- आठपटक बालोन ‘डी’ अर जितेका लियोनल मेसी तथा पाँचपटक जितेका क्रिस्टियानो रोनाल्डो युरोपियन क्लब छाडेर अन्यत्र व्यावसायिक फुटबल खेलिरहेका छन्, यो अवार्डको विजेता बन्न मुख्य आधार नै युरोपियन फुटबल प्रतियोगितामा गरेको प्रदर्शनलाई मानिन्छ
विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन ‘डी’ अर २०२५ का लागि शीर्ष ३० खेलाडीको मनोनयन सूची सार्वजनिक भएको छ । अर्जेन्टिनी कप्तान लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो लगातार दोस्रोपटक शीर्ष ३० भित्रको मनोनयन सूचीमा परेनन् । मेसी र रोनाल्डो सन् २००३ देखि २०२३ सम्म लगातार शीर्ष स्थानमा परेका थिए । मेसीले सर्वाधिक आठपटक र रोनाल्डोले यो अवार्ड पाँचपटक जितेका छन् । अहिले दुवै खेलाडी युरोपियन लिग छाडेर अन्य क्लबबाट फुटबल खेलिरहेका छन् ।
मेसी अमेरिका तथा रोनाल्डो एसियन क्लबबाट व्यावसायिक फुटबलमा आनन्द लिइरहेका छन् । फ्रान्स फुटबल म्यागेजिनले बिहीबार राति पुरुष वर्ष खेलाडी, प्रशिक्षक, युवा खेलाडी र गोलरक्षकसहित विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेटिएको छ । विजेता घोषणा अर्को महिना सेप्टेम्बरमा हुने अपेक्षा गरिएको छ । फुटबलमा व्यक्तिगत उत्कृष्टता, उपलब्धि र योगदानको मान्यतास्वरूप प्रदान गरिने बालोन ‘डी’ अर अवार्ड यस वर्ष पनि निकै रोचक हुने देखिएको छ ।
पिएसजी र आर्सनलका खेलाडीको दबदबा
युरोपियन च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)का पुरुष खेलाडीले मनोनयनको सूचीमा वर्चस्व राखेका छन् । महिलातर्फ इंग्लिस क्लब आर्सनलका खेलाडी मनोनयन सूचीको शीर्षमा छन् । यसबाहेक पुरुष र महिलातर्फ बार्सिलोना र रियल म्याड्रिडका खेलाडी पनि ठुलो संख्यामा छन् । बार्सिलोनाबाट लामिन यामाल, अलेक्सिया पुटेल्यास, पेड्री, बोनमतीलगायत मनोनयनमा परेका छन् । गत वर्षको विजेता म्यानचेस्टर सिटीका स्टार रोड्री यसपटक सूचीमा छैनन् । गत वर्षको सेप्टेम्बरमा भएको एसिएल चोटका कारण उनी लामो समयदेखि मैदानबाहिर छन् । मैदानमा उत्रन नसक्दा उनी यसपटक सूचीबाट बाहिरिएका हुन् ।
रोड्री नहुँदा यसपटक पुरुषतर्फ नयाँ विजेता घोषणा हुनेछ । फ्रान्स तथा म्याड्रिडका युवा स्ट्राइकर केलियन एम्बापे लगातार आठौँपटक मनोनयनमा परेका छन् । २६ वर्षीय एम्बापेको रोनाल्डो र मेसीको रेकर्डसँग बराबरी हो ।