सुदूरपश्चिम विश्वविद्यालयमा तोकिएकै समयमा चुनाव गराउन पाँच विद्यार्थी संगठनको माग

बुधबार, ८ साउन, २०८२
डिजिटल संस्करण

कञ्चनपुर जिल्लामा क्रियाशील पाँच विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयमा तोकिएकै मिति १४ साउनमै स्ववियु चुनाव गराउन माग गरेका छन्।

अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल (समाजवादी), नेकपा बहुमतनिकट क्रान्तिकारी र प्रजातान्त्रिक विद्यार्थी संगठनले तोकिएकै समयमा स्ववियु चुनावको माग अघि सारेका हुन्। बुधबार उपकुलपति डा. हेमराज पन्त, रजिस्ट्रार डा. विनोद लेखकसहितका पदाधिकारीहरूलाई भेटेर आनाकानी नगरी पुनः समय तालिका निकालेर चुनाव गराउन ध्यानाकर्षण गराए।

मंगलबार उम्मेदवारी दर्ताकै दिन सत्ताधारी नेपाली कांग्रेसनिकट नेविसंघको नरेश पण्डित समूहले विवाद झिकेर उम्मेदवारी दर्ता गर्नबाट रोकेको भन्दै पाँच विद्यार्थी संगठनले अब कुनै पनि बहानाबाजी गरेर चुनाव रोक्न नहुने बताए।

अखिल क्रान्तिकारीकी नेतृ मनीषा चन्दले पाँच विद्यार्थी संगठनले संयुक्त रूपमा विश्वविद्यालय नेतृत्वलाई भेटेर चुनाव गर्न अग्रसर हुन आग्रह गरिएको बताइन्। ‘हामीले कुनै एक विद्यार्थी संगठनले तालाबन्दी गर्दै सिङ्गो विद्यार्थीको भविष्य अन्धकार पार्नेदेखि चुनाव रोक्न नहुने विषयतर्फ ध्यान केन्द्रित गराएका छौँ,’ उनले भनिन्, ‘हामी पाँच विद्यार्थी संगठनको मागप्रति उहाँहरूले सकारात्मक रहेको धारणा व्यक्त गर्नुभएको छ, अब हेरौँ व्यवहारमा कति लागू हुन्छ।’

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस कानुन संकायकी विद्यार्थीसमेत रहेकी चन्दले फेरि पनि बहानाबाजी गरे उपकुलपति, रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिने चेतावनी दिएकी छिन्।

नेविसंघ जिल्ला अध्यक्ष नरेश पण्डितमाथि प्रहरीले कुटपिट गरेर मरणासन्न हुने गरी घाइते बनाएको भन्दै पण्डितनिकट समूहले घटनाको छानबिन गरी दोषीउपर कारबाही नहुँदासम्म तालाबन्दी यथावत् रहने अडान लिएको छ। पण्डित धनगढी अस्पतालमा उपचाररत छन्। पण्डित समूहले मंगलबार नै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गर्दै कुटपिट गर्नेमाथि कारबाही नहुँदासम्म नखोलिने जनाएको छ।

अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दलबहादुर धामी, अनेरास्ववियू संयोजक प्रज्वल कुँवर, राप्रवि अध्यक्ष प्रेम रावल, अखिल समाजवादी जिल्ला इन्चार्ज ललित सी र बहुमतनिकट अखिल क्रान्तिकारीका सुदूरपश्चिम विश्वविद्यालय इन्चार्ज प्रकाश भट्टले हस्ताक्षर गरेकोे संयुक्त विज्ञप्तिमा चुनाव कार्यतालिकाअनुरूप नभए आन्दोलनको चेतावनी दिएका छन्। सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको १६ वर्षसम्म स्ववियु निर्वाचन हुन सकेको छैन। निर्वाचन समिति संयोजक कर्णदेव भट्टले मनोनयनका लागि असहज वातावरण भएकाले सबै पक्षसँग वार्ता गरेर चुनावी प्रक्रिया अघि बढाउने बताए।

सुझावित समाचार