क्षेत्रगत बैंकको लाइसेन्स खुलाउँदा फरक पर्दैन

शुक्रबार, २७ असार, २०८२
डिजिटल संस्करण
क्षेत्रगत बैंकको लाइसेन्स खुलाउँदा फरक पर्दैन

उपेन्द्र पौडेल अध्यक्ष, बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन) एवं नबिल बैंक

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरिरहेको छ । अर्थतन्त्रको बाह्य क्षेत्र सबल देखिए पनि आन्तरिक अर्थतन्त्रले अपेक्षित गति लिन नसकेका वेला गभर्नर डा. विश्वनाथ पौडेलले ल्याउने उनको पहिलो मौद्रिक नीतिलाई चासोका रूपमा हेरिएको छ । नबिल बैंकका अध्यक्षसमेत रहेका बैंक तथा वित्तीय परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष उपेन्द्र पौडेलसँग आगामी मौद्रिक नीति, बाफिया र नबिल बैंकका विषयमा केन्द्रित भएर नयाँ पत्रिकाका कृष्ण रिजाल र मिलन विश्वकर्माले गरेको कुराकानी :

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को नेतृत्वकर्ता र एउटा ठुलो वाणिज्य बैंक नबिलको अध्यक्ष पनि हुनुहुन्छ । अहिले देशको अर्थतन्त्रको चित्र कस्तो देख्नुहुन्छ ?
अहिले नेपालको अर्थतन्त्र सबैभन्दा चुनौतीपूर्ण अवस्थामा छ, तर संकटमा छैन । अर्थतन्त्रमा त्यस्तो संकट आउँछ जस्तो पनि लाग्दैन, किनभने हाम्रो अर्थतन्त्रले थुप्रै संकट पार गरिसकेको छ । अर्थतन्त्र सहनशील (रेजिलेन्ट) छ भन्ने देखिइसकेको छ । अहिले विभिन्न किसिमका नयाँ अभ्यास गरिरहेका छौँ । राजनीतिक अभ्यास नयाँ छ, आर्थिक अभ्यास नयाँ छ, वित्तीय संघीयता नयाँ छ । यी सबैमा स्थायित्व आइसकेको छैन । आर्थिक विकासका लागि जुन किसिमको राजनीतिक स्थायित्व आउनुपर्ने थियो, त्यो पनि आइसकेको छैन । 

दीर्घकालीन विकासका लागि जुन किसिमको नीति लिएर अघि बढ्नुपर्ने हो, त्यस्तो हुन सकेको छैन । कुन क्षेत्रमा कसरी अघि बढ्ने, कहाँसम्म जाने, कस्तो नीति लिने भन्नेमा एकमत छैन । जलविद्युत्मा कसरी अघि बढ्छौँ, उत्पादन र व्यापारमा नीति के हुने भन्ने विषयमा पनि मत बाझिएको छ । कृषि, पर्यटन, जलविद्युत्मा फोकस त हुने भन्यौँ, तर हुन सकेनौँ । अर्थव्यवस्थाको संरचना कस्तो हुनुपर्छ भन्नेमा पनि एकमत देखिँदैन । सरकार अर्थव्यवस्था र आर्थिक मुद्दामा फोकस हुन सकेको छैन, सधैँ राजनीतिक र सामाजिक मुद्दामै केन्द्रित भइरहनुपरेको छ । 

रेमिट्यान्स अर्बौँ आइरहेको छ, विदेशी मुद्रा सञ्चिति यति धेरै छ, बाह्य क्षेत्र सबल छ भनेर खुसी भइरहेका हुन्छौँ, तर त्यसले मात्रै पुग्छ त ? सरकारको ऋण बढिरहेको छ, बजेट घाटा बढिरहेको छ, पूर्वाधारमा खर्च गर्न सकेका छैनौँ, पुँजीगत खर्चका लागि बजेट नपुग्ने अवस्था आइसकेको छ, निजी क्षेत्रले पनि लगानी विस्तार गर्न सकेको छैन, रोजगारी र शिक्षाका नाममा देशको युवाशक्ति निरन्तर बाहिरिरहेको छ, यस्ता थुप्रै समस्या र चुनौती छन् । यसले गर्दा कहीँ न कहीँ अनिश्चयको अवस्थामा छौँ भन्ने देखिन्छ । 

युवाहरू पढ्नका लागि बाहिर जान्छन्, उनीहरू फर्केर आउने सम्भावना कम हुन्छ । यहाँ अवसर दिन नसकेकै कारण युवा बिदेसिनुपरेको हो । जस्तै, विदेशमा ५० हजार–एक लाख तलब खाइरहेका छन्, उनीहरूको रोजगारदाताले १० लाख, एक करोड कमाइरहेको हुन्छ, यदि युवालाई यहीँ अवसर दिने हो भने त्यस्तो पुँजी सिर्जना नेपालमै गर्न सकिन्थ्यो । सारमा भन्नुपर्दा हामीले वास्तविक अर्थतन्त्रको विकास नै गर्न सकेका छैनौँ । उत्पादनमुखी वास्तविक अर्थतन्त्र निर्माण गर्न सके रोजगारी बढाउन सक्थ्यौँ, उत्पादन बढ्थ्यो, खपत बढ्थ्यो अनि यसले समग्र अर्थतन्त्रको साइकल चलाउँथ्यो । 

अर्थतन्त्रमा संकट छैन, तर चुनौती र अस्थिरता छ भन्नुभयो होइन त ? 
राजनीतिक अस्थिरता नभनौँ, तर राजनीतिले आर्थिक रूपान्तरणका लागि एउटै आवाज र दिशाचाहिँ दिन सकेको छैन । राजनीतिले या भनौँ सरकारले आर्थिक रूपान्तरणको एउटा निश्चित दिशा नदिँदा निजी क्षेत्रले मात्रै कसरी काम गर्न सक्छ ? कसरी लगानी गर्न सक्छ ? अर्थतन्त्रको एउटा सामान्य सिद्धान्तको कुरा गरौँ, अर्थतन्त्रका लागि लगानी, उत्पादन, रोजगारी र उपभोग–खपत गरी मुख्य चार तत्व हुन्छन् । यही चार तत्वको साइकल घुमिरहँदा अर्थतन्त्र चलायमान हुने हो, वृद्धि हुने हो । लगानी गरेपछि उत्पादन र रोजगारी बढ्छ, उत्पादन र रोजगारी बढेपछि खपत बढ्छ, खपत बढेपछि पुन: लगानी र उत्पादन बढ्छ, यो चक्र निर्बाध चलिरहन पायो भने बल्ल अर्थतन्त्र बलियो हुन्छ । तर, हाम्रोमा कहीँ न कहीँ यो साइकलको चक्रमा ग्याप देखिएको छ । 

अझ भनौँ यो चक्र राम्रोसँग चल्नलाई युवाशक्ति चाहिन्छ, युवा भनेको जनशक्ति पनि हो, उपभोक्ता पनि हो । तर, यो शक्ति नै बाहिरिएपछि चक्त त टुटिहाल्छ नि ! अब युवालाई नेपालमै रोक्ने विषयमा गम्भीर हुन आवश्यक छ 

अहिले देशमा विदेशी विनियम सञ्चिति २६ खर्ब पुग्न लागिसकेको छ । बैंकहरूमा लगानीयोग्य तरलता पनि ६ खर्बभन्दा बढी थुप्रिएको छ । यति धेरै पुँजी किन थुप्रिएर बस्यो ? यसको उचित परिचालन कसरी गर्ने ? 
यसका लागि सबैभन्दा पहिला वास्तविक अर्थतन्त्र निर्माणमै फोकस हुनुपर्छ । पुँजीलाई जता पायो त्यतै परिचालन गर्न भएन । हामी उत्पादनमा लाग्नुपर्छ । लघु, घरेलु, साना तथा मध्यम उद्योग व्यवसाय प्रवद्र्धन र विकास भएको छैन, कृषिको व्यावसायीकरण भएको छैन । बैंकहरूले यस्ता क्षेत्रमा कर्जा दिएन पनि भन्छन् । 

कृषिमा व्यावसायीकरण हुनुपर्छ, त्यसो भयो भने मात्रै कर्जा लिएर तिर्न पनि सक्छ । किसानहरूको उत्पादनलाई बजारसम्म पुर्याउनका लागि चाहिने मूल्य शृंखला (भ्यालु चेन) प्रणालीमै समस्या छ । त्यो भ्यालु चेनमा कसले लगानी गर्ने ? कसले पूर्वाधार बनाइदिने ? पक्कै पनि सरकारले नै हो । यदि उत्पादन भएर बजारसम्म जाने वातावरण बन्छ भने बैंकले त लगानी गरिहाल्छ नि ! अनि आम्दानी हुने देखियो भने निजी क्षेत्रले पनि लगानी गरिहाल्छ । 

आजका दिनमा पनि समयमै बिल र मल पाइँदैन, सिँचाइको सुविधा छैन, जेनतेन उत्पादन गरेपछि त्यसलाई राख्ने कोल्डस्टोर छैन, बजारसम्म पुर्याउने पहुँच छैन । अझ उपभोक्ता र कृषकबिच ठुलो मात्रामा बिचौलिया छन्, जसले गर्दा एकातर्फ कृषकले उचित मूल्य पाउन सकेका छैनन् भने अर्कातर्फ उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ । आधुनिक प्रविधि र उपकरण भिœयाउन पनि मद्दत गर्नुपर्छ । सरकारले कृषि तथा साना–मझौला उद्यमका लागि भ्यालु चेनको राम्रो प्रणाली विकास गर्न सक्यो भने लगानी बढिहाल्छ नि ! मुख्य कुरा खेतीयोग्य जमिनको चक्लाबन्दी पनि रोक्नुपर्छ । 

अर्को कुरा, साना–मझौला उद्यम र कृषिमा बैंकले गरेको लगानीले एउटा ठुलो शिक्षा पनि दिएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार ती क्षेत्रमा गरिएको कर्जा नै बढी निष्क्रिय भएका छन् । राष्ट्र बैंकले निश्चित समयमा निश्चित गर्न बाध्यकारी व्यवस्था गर्यो, बैंकहरूले लगानी गरे, तर अहिले डिफल्ट भयो । साना–मझौला उद्यमीले कर्जा लिए, तर व्यवसाय चलाउन सकेनन्, उनीहरूसँग सिप र ज्ञान कमी भयो । त्यसैले कर्जा दिएर मात्रै नहुने रहेछ, उनीहरूलाई क्षमता कसरी बढाउने, लेखा कसरी राम्रो राख्ने भन्नेलगायत विभिन्न आवश्यक प्रविधिक सहायता पनि दिनुपर्छ । 

सरकारले ठुलाठुला पूर्वाधारमा पनि ध्यान हुनुपर्छ । निजगढ एयरपोर्ट बनाउनुपर्छ, फास्ट ट्रयाक बनाउनुपर्छ, भएका एयरपोर्ट पनि चलाउनुपर्छ । पूर्वाधार र प्रणाली भएपछि निजी र विदेशी लगानी मनग्य आउँछ । यसो भयो भने पुँजी परिचालन हुन्छ, पुँजी र विकास निर्माण हुन्छ । 

बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ५८ खर्बहाराहारी पुगिसकेको छ । बैंकहरूको कर्जा लगानीले देशको आर्थिक वृद्धिदरलाई अपेक्षित योगदान नगरेकोे चर्चा पनि हुने गरेको छ । यसमा तपाईंको प्रतिक्रिया के छ ?
देशको आर्थिक वृद्धिदरलाई बैंकको कर्जा लगानीले टेवा नपुर्याएको म मान्दिनँ । गुणात्मक टेवा पुगेन होला, त्यसको विश्लेषण गर्नुपर्छ, तर वृद्धिदरलाई योगदान गरेको छ । देशको अर्थतन्त्रको संरचनाअनुसार नै लगानी बढी भएको हुन सक्छ । यदि वास्तविक अर्थतन्त्रको विकास हुन सकेको भए, उत्पादनमा केन्द्रित भएर बढी लगानी भएको भए अझ राम्रो हुन्थ्यो । सवारीसाधन, ढुवानी, घरजग्गा, सेयर, कच्चा पदार्थलगायतमा भएको लगानीले वृद्धिदरलाई सघाइरहेकै हुन्छ । 

अहिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन संशोधन विधेयक अर्थ समितिमा विचाराधीन छ । मुख्यगरी बैंक र व्यवसाय छुट्याउने/नछुट्याउने विषयमा विवाद देखिन्छ । यसमा तपाईंको राय के छ ? 
नेपालमा उदारीकरणपछि जुन बैंकिङ क्षेत्रको विकास भयो, त्यही वेलादेखि यो क्षेत्रमा छु, तीनवटा बैंकमा काम गरेँ । तर, आजको दिनसम्म सेयरहोल्डर भएकै कारण पैसा पाउनुपर्छ भनेर मागेको थाहा छैन । मैले पनि कसैलाई बैंकको लगानीकर्ता भएकै कारण कर्जा दिएको छैन । अब यहाँ कुरो के छ भने बैंक र व्यवसायी छुट्याउने भन्दाखेरि स्वार्थको द्वन्द्व हुन्छ भनेर होला । तर, अहिलेसम्म भएको छ कि छैन ? त्यो त अध्ययन गर्न पर्ला नि ! मलाई के लाग्छ भने यो आवश्यक छैन । कतिपय देशमा त बैंकको सञ्चालकले सोही बैंकबाट ऋणसमेत लिन्छन्, तर घोषणा गरेर वा पारदर्शी किमिसले । जब हामी घोषणा गर्ने, पारदर्शिता कायम राख्ने काम गर्छौँ भने व्यवसायी र बैंकर भनेर छुट्याउनै पर्दैन, कसैले दुरुपयोग गर्छ भने जरिवाना गर्ने हो, कारबाही गर्ने हो । कुनै घरमा झ्यालबाट चोर पस्यो भनेर सबै घरमा झ्याल नराख्ने कुरा त आउँदैन नि !

अहिले बैंकबाट व्यवसायीहरू निस्कँदा सेयर बजारमा ठूलो क्र्यास आउने देखिन्छ । अर्कोतर्फ नीतिगत स्थायित्व नभएको म्यासेज जान्छ, लगानीकर्ता हतोत्साहित हुन्छन्, अन्य क्षेत्रमा पनि विश्वास गुम्छ, त्यसैले यसमा गम्भीर हुन आवश्यक छ । अन्य देशको व्यवस्था पनि हेरेर, अध्ययन गरेर मात्रै निर्णय लिनुपर्छ । 

अहिले बैंकको लाइसेन्स खुला गर्ने वा सञ्चालनमा रहेका बैंकको लाइसेन्स अवधि तोक्ने कुरा पनि आइरहेको छ नि !
योचाहिँ मैले पनि बुझ्न सक्या छैन । पहिला नै यति धेरै बैंक खोल्यौँ, अनि मर्जरमा जान भन्यौँ । मर्जरको ह्याङ सकिएको छैन फेरि नयाँ बैंक ल्याउने बहस भइरहेको छ । बैंकको लाइसेन्स बाँड्नुअघि अध्ययन गर्नुपर्छ । कुन खालको बैंक चाहिएको हो, केका लागि चाहिएको हो ? अध्ययनले जे भन्छ सोहीअनुसार आवश्यक भए लाइसेन्स दिए हुन्छ । कृषिका लागि, उद्योगका लागि, पूर्वाधारका लागि, साना उद्यमका लागि छुट्टै चाहिएको हो भने अध्ययन गरेर दिँदा हुन्छ । एकदम रणनीतिक हिसाबले क्षेत्रगत बैंक आउँछ भने लाइसेन्स दिँदा फरक नपर्ला । 

राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने अन्तिम तयारीमा छ । वर्तमान गभर्नरको यो पहिलो मौद्रिक नीतिलाई तपाईंका सुझाव के–के छन् ?
गभर्नरज्यूले आउनेबित्तिकै एक तहमा बजारको मनोबल बढाउने काम गरिसक्नुभएको छ । अबको मौद्रिक नीति उत्पादनमुखी हुनुपर्छ । वास्तविक अर्थतन्त्रलाई योगदान गर्ने मौद्रिक नीति आउनुपर्छ । ब्याजदरलाई सकेसम्म यही दरमा कायम राख्ने, मूल्यवृद्धिलाई पनि बढ्न नदिने नीति लिनुपर्छ । सिआरआर चलाउनुपर्छ जस्तो लाग्दैन । बैंकहरूको निष्क्रिय कर्जामा सबैको चासो छ, बढेको पनि छ । खासगरी निर्देशित कर्जाका क्षेत्रमा बढी एनपिएल बढेको छ यसको समीक्षा गर्नु आवश्यक छ ।

नबिल बैंकलाई ‘लिडर’ बैंकका रूपमा प्रस्तुत गर्दै आउनुभएको छ, यसका आधार के–के हुन् ?
नबिललाई ‘बैंक नम्बर वान’ नै त भन्दिनँ । किनकि, भोलुममा त अरू बैंक पनि अघि छन् । तर, नाफामा भने पहिलो नम्बरमा नै हो । हाम्रो प्रयास ‘नम्बर वान’ बन्नेभन्दा पनि हिजोभन्दा आज र आजभन्दा भोलि झन् राम्रो बैंक बन्दै जाने हो । पहिलेदेखि सस्टेनेबल बैंकिङमा अग्रसर छौँ । कृषि, साना तथा मझौला (एसएमई), सूक्ष्म, साना तथा मध्यम उद्यम (एमएसएमई)सम्बन्धी प्रडक्ट ल्याएका छौँ । यसैगरी विदेशबाट फर्किनेका लागि पनि प्रडक्ट ल्याएका छौँ । अर्थात्, त्यस्ता क्षेत्रमा प्राथमिकता साथ कर्जा प्रवाह तथा वित्तीय सेवा दिएका छौँ । यस्ता गतिविधिले समाजमा सकारात्मक प्रभाव पारेको छ । नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप कार्यक्रम सुरु गरेका छौँ । वातावरणीय तथा सामाजिक पक्षमा पनि सकारात्मक प्रभाव पर्ने गरी काम गरेका छौँ । हामीले कोर बैंकिङको मात्रै काम गरेका छैनौँ । नबिलले नेपालमा बैंक पनि ‘सर्भिस सेक्टर’ हो भनेर चिनारी छोडेको छ । बैंकिङ सेवालाई रिडिफाइन गर्न नबिल बैंकले सहयोग गरेको छ । पछि आएका बैंकले यसलाई नै आत्मसात् गर्दै आएका छन् । नाफामा नबिल बैंक अहिले पनि पहिलो बैंक हो । त्यो हुनुको मतलब अरू इन्डिकेटरले पनि राम्रोसँग काम गरेको छ । यद्यपि, नाफालाई मात्रै प्राथमिकतामा राखेका छैनौँ । समाजलाई पनि योगदान गर्ने बैंकका रूपमा अग्रसर छौँ । 

नबिलले ४१औँ वार्षिकोत्सव मनाउँदै छ, यस अवसरमा बैंकका ग्राहक र लगानीकर्तालाई के सन्देश दिनुहुन्छ ? 
लगानीकर्तालाई हामीले निराश बनाएका छैनौँ । गत वर्ष त्यस्तो अप्ठ्यारो परिस्थितिमा पनि १० प्रतिशत लाभांश दिएको हो । ग्राहकलाई दिने सेवा पनि गुणस्तरीय हुँदै आएको छ । आगामी दिनमा झन् राम्रो बनाउनेछौँ । ‘भिडियो केवाइसी’को अवधारणामा काम गरेका छौँ । छिटो र छरितो रूपमा वित्तीय सेवा दिइरहेका छौँ । यस्ता सुविधा कायमै हुन्छन् । फिनटेकको प्रयोग र डिजिटल ट्रान्सफरमेसनमा अझ अघि बढ्नेछौँ । सस्टेनेबल बैंकिङमा सशक्त रूपमा आउनेछौँ ।
 

सुझावित समाचार