एक वर्षको अवधिमा विपतमा परेर धनकुटामा चारजनाको ज्यान गएको छ । सो अवधिमा २९४ वटा विपतका घटना घटेको प्रहरीले जनाएको छ । गत आर्थिक वर्ष ०८१/८२ मा बाढी, पहिरो, चट्याङ र आगलागीका कारण एक करोड १२ लाखभन्दा बढीको भौतिक क्षति भएको छ ।
एक वर्षको अवधिमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । त्यस्तै, ४७ वटा पशु चौपाया मरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी ओमप्रकाश खनालले बताए । त्यसैगरी, विपतमा परेर १९२ वटा घर, २८ वटा गोठ र १० वटा विद्यालयमा भौतिक क्षति पुगेको छ भने बाढी, पहिरोका कारण २० घरपरिवार विस्थापित भएको प्रहरीले बताएको छ ।
सवारीसाधनतर्फ १७ वटामा क्षति पुगेको छ । यता चट्याङमा परेर एकजनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए । चट्याङका कारण चारवटा पशुचौपाया मरेका छन् भने तीनवटा घर र एक गोठमा क्षति पुर्याएको थियो ।आगलागीका ५४ वटा घटनामा एकजना घाइते भएका थिए भने ११ वटा पशुचौपाया मर्नुको साथै १३ घरमा क्षति पुगेको प्रहरीले बताएको छ । आगलागीबाट नै १४ वटा गोठ र २७ वटा सामुदायिक वनमा क्षति पुगेको थियो । उक्त घटनाबाट १२ घर विस्थापित हुँदा १४ घरपरिवार भने प्रभावित भएको प्रहरीले बताएको छ ।