बर्खायाममै पर्याप्त वर्षा नहुँदा जनजीवन प्रभावित भएको छ । खडेरीले गर्मीको उकुसमुकुस पनि बढाइरहेको छ । मानिसहरू गर्मी छल्ने विकल्प खोजिरहेको देखिन्छन् ।
कृषि उत्पादन प्रक्रियासँग सिधै नजोडिएको सहरी जमात गर्मी छल्न, ट्रेकिङ, हाइकिङ र स्विमिङ पुलतिर भौँतारिरहेको छ । काठमाडौं उपत्यका, हेटौँडा र आसपासका मानिसहरूका लागि यो उखरमाउलो गर्मी छल्ने एउटा उपयुक्त विकल्प सिस्नेरी खोला हुन सक्छ ।
2025-08-01-02-19-28.jpeg)
चिसो प्राकृतिक खोला, प्रदूषणरहित कञ्चन पानी र सुन्दर प्राकृतिक छटाको एकमुस्ट अनुभव लिन खोज्नेका लागि सिस्नेरी राम्रो गन्तव्य हो । खोलाको सङ्लो पोखरीहरूमा डुबुल्की मार्दै र पौडिँदै प्रकृतिको रसास्वादन लिन पाइन्छ । पौडीका पारखीका लागि त भन्नै परेन ।
2025-08-01-02-19-48.jpeg)
काठमाडौं वा हेटौँडाआसपास बस्नेहरूका लागि त तुलनात्मक हिसाबमा छोटो दूरीका कारण सहज पहुँच छ । काठमाडौंबाट करिब ३५ किलोमिटर पार गरेर सिस्नेरी पुग्न सकिन्छ । काठमाडौंबाट जानेका लागि फर्पिङ–दक्षिणकाली हुँदै हेटौँडा निस्किने बाटोमा सिस्नेरी बजारनजिकै यो खोला पर्छ । मोटरसाइकलमा यात्रा गर्नेका लागि करिब दुई घण्टाको यात्रा हो ।
2025-08-01-02-18-38.jpeg)
सिस्नेरी बजारबाट करिब तीन किलोमिटरमा यो खोला पुग्न सकिन्छ । मकवानपुरको भीमफेदी गाउँपालिका– ७ पोगटे दोभानदेखि सिस्नेरी खोलाका पौडी खेल्न मिल्ने पोखरी सुरु हुन्छ । दोभानको पुलदेखि खोलाको स्रोतमाथितिर ठुला, मझौला र साना पोखरीहरू छन् । पौडी खेल्न नजान्नेदेखि सामान्य र पारंगतसम्मका लागि उपयुक्त पोखरीहरू छन् ।
2025-08-01-02-22-03.jpeg)
पुलदेखि माथिपट्टि पौडी खेल्न मिल्ने आधा दर्जन पोखरी छन् । कञ्चन पानीमा वरपरका प्राकृतिक छटाको अवलोकन गर्दै पौडीको आनन्द लिन सकिन्छ । पोखरीआसपास खोलाका सफा ढुंगामा घाम ताप्दै आराम गर्न सकिन्छ । अचम्म त जति नै पौडी खेल्दा पनि पोखरी र पानी फोहोर हुँदैन । भए पनि तल अर्को पोखरी पुग्दासम्म पानी सङ्लिहाल्छ ।
2025-08-01-02-20-11.jpeg)
यी पोखरीलाई अहिले गाउँपालिकाले नै प्रवर्द्धन गरेको छ । भीमफेदी गाउँपालिकासँग सम्झौता गरेर खोलाको मुखमा एक व्यवसायीले टिकेटिङको व्यवस्थापन गरेका छन् । प्रतिव्यक्ति ५० रुपैयाँको टिकट लिएर धित मरुञ्जेल पौडी खेलेर फर्किन सकिन्छ । पौडी खेल्न नजान्नेका लागि केही ‘लाइफज्याकेट’कोसमेत प्रबन्ध छ ।
2025-08-01-02-20-27.jpeg)
टिकेटिङको व्यवस्थापन गरिरहेका सञ्जय मगरका अनुसार अहिले दैनिक सयदेखि डेढ सय मानिस खोलामा पौडी खेल्न आउने गरेका छन् । ‘शनिबार अलि बढी आउँछन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘अरू वेला पनि आउनु त हुन्छ ।’ खासगरी वैशाखदेखि भदौसम्मको गर्मीको समयमा मानिसहरू पौडी खेल्न सिस्नेरी आउने गरेका मगरले बताए ।
2025-08-01-02-20-42.jpeg)
स्थानीयहरूका लागि सिस्नेरी खोलामा पौडी खेल्नु नौलो होइन । तर, पछिल्लो समय भने यसको बाहिर प्रवर्द्धन भइरहेको उनीहरूको अनुभव छ । यसको प्रभावस्वरूप बाहिरबाट मानिसहरू आउने क्रम बढिरहेको छ । खासगरी सामाजिक सञ्जालहरूबाट सिस्नेरीको प्रवर्द्धन भइरहेको छ । युट्युब, टिकटक, फेसबुक, रिल, इन्स्टाग्राममा सिस्नेरीका फोटो भिडियो सामग्री प्रशस्तै भेटिन्छन् ।
2025-08-01-02-20-56.jpeg)
विगत एक दशकदेखि बाहिरबाट पनि मानिस आउने क्रम सुरु भएको स्थानीयको कथन छ । अहिले खासगरी काठमाडौंबाट मानिस सिस्नेरी जाने क्रम बढेको देखिएको उनीहरू बताउँछन् । काठमाडौंबाहेक हेटौँडा र तराईका जिल्लाबाट पनि मानिसहरू यहाँ आउँछन् । हेटौँडा–काठमाडौं जोड्ने राजमार्गको सडकनजिक भएकाले पनि यो बाटो हुँदै यात्रा गर्नेका लागि सिस्नेरी पुग्न कठिन छैन ।
2025-08-01-02-21-10.jpeg)
अझ, स्थानीय परिवेश र प्राकृतिक सुन्दरतामा रमाउनेका लागि सिस्नेरीआसपासका गाउँ पनि घुम्नलायक हुन सक्छ ।
सिस्नेरीको प्रवर्द्धनका लागि स्थानीय सरकारले थप काम गर्नुपर्ने आवश्यकता देखिन्छ । सिस्नेरी बजारदेखि खोलासम्मको बाटो व्यवस्थित गरिदिँदा आतेजाते गर्नेलाई सहज हुन्छ । दोभानदेखि पोखरीमा आउनेजाने बाटो त्यति कठिन नभए पनि त्यसलाई थप व्यवस्थित र सुरक्षित बनाउनुपर्ने देखिन्छ । पौडी खेल्न जानेहरूले गरेको फोहोर व्यवस्थापन र जथाभावी क्रियाकलापलाई रोक्नुपर्ने आवश्यकता पनि देखिन्छ । होटेल, पूर्वाधार निर्माणलगायतका प्रवर्द्धनात्मक काममा पनि गाउँपालिकाले ध्यान दिनुपर्ने जरुरी छ ।
2025-08-01-02-21-31.jpeg)
तस्बिर : दीपेन्द्र ढुंगाना