त्रिवि उपकुुलपतिमा तीनजनाको नाम सिफारिस

सोमबार, २३ असार, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले आज तीनजनाको नाम सिफारिस गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तको संयोजकत्वको सो समितिले प्रधानमन्त्री एवं कुलपति ओली समक्ष ती नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरुमा वर्णानुक्रमअनुसार हालका निमित्त उपकुलपति प्राडा खड्ग केसी, त्रिविको विज्ञान सङ्कायका पूर्वडीन प्राडा विनिल अर्याल र जल तथा मौसम केन्द्रीय विभागका पूर्वप्रमुुख प्राडा दीपक अर्याल रहेका छन् । 

उपकुलपति प्राडा केशरजङ्ग बरालले दिएको राजीनामा गत २८ चैतमा स्वीकृत भएपछि गत ३१ चैतमा कुलपति ओलीले शिक्षाध्यक्ष केसीलाई पदपूर्ति नभएसम्मका लागि बढीमा तीन महिनाका लागि उपकुुलपतिको जिम्मेवारी दिएका थिए । 

कुलपति ओलीले गत ६ जेठमा शिक्षामन्त्री पन्तको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य र शिक्षा मन्त्रालयका सचिव रहेको सिफारिस समिति गठन गरेका थिए । -रासस

सुझावित समाचार