बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा

शुक्रबार, १६ साउन, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा भएको छ। प्रदेशको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रमबिच प्रधानमन्त्री केपी ओलीले सो घोषणा गरेका हुन्।

संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय पूर्ण खोप समन्वय समितिबाट प्राप्त प्रमाणपत्रका आधारमा १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता भएको हो। प्रदेशका १३ जिल्ला र ११९ पालिका पूर्ण खोपयुक्त भएपछि प्रदेशस्तरमा घोषणा गरिएको हो।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रदेशका स्वास्थ्यमन्त्री किरण थापालाई खोप समितिको प्रमाणपत्र हस्तान्तरण गर्दै स्वास्थ्य क्षेत्रको डिजिटल हेल्थ कार्यक्रमको पनि उद्घाटन गरे। प्रधानमन्त्री ओलीले पूर्ण खोप घोषणा भएकामा प्रदेशलाई बधाई दिँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय गन्तव्य प्राप्तिका लागि निरोगी नेपाल अभियान सञ्चालन गरिएको बताए।

उनले नेपालमा मानिसका साथै पशुपक्षी र वनस्पति पनि निरोगी होऊन् तथा सहर र गाउँ सफा रहून् भन्ने सोचका साथ काम गर्नुपर्नेमा जोड दिए। ‘रोग लाग्न सक्छ, तर हामीले रोगका कारण र बाटाहरूलाई बन्द गर्ने प्रयास गर्नुपर्छ। त्यसको एउटा उपाय खोप हो,’ उनले भने।

सो अवसरमा प्रधानमन्त्री ओलीले खोप अभियानका क्रममा उत्कृष्ट कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान प्रदान गरे। प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्वास्थ्य क्षेत्रको निरन्तर खटाइबाट पूर्ण खोप अभियान सफल भएको बताए।

सुझावित समाचार