मनमोहन प्राविधिक विश्वविद्यालयमा हरेक शनिबार सामूहिक श्रमदान

विश्वविद्यालयका पदाधिकारी, कर्मचारी र विद्यार्थीहरुले बिदाको हरेक शनिबार विहान श्रमदान गरेर विश्वविद्यालय सरसफाई र सौन्दर्यीकरण गर्ने संस्कृतिको विकास गर्न थालेका छन्

शनिबार, १७ साउन, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयकी प्रशासन प्रमुख सारदा सुवेदी प्रत्येक शुक्रबार अपराह्न उपकुलपति डा. सुवासश्री पोखरेलको कार्यकक्षमा पुग्छिन । शनिबार कहाँ र कसरी श्रमदान गर्ने, को–को सहभागी हुन्छन  भन्ने विषयमा उपकुलपतिको स्वीकृति लिन्छिन् । त्यसपछि ‘वाट्सएप’मार्फत सबै पदाधिकारी, विभागीय प्रमुख, कर्मचारी, होस्टल वार्डन तथा सुरक्षा इन्चार्जहरूलाई  सूचना पठाउँछिन । सूचना अनुसार शनिबार विहानै उपकुलपति,रजिष्टार, डिन, परीक्षा नियन्त्रक, विभागीय प्रमुखहरु अनि प्राध्यापक, शिक्षक, प्रशासन प्रमुखदेखि सामान्य कर्मचारी र विद्यार्थीहरू हातमा हँसिया, फरुवा, कुटो , खन्ती र दाँते बोकेर विश्वविद्यालयको तोकिएको स्थानमा आइपुग्छन् । अनि सबै सामुहिक रुपमा  सरसफाई र सौन्दर्यीकरण गर्नमा जुट्छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालयको बुढीगंगा ४ स्थित केन्द्रीय कार्यालयको प्रांगणमा आजकल प्रत्येक शनिबार बिहान यस्तै  दृश्य देख्न सकिन्छ । शनिबार बिदाको दिन भएपनि  यहाँका पदाधिकारी, कर्मचारी र विद्यार्थीहरू बिहानको समय ‘मर्निङ वाक’ हैन, ‘विश्वविद्यालय  क्लिनिङ’ र ‘ब्युटिफिकेसन’मा खर्च गर्न थालेका छन्। स्कुल अफ इन्जिनियरिङका प्रशासन अधिकृत महेश राई भन्छन्, ‘सामुहिक श्रमदानले शरीर चलायमान हुन्छ, सहयोगी भावना बढ्छ र आफनो विश्वविद्यालय हो भन्ने  माया पनि पलाउने रहेछ ।’

उनीहरु हरेक शनिबार समुहमा कहिले उपकुलपतिको कार्यालय, कहिले स्कुल अफ इन्जिनियरिङ, त कहिले स्कुल अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजीको परिसर अनि कहिले कर्मचारीको निवास र विद्यार्थीको छात्राबास अगाडि पछाडी सरसफाई गर्छन अनि वृक्षारोपण र फूलबारीको गोडमेल गरेर सौन्दर्यीकरण  गर्छन् । ‘आफ्नो कार्यस्थल र बसोबासको ठाउँ आफैँले सफा गर्दा माया र अपनत्व झनै बढ्ने रहेछ’ उपकुलपति कार्यालयका वरिष्ठ लेखा अधिकृत सुजन भुर्तेल श्रमदानको अनुभव सुनाउँछन् । 

प्रशासन प्रमुख सुवेदीका अनुसार प्रत्येक शनिबार श्रमदानका लागि  फरक फरक  प्लटको छनोट गरिन्छ । त्यहाँ विश्वविद्यालयका पदाधिकारीहरु उपकुलपति, रजिष्ट्रार, डिनदेखी  कर्मचारीहरु परीक्षा नियन्त्रक, प्राध्यापक, शिक्षक, लेखापाल, चौथो तहका कर्मचारी, चालक, विद्यार्थी, र सुरक्षा टोली समेत सामूहिक रूपमा श्रमदानमा सहभागी हुन्छन् ।  विश्वविद्यालयले श्रमदानका लागि  आवश्यक उपकरण, फुल, फल र रुखका विरुवाहरु जुटाइदिन्छ र सहभागीहरूलाई चिया, बिस्कुट र पानी उपलब्ध गराउँछ ।
‘प्राविधिक विश्वविद्यालय भनेर हैन गरेर देखाउने संस्था हो । त्यसैले आफ्नो काम आफैँ गर्नुपर्छ भन्ने सोचले हामीले यो अभ्यास सुरु गरेका हौं’, उपकुलपति डा. सुवासश्री पोखरेलले भने।
 

सुझावित समाचार