कोशी प्रदेशमा एक वर्षमा तीन हजार पाँच सय १३ जना फरार प्रतिवादी पक्राउ

शनिबार, ११ साउन, २०८२
डिजिटल संस्करण

कोशी प्रदेश प्रहरीले गत वर्ष तीन हजार पाँच सय १३ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अपराधीलाई छैन खुला आकाश विशेष अपरेसन चलाएर कोशी प्रदेश प्रहरीले अदालतबाट कैद र जरिवाना सजाय पाएर पनि गाउँघर, सहर बजारमा लुकिछिपी बस्दै आएका  तीन हजार पाँच सय  सय १३ जना फरार अभियुक्त्तलाई गत वर्ष विभिन्न जिल्लाबाट पक्राउ गरेको हो ।

 समाजमा शान्ति कायम गराउन र दण्डहिनता अन्त्य गराउन विशेष अभियान नै सञ्चालन गरेर फरार प्रतिवादीहरुलाई  धरपकड गर्न सुरु गरेपछि अब खुला आकाश मुनि पनि अपराधीलाई लुक्न ठाउँ छैन भन्ने प्रस्ट भएको कोशी प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले बताए । उनले भने ‘अपराधी जहाँ भए पनि पक्राउ गरेरै छाड्छौं, प्रदेश प्रहरीले पछिल्लो उपलब्धिबाट यही  प्रमाणित गरेको छ उनीहरु खुला आकाशमुनी पनि लुकेर बसिरहन सक्नेछैनन ।’ 

कोशी प्रदेश प्रहरीले अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका र वर्षौंसम्म फरार रहेका अभियुक्तहरूलाई कानूनी दायरामा ल्याउन आधुनिक सूचना प्रविधिको प्रयोग, समुदायसँगको समन्वय र विशेष रणनीतिमार्फत विशेष अनुसन्धान समुहबाट अपरेशन संचालन गरिरहेको छ। कोशीमा प्रहरीले फरार अपराधीहरु पक्राउ गरेर प्रहरीले एक हजार चार सय १६ वर्षभन्दा बढी कैद सजाय कार्यान्वयन गराएको छ भने १४ करोड ७७ लाख रुपैयाँभन्दा बढी जरिवाना असुली गराएको छ ।   

कोशी प्रदेश प्रहरीले गाउँ, घर, छिमेकमा लुकेर बसेका फरार व्यक्तिबारे जानकारी दिन सबै नागरिकलाई अपिल पनि गरेको छ । प्रहरीले अपिल गरेको छ गर्दै ‘ लुकेर बसेका अपराधीहरुको सूचना प्रहरीलाई   दिनुहोस्, प्रहरीले तपाईंलाई सुरक्षा दिन्छ।’ सूचना दिने व्यक्तिको पूर्ण गोपनीयता सुरक्षित गरिने प्रदेश प्रहरीले स्पष्ट पारेको छ ।

सबैभन्दा धेरै मोरङमा र सबैभन्दा कम सोलुमा पक्राउ 
कोशीमा गतवर्ष  सबैभन्दा बढि फरार प्रतिबादी मोरङमा र सबैभन्दा कम सोलुखुम्बुमा पक्राउ परेका छन । गत वर्ष मोरङमा ११ सय ५६ जना, सुनसरीमा एक हजार दुई जना , झापामा पाँच सय ३४ जना, इलाममा एक सय ४६ जना पाँचथरमा ४२ जना ताप्लेजुङमा ४८ जना, धनकुटामा  ५७ जना,तेह्रथुममा ४५ जना, भोजपुरमा  ४४ जना, संखुवासभामा २८ जना,उदयपुरमा दुई सय ६० जना , ओखलढुंगामा ६९ जना, सोलुखुम्बुमा १४ जना र खोटाङमा ५३ जना फरार प्रतिबादी पक्राउ परेका छन् । 

See More On

सुझावित समाचार