि शपथ खान नपाएका गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई बानियाँ मन्त्रिपरिषद्मा लैजानुपर्ने उनको अडान छ । 

नौ सांसद लिएर बुढानीलकण्ठ पुगेका लामाले यसअघि आफूले नियुक्त गरे पनि शपथ खान नपाएका तीनजनालाई मन्त्री बनाउने पूर्वसहमति कार्यान्वयनका लागि भनिदिन आग्रह गरेका थिए ।

सभापति देउवासँगको भेटमा यसअघिको सहमति कार्यान्वयन हुनुपर्ने माग आफूहरूले राखेको लामापक्षीय सांसद गोविन्द लम्सालले बताए । ‘नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिन तत्कालीन मुख्यमन्त्री लामाले नियुक्त गरेका तीनजनालाई मन्त्रीको शपथ गराउनुपर्ने आफूहरूको बटमलाइन हो,’ लम्सालले भने ।

सभापति देउवाले सहमति पालना हुने आश्वासन दिँदै विश्वासको मत दिने तयारी गर्न भनेको पनि सांसद लम्सालले बताए । ‘सभापतिज्यूले सहमति पालना हुने आश्वासन दिनुभएको छ । उहाँले मुख्यमन्त्री बानियाँलाई बोलाएर सहमति पालना गर्न निर्देशन दिन्छु भन्नुभएको छ,’ उनले भने, ‘विश्वासको मत दिएर अघि बढ्न पनि सभापतिले भन्नुभएको छ ।’ बानियाँले आफ्नै पार्टीको सरकार ढाल्न लामाविरुद्ध अविश्वासको प्रस्ताव लगेर संसदीय दलमा हराएका थिए । 

See More On

सुझावित समाचार