पाल्पामा १२ वर्षमा ८८४ जनाले गरे आत्महत्या

बिहिबार, ९ साउन, २०८२
डिजिटल संस्करण

देशैभर आत्महत्याको दर बढ्दै गएको छ । पाल्पामा पनि पछिल्लो १२ वर्षको तथ्यांक अध्ययन गर्दा आत्महत्याको दर डरलाग्दो रूपमा बढेको पाइएको छ । १२ वर्षमा यहाँ ८८४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष ०७०/७१ मा पाल्पामा आत्महत्या गर्नेको संख्या ५४ थियो ।

०७१/७२ मा ५५ पुग्यो भने एक वर्षपछि नै आव ०७२/७३ मा २० जना बढेर ७५ पुगेको प्रहरीको तथ्यांकमा उल्लेख छ । आव ०७३/७४ र ०७४/७५ मा आत्महत्या गर्नेको संख्या समान ६७–६७ रहेको थियो । यस्तै, आव ०७५/७६ मा आत्महत्या गर्नेको संख्या बढेर ९० पुगेको थियो । जुन १२ वर्षको तथ्यांकमा सबैभन्दा बढी हो । 

यसैगरी, आव ०७६/७७ मा ८३, आव ०७७/७८ मा ७६, आव ०७८/७९ मा ७५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । आव ०७९/८० मा ८५ जनाले आत्महत्या गरेका छन् । त्यस्तै, आव ०८०/८१ मा ८८ जनाले आत्महत्या गरेको देखिएको छ । त्यस्तै, गत असार ३२ सम्म ६९ जनाले आत्हत्या गरेको प्रहरीको भनाइ छ ।

आत्महत्या गरेका ८८४ मध्ये ७४५ जनाले झुन्डिएर प्राण त्याग गरेका छन् । तथ्यांकअनुसार १८ वर्ष भन्दा कम उमेरकाले गर्ने आत्महत्या सबैभन्दा न्यून अर्थात् तीन प्रतिशत छ भने ४० वर्षमाथिकाको आत्महत्याको दर सबैभन्दा बढी ५५ प्रतिशत छ । ४० वर्ष उमेर कटेकाको आत्महत्यामा लैंगिक तथ्यांक हेर्दा सबैभन्दा बढी पुरुष छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनील मल्ल आर्थिक बोझ ४० वर्ष उमेरमाथिकाको आत्महत्याको कारणमध्ये प्रमुख हुन सक्ने बताउँछन् । उनले आत्महत्या एक विशाल समस्याका रूपमा देखापरेको भन्दै यसमा परिवार र आफन्तको निगरानी जरुरी रहेकोमा जोड दिए ।
 
प्रहरी र पालिका सक्रिय, तर तथ्यांक घट्दैन 
देशैभरको जनसंख्या वृद्धिदर घट्दो छ, तर आत्महत्या गरेर प्राण त्याग गर्नेको तथ्यांक भने बर्सेनि बढिरहेको छ । स्थानीय सरकार गाउँपालिका र नगरपालिकाले पनि आत्महत्या न्यूनीकरणका लागि कार्यक्रम गरिरहेका छन् । प्रहरीले त अभियानकै रूपमा काम गरिरहेको छ । पाल्पा प्रहरीले आव ०७९/८० मा आत्महत्या न्यूनीकरणका लागि ३५ वटा कार्यक्रम गरेको थियो । त्यसलाई बढाएर आव ०८०/८१ मा ७३ वटा कार्यक्रम गरेको छ, जसमा तीन हजार १८५ जना सहभागी थिए । त्यस्तै, आव ०८१/८२ मा ८३ वटा कार्यक्रम गरिएको छ जसमा तसीन हजार २८५ जना सहभागी थिए । मानिसलाई समुदायमा भेला गरेर जीवनको महत्त्व बुझाउँदै प्रहरीले व्यावहारिक ज्ञान बाँड्ने गरेको छ, तर अवस्था उस्तै छ ।

भौतिक विकासमा जोड दिने स्थानीय सरकारले वेलाबखत आत्महत्या न्यूनीकरणका लागि पनि काम गरेको छ, तर त्यसले आत्महत्याको तथ्यांकीय दर घटाउन भने सकेको छैन । पाल्पाका १० वटै स्थानीय तहले मनोसामाजिक परामर्शदाताबाट आत्महत्या न्यूनीकरणका लागि सचेतनामूलक काम गरिरहेका छन् । बेगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बजेट नै विनियोजन गरेर विध्यालयमा आत्महत्या न्यूनीकरणका लागि प्रहरीसँगको साझेदारीमा कार्यक्रम गरिरहेको बताइन् ।

त्यस्तै, माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदी पनि प्राथमिकताका साथ आत्महत्या न्यूनीकरणका लागि काम गरेको बताउँछन् । उनले पनि जोखिममा रहेका मानिसको पहिचान गरी मनोसामाजिक परामर्शदाताबाट जीवनको महत्त्व बुझाउने प्रयास भइरहेको बताए। रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले नागरिक नै गाउँपालिकाको मुख्य सम्पत्ति भएकाले उनीहरूको जिउज्यान जोगाउन हरसम्भव काम गरेको बताए । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले पनि बजेट नै विनियोजन गरेर काम गरेको बताए । उनले गाउँपालिकाका नागरिकभन्दा रुपन्देहीबाट गाउँपालिकाको जंगल क्षेत्रमा आएर झुन्डिएर आत्महत्या गर्ने धेरै रहेकोले यसले चिन्तित बनाएको बताए ।

आत्महत्या जिल्लाकै ठुलो समस्यामा रूपमा रहेका कारण यसमा थप ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको भनाइ छ । उनले भने, ‘सचेतनाका कार्यक्रमहरू भइरहेका छन्, तर मृत्युदर घटिरहेको छैन, यसलाई न्यूनीकरण गर्नु चुनौतीपुर्ण रहेकाले सरोकारवाला सबै निकाय गम्भीर हुनुपर्छ ।’
जानकारहरू धेरै मानिसले स्वास्थ्यका कारण, एक्लोपनाको कारण, आवेशमा आएर र आर्थिक अभावले आत्महत्या गर्ने गरेको पाइएको बताउँछन् । 

सुझावित समाचार