दक्षिण अफ्रिकी क्रिकेटर भिलियर्सले भने– नेपाल खतरनाक क्रिकेट टोली हो

सोमबार, १९ साउन, २०८२
डिजिटल संस्करण

दक्षिण अफ्रिकन क्रिकेटर एबी डी भिलियर्सले नेपाली क्रिकेट टोली राम्रो भएको बताउँदै प्रशंसा गरेका छन् । भारतीय पत्रकार शुभांकर मिश्रले भिलियर्ससँग लिएको एक अन्तर्वार्तामा उनले सन् २०२४ को आइसिसी टी–२० विश्वकपको प्रसंग उठाउँदै नेपाली टोली अद्भुत रहेको बताएका छन् । ‘नेपाली क्रिकेट टोली निकै राम्रो छ,’ उनले भने, ‘अझ उनीहरूको टिम स्पिरिट अद्भुत रहेको पाएको छु ।’

गत वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा दक्षिण अफ्रिकी टोलीबाट उनले प्रतिस्पर्धा गरेका थिएनन् । समूह चरणमा नेपाल र दक्षिण अफ्रिकाबिच खेल भएको थियो । जसमा नेपाल १ रनले दक्षिण अफ्रिकामाथि सनसनी जित निकाल्न चुक्यो । ‘नेपाल एक अद्भुत टोली हुन् । उनीहरू क्रिकेटमा धेरै अगाडि आइसकेका छन् । एसोसिएटमा नेपाल धेरै खतरनाक क्रिकेट टोली हो ।’

पत्रकार मिश्रले भिलियर्ससँग नेपालको क्रिकेट विकासका लागि के गर्नुपर्छ भनेर प्रश्न राखेका थिए । भिलियर्सले भने, ‘मेरो व्यक्तिगत विचारमा नेपाली क्रिकेटरले मुख्य गरी एकनासको प्रदर्शन गर्नुपर्छ । एक मात्र तरिका अझ बढी क्रिकेट खेल्नु हो ।’ उनले नेपाली क्रिकेट तथा खेलाडीलाई एक्सपोजर दिन पनि विश्व क्रिकेटलाई आह्वान गरेका छन् । ‘उनीहरूलाई थप अवसर प्रदान गर्नुपर्छ । विश्वभरका क्रिकेट आयोजकलाई नेपाललाई एक्सपोजर प्रदान गर्न आह्वान गर्छु,’ भिलियर्सले भने, ‘नेपाल जस्ता देश र टोलीहरूलाई थप क्रिकेट खेल्न अवसर दिनुपर्छ ।’

व्यक्तिगत कारण एनपिएलमा आउन सकेनन् भिलियर्स
अन्तर्वार्ताका क्रममा गत मंसिर र पुसमा भएको नेपाल प्रिमियर लिग (एनपिएल)मा व्यक्तिगत कारण आफू नेपाल आउने नसकेको भिलियर्सले खुलाएका छन् । एनपिएल आयोजक क्यानले प्रतियोगितामा सहभागी हुन पत्र पठाएको उनको भनाइ छ । ‘गत मंसिरमा भएको एनपिएलमा खेल्नका लागि पत्र आएको थियो, तर त्यसवेला मेरो तालिका व्यस्त थियो ।

यसकारण एनपिएल लिगमा सहभागिता जनाउन सकिनँ,’ उनले भने, ‘भविष्यमा नेपालमा खेल्नेमा आशावादी छु ।’ उनले पछिल्लो समयमा छोटा प्रतियोगिता खेलिरहेको बताए । ‘अहिले बेलायतमा परिवारसहित छु । भविष्यमा एनपिएल खेल्ने सम्भावना छ,’ उनले भने । भिलियर्सले नेपाली टोलीले विगत केही वर्षमा उल्लेखनीय प्रगति गरेको बताएका छन् । ‘यदि अन्तर्राष्ट्रिय डेटा हेरौँ भने नेपालले धेरै राम्रो गरिरहेको छ । उनीहरूले योभन्दा बढी अन्तर्राष्ट्रिय अवसर पाउनुपर्छ । जसले नेपाल थप सशक्त हुनेछ,’ उनले भने । 

४७ अन्तर्राष्ट्रिय शतक
पछिल्लो पुस्ताका क्रिकेटरमध्ये आक्रामक ब्याट्सम्यानका रूपमा चिनिने भिलियर्सले दक्षिण अफ्रिकाकाट ११४ टेस्टमा आठ हजार ७६५ रन बनाएका छन् । उनले यस क्रममा २२ शतक तथा ४६ अर्धशतकीय इनिङ्स खेले । यसैगरी, २२८ एकदिवसीय खेलमा उनले २५ शतक तथा ५३ अर्धशतकको सहयोगमा नौ हजार ५७७ रन जोडेका छन् । अन्तर्राष्ट्रिय टी–२० आईमा ७८ खेलमा १० अर्धशतकको सहयोगमा एक हजार ६७२ रन जोडेका छन् । समग्रमा उनले ४७ अन्तर्राष्ट्रिय शतक बनाएका छन् । भिलियर्सले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । टी–२० आईमा उनले अस्ट्रेलियाविरुद्ध पहिलो खेल खेलेका थिए । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका भिलियर्सको अन्तिम खेल सन् २०१८ मा भारतसँग एकदिवसीय खेल रह्यो ।

सुझावित समाचार