ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रसुवामा हालै आएको बाढीका कारण करिब दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको बताएका छन् ।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा मन्त्री खड्काले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्,’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभाले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
उक्त प्रस्ताव प्रस्तुत गर्नुअघि मन्त्री खड्काले मंगलबार रसुवामा आएको बाढीले त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका महत्वपूर्ण जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा क्षति पुगेको जानकारी दिएका हुन् । उनका अनुसार १११ मेगावाट क्षमता रहेको रसुवागढी जलविद्युत् आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना, २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना र १४ मेगावाट क्षमताको देवीघाट आयोजना बाढीका कारण उत्पादन अवरुद्ध रहेका छन् ।