मुम्बईबाट ‘हराएका’ दुई किशोरी भक्तपुरमा मृत अवस्थामा फेला

भारतबाट कसरी भक्तपुरसम्म आए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ

शुक्रबार, १० साउन, २०८२
डिजिटल संस्करण

भारतको मुम्बईबाट तीन सातादेखि हराएका दुई किशोरी भक्तपुरमा एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुर्खेतको पञ्चपुरी– ८ स्थायी घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सिर्जना बिहीबार बिहान मृत भेटिएका हुन् । 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ८, बोडे सिन्टीटारस्थित एक घरमा डेरामा बस्दै आएका उनीहरू नाइलनको डोरीमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । घरको प्यासेजमा रहेको फलामको डन्डीमा झुन्डिएको अवस्थामा शव भेटिएको हो । डोरीको दुई भागमा दुईजना झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूको परिवार भारतको मुम्बईमा बस्दै आएका छन् । दिदीबहिनी दुई साताअघि भक्तपुर आएर डेरामा बस्दै आएका थिए । उनीहरू हराएको भन्दै परिवारले प्रहरीमा उजुरी दिनेदेखि सञ्चारमाध्यमबाट खोजीका लागि हारगुहार गर्दै आएका थिए । 

प्रहरीका अनुसार मृतक दिदीबहिनीले बुधबार राति करिब २ बजे टिकटक बनाएर त्यसमा नाइलनको डोरीसमेत देखाएका थिए । ‘मरेर गए पनि नतोडिने बन्धन माया हो’ बोलको गीतमा टिकटक बनाउँदै त्यसमा डोरीको फोटोसमेत देखाएका थिए । उनीहरूको मोबाइलमा पनि आफूहरू मर्न लागेको भनेर भिडियो बनाएको प्रहरीले जनाएको छ । मृतकका बुवा वासुदेव कँडेलले आफू आएपछि मात्र शव उठाउन आग्रह गरेका छन् । 

दुईमध्ये दिदी नेपालमै बसेर पढेकामा बहिनी भने मुम्बईमा आमाबुबासँगै बस्दै आएकी थिइन् । दिदी केही महिनाअघि मात्र मुम्बई गएको प्रहरीले जनाएको छ । मुम्बईबाट कम्प्युटर क्लास जान भनेर उनीहरू सम्पर्कविहीन भएका थिए । उनीहरू हराएपछि आमाबुवाले खोजीका लागि हारगुहार गर्दै आएको अवस्थामा भक्तपुरमा मृत भेटिएका हुन् । मुम्बईबाट कसरी भक्तपुरसम्म आए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै, घटना आत्महत्या हो वा होइन भन्ने विषयमा पनि पोस्टमार्टम गरेपछि प्रस्ट हुने प्रहरीको भनाइ छ ।

See More On

सुझावित समाचार