रूपन्देही– ३ मा आगामी १७ कात्तिकमा हुने प्रतिनिधिसभा उपनिर्वाचनले मधेशकेन्द्रित दलहरूको गठबन्धन ‘संघीय लोकतान्त्रिक मोर्चा’मा फाटो ल्याएको छ । मोर्चाका सात दलमध्ये जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, लोसपा, जनता प्रगतिशील पार्टी र तमलोपा एकातिर उभिएका छन् भने जनमत पार्टी अर्कोतिर उभिएको छ ।
तमलोपा अध्यक्ष वृषेशचन्द्र लालको अध्यक्षतामा मंगलबार बसेको मोर्चाको बैठकले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरेको छ । ‘२०८२ कात्तिक १७ मा रूपन्देही ३ मा हुने प्रतिनिधिसभा उपनिर्वाचनमा मोर्चाको तर्फबाट नागरिक उन्मुक्तिको उम्मेदवारलाई साझा उम्मेदवारको रूपमा समर्थन गर्ने सर्वसम्मत निर्णय भयो,’ बैठकपछि लालले भने ।
बैठकमा जसपा नेपालबाट राजकिशोर यादव, मनीष सुमन र रामकुमार शर्मा, नागरिक उन्मुक्तिबाट रेशम चौधरी, रञ्जिता श्रेष्ठ, लालवीर चौधरी, गंगा चौधरी र हिमाञ्चल भट्टराई, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा, सन्तोष मेहता, लोसपाबाट महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र ज्ञानेन्द्र झा, जनता प्रगतिशीलबाट हृदेयश त्रिपाठी, शिवजी यादव र रविर हुसेन तथा तमलोपाबाट वृषेशचन्द्र लाल डा. विजय सिंह, विभा ठाकुर, पुनम झा, ब्रजकिशोर सिंह र सुभाष कर्ण सहभागी थिए ।
मोर्चामै आबद्ध सिके राउत नेतृत्वको जनमत पार्टी भने बैठकमा सहभागी थिएन । जनमतले छुट्टै उम्मेदवार उठाउने बताएको छ । ‘मोर्चाको निर्णयमा हाम्रो सहमति छैन । रूपन्देही ३ को उपनिर्वाचनमा हामी छुट्टै उम्मेदवारी दिन्छौँ,’ जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले भने । रूपन्देही ३ बाट निर्वाचित सांसद राप्रपाका दीपक बोहराको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । बोहरा ३६,७१७ मतसहित निर्वाचित हुँदा कांग्रेसका बालकृष्ण खाणले ३४,०३६ मत ल्याएका थिए ।
संविधान संशोधनबारे सरकारी धारणा माग
मोर्चाले संविधान संशोधनबारे सरकारी धारणा माग गरेको छ । मोर्चाले अहिलेको सत्तारूढ गठबन्धनलाई अप्राकृतिकसमेत भनेको छ । ‘अहिलेको अप्राकृतिक सरकारी गठबन्धनद्वारा गरिएको वाचाअनुसार संविधान संशोधनको सरकारी धारणा तत्काल सार्वजनिक गर्न आग्रह गर्ने निर्णय गरियो,’ बैठकपछि प्रेस विज्ञप्ति जारी गरेर लालले भनेका छन् । मोर्चाले भने संविधान संशोधनसँग सम्बन्धित विषयबारे छलफल र बहस गर्दै साझा धारणा बनाउने उनले स्पष्ट पारे ।
आठ सहरमा सभा
मोर्चाको उद्देश्य, आवश्यकता र औचित्यबारे प्रस्ट पार्न देशका विभिन्न आठ सहरमा सभा गर्ने निर्णय पनि बैठकले गरेको छ । १७ साउनमा काठमाडौंमा, २१ साउनमा भैरहवामा, २३ साउनमा नेपालगन्जमा, २५ साउनमा कैलालीमा सभा गर्ने तय भएको छ । यस्तै, १६ भदौमा विराटनगरमा, १८ भदौमा राजविराजमा, २० भदौमा जनकपुरमा र २२ भदौमा वीरगन्जमा सभा गर्ने निर्णय मोर्चाले गरेको छ । बैठकले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि पुन: माग गरेको छ । बैठकले रसुवामा बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति चिरशान्तिको कामना गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । बेपत्ताको तत्काल खोजबिन गर्न र घरबारविहीन भएकालाई पुनर्वास र तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।