रणनीतिक छलफलमा कांग्रेसका सात पूर्वपदाधिकारी

१५औँ महाधिवेशन, सत्तागठबन्धनदेखि संविधान संशोधनसम्मका विषयमा कुराकानी

मंगलबार, ७ साउन, २०८२
डिजिटल संस्करण
  • कांग्रेस नेता कृष्णप्रसाद सिटौला भन्छन्–सरकारले प्रभावकारी ढंगले काम गर्न सक्नुपर्छ । यसका लागि हामीले कांग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने प्रकाशमानजीलाई भनेका छौँ । उहाँले प्रधानमन्त्रीसँग कुरा राख्नुहुन्छ । गठबन्धनको भावनाअनुसार सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो मत हो ।

कांग्रेस नेता डा. शेखर कोइरालाले सक्रियता बढाएका वेला संस्थापन पक्षका सात पूर्वपदाधिकारीले रणनीतिक छलफल गरेका छन् । आगामी महाधिवेशन, सत्तागठबन्धनदेखि संविधान संशोधनसम्मका विषयमा उनीहरूले छलफल गरेका हुन् ।

उपप्रधानमन्त्री एवं कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सोमबार सिंहसहित उपसभापतिहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र डा. शशांक कोइराला तथा पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महतले छलफल गरेका हुन् । उनीहरू सबै हाल केन्द्रीय सदस्य छन् । महत भने पार्टी प्रवक्ता हुन् । गत महाधिवेशनमा सबैले सभापति शेरबहादुर देउवालाई सघाएका थिए ।

कांग्रेस–एमाले गठबन्धनको भावनाअनुरूप वर्तमान सरकार ०८४ को निर्वाचनसम्मै चल्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । छलफलपछि सिटौलाले गठबन्धन सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने र गठबन्धन आगामी निर्वाचनसम्मै जानुपर्ने निष्कर्ष निकालेको बताए । ‘सरकारले प्रभावकारी ढंगले काम गर्न सक्नुपर्छ । यसका लागि हामीले कांग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने प्रकाशमानजीलाई भनेका छौँ । उहाँ प्रधानमन्त्रीसँग कुरा राख्नुहुन्छ । गठबन्धनको भावनाअनुसार सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो मत हो,’ उनले भने ।

कांग्रेस–एमाले सत्तागठबन्धन हुँदाको सातबुँदे सहमति कार्यान्वयनमा पनि उनीहरूले जोड दिएका छन् । संविधान संशोधनको विषयमा सातबुँदे सहमतिमा पनि उल्लेख भएको स्मरण गर्दै उनीहरूले सरकारले सबैलाई मान्य हुने गरी छलफल थाल्नुपर्ने आवश्यकता औँल्याएका छन् । कांग्रेसले संविधान संशोधनका लागि सहजीकरण गर्न कार्यदल गठन गर्ने निर्णय गत केन्द्रीय कार्यसमिति बैठकले गरिसकेको छ ।

मंगलबार सभापति देउवालाई भेटेर छलफलको निष्कर्ष जानकारी गराउने सिटौलाले जानकारी दिए । ‘गठबन्धनको सरकार भएपछि सोही भावनाअनुसार चल्नुपर्छ । गठबन्धन ०८४ को चुनावसम्म जानुपर्छ भन्ने भावनाले काम गर्नुपर्छ,’ उनले भने । कांग्रेसका सात पूर्वपदाधिकारीहरूले आगामी १५औँ महाधिवेशनबारे पनि छलफल गरेका छन् । तोकिएकै समयमा महाधिवेशन हुनुपर्ने र सभापतिमा आफूहरूमध्येबाट एकजनालाई अगाडि सारेर जानुपर्नेमा उनीहरूको जोड छ । तर, को भन्ने विषयमा नेताहरू निष्कर्षमा पुगिसकेका छैनन् ।

सुझावित समाचार