कराँतेकी खेलाडी सानुमाया थिङ इजिप्टमा हुने कराँते विश्व च्याम्पियनसिपअन्तर्गत एकल काताका लागि छनोट भएकी छिन् । विश्व कराँते महासंघले नेपाल कराँते महासंघलाई पत्र पठाउँदै नेपालकी सानुमाया आगामी विश्व च्याम्पियनसिपका लागि छनोट भएको जानकारी गराएको हो ।
आगामी २७ देखि ३० नोभेम्बरसम्म इजिप्टको काइरोमा कराँते विश्व च्याम्पियन आयोजना हुँदै छ । विश्व वरीयताका आधारमा उनी छनोट भएकी हुन् । नेपाली कराँते टोलीको काता प्रशिक्षकमा मन्डेकाजी श्रेष्ठ छन् ।
१३औँ दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक विजेता श्रेष्ठले यो नेपाली कराँतेका लागि ठूलो अवसर र सफलता रहेको बताएका छन् । गत मेमा उज्वेकिस्तानमा सम्पन्न एसियन च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा सानुमायाले यो सफलता पाएकी हुन् । यससँगै छनोट भएर नेपाली खेलाडीले पहिलोपटक विश्व च्याम्पियनसिप खेल्ने भएको हो ।