४० किलो गाँजासहित पाँचजना पक्राउ

शुक्रबार, २७ असार, २०८२
डिजिटल संस्करण

नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी– ४ का नीराजन चेपाङ, प्रकाश चेपाङ र शंकर चेपाङ,  काठमाडौं महाराजगन्जका जीवन प्रजा र सुमन चेपाङ रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले एक लाख २५ हजार नगदसमेत बरामद गरेको छ । उनीहरूले काठमाडौं कोटेश्वरस्थित सुननम चेपाङको डेरामा लुकाइछिपाइ राखेको अवस्थामा सो परिमाणको गाँजा राखेको र बिक्री–वितरण गरेको प्रहरीको भनाइ छ ।

चोरी तथा डाँका मुद्दामा संलग्न दुईजना पक्राउ 

नेपाल प्रहरीले चोरी तथा डाँका मुद्दामा संलग्न दुईजनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको छ । प्रहरीका अनुसार ०८१ चैत २९ गते पोखराको अम्मरसिंह चोकबाट लेखनाथतर्फ जाँदै गरेको बसमा सवार एक महिलाले घाँटीमा लगाएको दुई तोलाको सुनको सिक्री पोखरा महानगरपालिका–१०, शिवचोकबाट उनीहरूले लुटपाट गरेका थिए ।

सो अभियोगमा काभ्रेपलाञ्चोक बेथानचोकका अञ्जन तामाङ र काठमाडौँ गोकर्णेश्वरका सुरेश तामाङलाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौं गोकर्णेश्वर– ४ बाट पक्राउ गरी थप कारबाहीका लागि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सुझावित समाचार