महाकालीमा बेपत्ता पन्त दिदीबहिनी बालिकाको खोजी जारी

सोमबार, २६ साउन, २०८२
डिजिटल संस्करण
महाकालीमा बेपत्ता पन्त दिदीबहिनी बालिकाको खोजी जारी

फोटो क्याप्सन : महाकाली नदीमा हराएका पन्त बालिकाद्वयलाई खोजी गर्दै प्रहरी

आइतबार महाकाली नदीमा बेपत्ता भएका पन्त दिदीबहिनी बालिकाको खोजी कार्य जारी गरिएको छ। हिजो अबेर साँझसम्म नदीमा खोजे पनि नभेटिएपछि सोमबार पनि बिहानैदेखि खोजी कार्य सुरु गरिएको हो। 

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले स्थानीय सहित सेना, प्रहरी र सशस्त्र प्रहरीले टुप, बोट मार्फत खोजी कार्य अघि बढाएको बताए । नुहाउने क्रममा भीमदत्त नगरपालिका ११ भुजेलाका बालिकाद्वय दिदीबहिनी बेपत्ता भएका थिए । 

भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकाश थापाले विद्यालयबाट छुट्टी भएसँगै महाकालीमा नुहाउनका लागि ११ वर्षीय दाजु निरज पन्त(सागर)सँगै महाकाली नदीकिनार पुगेका बालिकाद्वय ६ वर्षीया जीविका पन्त र ७ वर्षीया सानबी पन्त बेपत्ता भएका  बताए ।  भुजेलाका पन्त दाजुभाइ पदम र मुकेश पन्तकी दुवै छोरी नुहाउने क्रममा बेपत्ता भएका हुन्। बालिकाद्वय पन्तकी आफन्त छिमेकी रत्ना भारतीले भीनपा ११ भुजेला घाट कालो मुढा क्षेत्रबाट जीविका र सानबीले हाम फालेको बताइन। 

जेठो दाजु निरजले तिमीहरू यहाँ खडा हौँ, म पहिला किनारमा नुहाउँछु पछि तिमीहरू नुहाउँला भन्यो, दाजुको कुरा नसुनेर बहिनीहरूले माथिबाट हामफालेका रहेछन । उनीहरूसँगै ४ वर्षीया एकजना भाइ पनि महाकाली नदीमा पुगेका थिए। बेपत्ता बालिकाद्वय जीविका र सानबी भुवनेश्वरी विद्या मन्दिर(विद्यालय) कक्षा १मा अध्ययनरत छन । परीक्षा सकिएपछि घर पुगेका पन्त परिवारका चारैजना बालबालिका नुहाउन महाकाली पुगेका थिए। कलिला बालिका हराएपछि पन्त परिवार शोकाकुल भएको छ। 

भुजेला खोलामा धाँमी मृत भेटिए 

भीनपा ११भुजेला गाँउका पन्तद्वय बालिका महाकाली नदीमा बेपत्ता भएको अर्को दिन सोही गाँउकै एक युवक खोलामा मृत भेटिएका छन्। 

यसैबिच सोमबार भुजेला खोलामा २१ वर्षीया प्रकाश धाँमी मृत भेटिएका हुन। शनिबार रक्षाबन्धनदेखि घरपरिवारको सम्पर्कमा  नआएका भुजेलाकै स्थानीय धामी मृत भेटिएपछि पन्त र धाँमी परिवारसहित गाउँ शोकमा डुबेको छ। गत वर्ष वैवाहिक बन्धनमा बाँधिएका उनी साइकल लिएर घरबाट निस्किएका थिए ।

साइकल खोलाको छेउमा र धाँमीको शव खोलामा भेटिएको थियो। धाँमीको शव अहिले महाकाली अस्पतालमा राखिएको छ। कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले धाँमीको मृत्युको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान अघि बढाएको बताए। श्रृंखलाबद्ध रूपमा नदीमा बेपत्तादेखि मृत भेटिएपछि स्थानीय त्रसित भएका छन्। 
 

सुझावित समाचार